२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान दौडाउने उपकुलपति आवश्यक’

‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान दौडाउने उपकुलपति आवश्यक’


पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको दौड सुरु भएको छ । आवेदन दिने दिन बिहिबार समाप्त भएको छ । तर दौडमा कति जना सहभागी हुन्छन् भन्ने जानकारी नभएको पोखरा स्वास्थ्य प्रतिष्ठानका निमित्त उपकुलपति डा. नगेन्द्र गुरुङले बताए । अब नियुक्त हुने उपकुलपतिले प्रतिष्ठान भवन, होस्टेल लगायतका भौतिक संरचना निर्माण नै महत्वपूर्ण भएको उनको भनाइ छ ।

प्रतिष्ठानले आगामी दिनमा इएनटी, प्याथोलोजी, साइक्रेटी विषय थप गर्ने योजना बनाएको छ । अघिल्लो वर्ष सुरुभएका सर्जरी, मेडिसिन, एनेस्थेसिया, गाइने, अर्थाेपेडिक, रेडियोलोजी विषयका कक्षा भने सञ्चालन भइरहेको उनको भनाइ छ ।

चैत २ गतेबाट सुरु हुने भनेको पठन पाठन प्रक्रिया सुरु हुन सकेको छैन । चिकित्सा शिक्षा आयोगको निर्देशनबमोजिम कक्षा सञ्चालन नगरिएको निमित्त उपकुलपति डा. गुरुङले बताए । पूर्व कुलपति डा. बुद्धिबहादुर थापा अब आउने उपकुलपति स्थापित कामलाई निरन्तता दिने र नयाँ योजना अघि सार्दै संस्थाको उन्नयनमा प्रतिबद्ध हुनुपर्ने बताउँछन् ।

संस्थापक उपकुलपति रहेका डा. थापाले आफ्नो कार्यकाल शून्यबाट सुरु भएकाले धेरै चुनौती रहेको उल्लेख गरे । ३ वर्षभित्रमा सबै तयारी पूरा गरी पढाइ सुरु गर्न सक्नु आफ्नो ठूलो सफलता भएको उनको भनाइ छ । ६ वटा विषयमा कक्षा सञ्चालन गरिसकेकाले अब थप विषय पनि पठनपाठन गराउनु अबका उपकुलपतिको मुख्य जिम्मेवारी हुने पनि उनले बताए । पहिलो ब्याचमा १७ जना विद्यार्थी भर्ना भएका थिए भने यो वर्ष २६ सिटमा भर्ना भएका छन् । चैत २ गतेबाट पढाइ सुरु हुनुपर्नेमा किन हुन सकेन भन्ने प्रश्न गर्दै कानुनी अवरोध भएको सुनेको बताए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्तति गरी प्रतिष्ठान बनाइएको हो । पोष्ट ग्राज्युट पढाइ सुरु गर्नु नै मुख्य जिम्मेवारी भएको डा. थापाले सुनाए । पहिलो पटकको विद्यार्थी भर्ना प्रतिष्ठानले गर्न पाउने भए पनि अब भने नपाउने डा. थापाले प्रष्ट पारे । उनले आफूले पाएको जिम्मेवारी पूरा गरेको उल्लेख गरे ।

आफूले फेरी अर्काे कार्यकालका लागि नलाग्ने भन्दै डा. थापाले आगामी उपकुलपति प्रतिष्ठानको चुनौतीसँग समाना गर्न सक्ने हुनुपर्नेमा जोड दिए । उपकुलपति चिकित्सक नै आउने र निजी क्षेत्रमा लागेको पनि हुने भएकाले निजी क्षेत्रको जिम्मेवारीबाट मुक्त हुन सक्ने र आत्मनिर्भर हुन सक्ने व्यक्ति आउनुपर्नेमा डा. थापाको जोड थियो ।

पूर्व स्वास्थ्यमन्त्री तथा संघीय सांसद खगराज अधिकारीले प्रतिष्ठानको नियम कानुनअनुसार पोखरा प्रतिष्ठानको उपकुलपति नियुक्त हुने बताउँछन्  । उनले भने,‘कस्तो मान्छे आउनुपर्छ वा के कसरी आउँछ भन्ने कुरा थाहा पाउन पोखरा स्वास्थ्य प्रतिष्ठानको नियम स्पष्ट छ।’

कास्की कांग्रेसका सभापति कृष्णबहादुर केसीले पूर्व कुलपति डा. थापाको कार्यकालमा अझै धेरै काम गर्ने सम्भावना भए पनि हुन नसकेको बताए । उनले भने,‘डा. थापालाई सबैतिरबाट सहयोग थियो, उहाँबाट धेरै अपेक्षा पनि गरिएको थियो । तर आधारभूत कामबाहेक भवन निर्माण, नीतिनियमका क्षेत्रमा पनि कमी नै देखियो ।’

अहिले सरकारले सिफारिस गर्ने भएकाले उपकुलपति राजनीतिबाट मुक्त हुनुपर्ने र चिकित्सकीय विधामा मात्र नभई सामाजिक विधाको ज्ञान भएको भए राम्रो हुने सभापति केसीको धारणा छ । अहिलेको अवस्थामा सर-सल्लाह र छलफलबाट अघि बढ्ने खालको संघीय सरकार नभएको सभापति केसीले आरोप लगाए ।

गण्डकी प्रदेश सांसद तथा नेकपाका युवा नेता राजिब पहारी प्रतिष्ठानको विधिविधानमा टेकेर अघि बढ्नुपर्ने भएको उपकुलपति सोही अनुसार काम गर्नुपर्ने बताउँछन् । यो संघीय संसदअन्तर्गत रहेकाले संघीय सरकारले निश्चित मापदण्डका आधारमा छिटै उपकुलपति नियुक्ति गर्ने उनको विश्वास छ । उनले भने, ‘जो नियुक्ति भए पनि संस्थाप्रति उत्तरदायी हुने व्यक्ति नै हाम्रो चाहना हो ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ