२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशम्याग्दीमा मोतिबिन्दुका ७९ बिरामीको नि:शुल्क शल्यक्रिया, २४ जना आएनन्

म्याग्दीमा मोतिबिन्दुका ७९ बिरामीको नि:शुल्क शल्यक्रिया, २४ जना आएनन्


पोखरा –  म्याग्दी जिल्लाको बेनीमा मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया शिविर सम्पन्न भएको छ । शिविरमा आइतबार ३५ जनाको शल्यक्रिया भएको लायन्स क्लबका चन्द्र केसीले जानकारी दिए ।

सोमबार ४४ जनाको शल्यक्रिया गरिएको छ । २ दिनसम्म चलेको शिविरमा १०३ जनाको शल्यक्रिया गर्ने लक्ष्य लिइएको भए पनि २४ जना बिरामी शिविरमा आएनन् ।

कोरोना संक्रमणको डर तथा भौगोलिक अवस्थाका कारण बेनी अस्पतालसम्म आउन नसकेको उनको भनाइ छ । शल्यक्रिया गरिएका बिरामी यसअघि नै अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका, धवलागिरी गाउँपालिका, मंगला गाउँपालिका, बाबियाचौर गाउँपालिका, जलजला गाउँपालिका र बेनी नगरपालिकाका ९ ठाउँमा निशुल्क आँखा जाँच शिविर गरी शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान गरिएको थियो ।

पालिकास्तरमा केन्द्र तोकी सञ्चालन गरिएको शिविरमा करिब १३ सय जनाको आँखा जाँच गरिएको केसीले बताए । उनकाअनुसार म्याग्दीका ९ र पर्वतको १ क्लबको सहकार्यमा बिरामीको सबै खर्च व्यहोर्ने गरी शिविर गरिएको हो ।

१० वटा लायन्सको सहयोगमा सन् २००७ देखि हालसम्म १ हजार ५६० जनाको मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया गरिएको केसीले उल्लेख गरे । गाउँ-गाउँमा गएर गरिएको शिविरमा पहिचान भएका बिरामी सदरमुकाम आउन सक्ने अवस्था अझै नभएको केसीले बताए ।

सरकारले सञ्चालन गरेको भिजन २०२० लाई केही समय निरन्तरता दिएको भए फिल्डमै अप्रेसन गर्ने वातावरण मिल्ने उनको गुनासो छ । ‘अस्पतालमा नै सुविधा दिइएको र स्वास्थ्य बिमा कार्यक्रमबाट सहुलियत हुने भएपछि भिजन २०२० जस्तो कार्यक्रम सरकारले आवश्यक नठानेको होला,’ उनले भने,‘ शिक्षा, पहुँच र सुविधाका हिसाबले केही समय त्यसप्रकारको कार्यक्रम सञ्चालन गर्नुपर्ने थियो ।’

बेनी अस्पतालको प्राङ्गणमा सञ्चालित शिविरमा अस्पतालले आधारभूत व्यवस्थापन गरेको मेडिकल सुपरीटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए । हिमालय आँखा अस्पताल, नेत्रज्योति संघको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले उद्घाटन गरेका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ