२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशभीमसेन पालिकाबासीलाई निःशुल्क विशेषज्ञ सेवा दिन स्वास्थ्य शिविर

भीमसेन पालिकाबासीलाई निःशुल्क विशेषज्ञ सेवा दिन स्वास्थ्य शिविर


पोखरा – गोरखा जिल्लाको भीमसेन गाउँपालिकामा ८ वटा वडा छन्, सबै वडामा लगभग २ घन्टा अवधिमा पुग्न सकिन्छ । गाउँपालिकामा २ वटा एम्बुलेन्स सञ्चालनमा छन् भने थप एउटा एम्बुलेन्स सञ्चालनको तयारीमा छ । आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न पालिकाबासीलाई खासै समस्या छैन ।

तथापि पालिकाबासीले गाउँमा विशेषज्ञ डाक्टरबाट स्वास्थ्य जाँच गराउने अवसर भने पाएका थिएनन् । अहिले भने पालिकाबासीलाई विशेषज्ञ डाक्टरबाट स्वास्थ्य जाँच गराउने अवसर प्राप्त भएको छ । गाउँपालिकाका तथा अन्य संघसंस्थाको समन्वयमा आयोजित शिविरमा भीमसेन गाउँपालिकाबासीलाई स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरबाट निशुल्क स्वास्थ्य जाँच गराउने अवसर प्राप्त भएको हो ।

भीमसेन गाउँपालिका वडा नं. १ घ्याम्पेसालमा सञ्चालित स्वास्थ्य शिविरमा करिब ५ सय जनाको स्वास्थ्य जाँच गरिएको भीमसेन गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए । उनका अनुसार लायन्स क्लब अफ गोरखा र भीमसेन थापा गाँउपालिका, जाल्पा सामुदायिक लघुवित्त, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा, सामुदायिक सेवा केन्द्र गोरखालगायत संस्थाको आयोजनामा शिविर सञ्चालन भएको हो ।

गाउँपालिका अध्यक्ष पाण्डेले आगामी दिनमा विशेषज्ञ सेवा दिने गरी शिविर सञ्चालन गर्ने सोच बनाएको तर औपचारिक निर्णय भने नभएको बताए । उनले भने, ‘विद्यार्थीको आँखा समस्या भएको हुनसक्छ, यस्ता खालका विशेष समस्या समाधान गर्ने गरी शिविर सञ्चालन गर्छाैं ।’

शिविरमा विशेषज्ञ डाक्टरहरुबाट आँखारोग, स्त्रीरोग, बालरोग, हाडजोर्नी, मेडिकलसम्बन्धी जाँच गरिएको थियो । शिविरका लागि विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीको टोली पोखराबाट गोरखा पुगेको गाउँपालिका अध्यक्ष पाण्डेले बताए । सो क्रममा रगत, पिसाब जाँचका साथै इसिजी, भिडियो एक्सरेलगायत मेसिनबाट बिरामी जाँच सुविधा प्रदान गरिएको थियो । शिविरमा करिब डेढलाख बराबरको औषधीसमेत निःशुल्क वितरण गरिएको थियो ।

गाउँपालिकाभित्र आधारभूत स्वास्थ्य सेवाको अवस्था राम्रो रहेको भए पनि विशेषज्ञ डाक्टरबाट सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष पाण्डेको भनाइ छ । जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन विभिन्न संस्थाको सहयोग पनि महत्वपूर्ण रहेको उनको भनाइ थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ