२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरामा हवाईजहाज आपतकालीन उद्धार अभ्यास, डेमो प्रदर्शन हुँदा झुक्किए स्थानीय

पोखरामा हवाईजहाज आपतकालीन उद्धार अभ्यास, डेमो प्रदर्शन हुँदा झुक्किए स्थानीय


पोखरा – पोखरामा विपद् उद्धारकर्मीको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रायले तालिम सञ्चालन गरेको हो ।

मन्त्रालयले भविष्यमा हुन सक्ने विपदमा उद्धार गर्न सहयोगी हुने गरी कार्यक्रम गरेको हो । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर विजयपुरमा भएको तालिमको उद्घाटन आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले गरेका थिए । तालिम उद्घाटनपछि मन्त्री चुमानले आगलागी, सडक दुर्घटना, हिमआँधी, खोंच तथा तालमा खस्ने समस्याबाट बच्न आम नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।

तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेसक्रसका पदाधिकारी तालिममा सहभागी भएका छन् । तालिममा डा. कृष्णप्रसाद पौडेल, डा. सोमप्रसाद सापकोटा, विक्रम गौतम, विनोदबिन्दु शर्मा, डा. रञ्जनकुमार दाहालले सहजीकरण गरेका थिए ।

यस्तो थियो विपद् घटना

पोखरा एअरपोर्टमा हवाइजहाज आउँदै गर्दा एयरपोर्ट नआउँदै इन्जिनमा समस्या आउँछ । इन्जिनमा आगो लागेपछि जहाज फोर्स ल्यान्डिङ हुन्छ । इन्जिनमा आगो लागिसकेकाले उद्धारका लागि आवश्यक सबै तयारी अवस्थामा रहन्छन् । यात्रुहरुको चिच्यावट सुनिन्छ । त्यतिबेला नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसका सदस्यहरु उद्धारमा खटिन्छन् । दुर्घटनामा केहीको मृत्यु हुन्छ, केही गम्भीर र केही सामान्य घाइते हुन्छन् । घाइतेलाई नजिकैका अस्पतालहरुमा उपचारका लागि पु¥याइन्छ । एअरपोर्ट प्रशासनले मृतकप्रति श्रद्धाञ्जलीसहित दुर्घटनाबारे जानकारी दिन विज्ञप्ति निकाल्छ ।

साँच्चै थिएन घटना

विपद् साँच्चै हो कि जस्तो गरेर गरिएको उद्धार पोखरामा गरिएको अभ्यासमात्रै थियो । चैत २ गतेदेखि ४ गतेसम्म चलेको हवाइजहाज दुर्घटनामा उद्धार तालिमको अन्तिम दिन गरिएको डेमो प्रदर्शन थियो । यदि दुर्घटना भइहाले कसको भूमिका के रहने र व्यवस्थापन कसरी गर्ने भन्नेबारे व्यावहारिक ज्ञान दिन डेमो प्रदर्शन गरिएको थियो । तालिमका लागि प्रदेश सरकारको १० लाख रुपैयाँ खर्च भएको छ ।

झुक्किए प्रत्यक्षदर्शी स्थानीय

पोखरा एयरपोर्टमा भएको हवाईजहाज दुर्घटना र दुर्घटनापछि भएको उद्धार कार्य देखेका स्थानीय प्रत्यक्षदर्शी अलमलमा परे । समाचारमा खासै ध्यान नदिएका मानिसहरुले साँच्चै नै दुर्घटना भएको महसुस गरे । कतिपय पत्रकारहरुसमेत वास्तविक दुर्घटना ठानी रिपोर्टिङका लागि पुगेका थिए । रिपोर्टिङ त गरे, तर फरक शैलीमा ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ