२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपश्चिमाञ्चल अस्पताल फार्मेसीको लापरवाही, इएनटीका बिरामीलाई हाडजोर्नीको औषधी

पश्चिमाञ्चल अस्पताल फार्मेसीको लापरवाही, इएनटीका बिरामीलाई हाडजोर्नीको औषधी


पोखरा – पोखरा १७ घारीपाटनकी सीता पौडेललाई घाँटी सम्बन्धि समस्याले सताइरहन्छ । उनले स्वास्थ्य बिमा पनि गराएकी छिन्। उनी मंगलबार गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगिन् । त्यहाँ स्वास्थ्य बिमाबाट सहुलियत हुने र निजी अस्पतालको तुलनामा पैसा नै तिर्नुपर्दा पनि कम खर्च हुने उनले बुझेकी छिन्।

स्वास्थ्य बिमा काउन्टरमा पुगेर उनले बिरामी जँचाउने पुर्जा लिइन् । पुर्जा दिने बेला सोधियो,‘आमा के-को समस्या छ ?’, उनले भनिन्,‘ नानी म घाँटी दुखेर जँचाउन आएकी ।’ बिमा काउन्टरबाट उनले नाक, कान,घाँटी (इएनटी) को जाँच गराउन टिकट पाइन् । बिमा काउन्टरका कर्मचारीले भने, ‘आमा कोठा नं. १८ मा जानुहोस् है ।’

५० वर्षीया सीता आफ्नो एक जना सहयोगीका साथ इएनटी जाँच कक्षतर्फ लागिन् । डाक्टरसमक्ष उनले सबै समस्या बताइन । डाक्टरले केही सल्लाह, केही उनले अपनाउनुपर्ने व्यवहार र औषधी लेखेर पठाइदिए ।

उनी त्यहाँबाट सरासर अस्पतालभित्रकै फार्मेसीमा पुगिन् । बिमाका बिरामीको पुर्जा बुझाउने ठाउँ लेखिएको काउन्टरअघि लाइनमा बसिन् । उनले प्रेस्क्रिप्सन बुझाइन् ।

डाक्टरले उनलाई ५ प्रकारको औषधी लेखिदिएका थिए । तर उनले २ प्रकारको औषधी बिमामार्फत् प्राप्त गरिन् भने २ प्रकारको औषधी बाहिर निजी फार्मेसीमा किन्नुपर्ने भयो । डाक्टरले सिफारिस गरेको १ प्रकारको औषधी खानु नपर्ने वा के भएको उनलाई पत्तो भएन । अस्पतालबाहिरको फार्मेसीमा २ प्रकारको औषधी किनिन् ।

यता, पोखराकै सीता पौडेल ढाड दुख्ने समस्याले सताएपछि अस्पताल पुगिन् । उनी वर्ष २५ की भइन् । उनको पनि स्वास्थ्य बिमा छ । हाडजोर्नी दुखाइ निरन्तर भए पनि अस्पताल पुगेकी उनले बिमा टिकटमार्फत जाँच गराइन् । डाक्टरले एक्सरे गर्न सुझाए । त्यसपछि लम्बियो जाँच प्रक्रिया । एक्सरे गर्नेको लामो लाइन थियो ।

बल्लतल्ल पालो आयो । एक्सरे रिपोर्ट राम्रै आयो । समस्या देखिएन । डाक्टरले ४ प्रकारको औषधी लेखिदिए । उनी पनि औषधी लिन अस्पतालभित्रकै फार्मेसीमा पुगिन् । उनलाई ४ प्रकारको औषधी बिमामार्फत पाइने र १ प्रकारको औषधी किन्नुपर्ने पश्चिमाञ्चल अस्पताल फार्मेसीका कर्मचारीले बताए ।

२५ वर्षीया सीता अलमल्ल परिन् । औषधी के-के हो भन्ने नचिने पनि डाक्टरले ४ प्रकारको औषधी आफूलाई सिफारिस गरेको र अर्थाेपेडिक डिपार्टमा जाँच गराएको उनलाई थाहाँ थियो । उनलाई दिइएको औषधी र पे्रस्क्रिप्सन इएनटीको भएपछि उनले त्यो औषधी आफ्नो नभएको बताइन् । आफू ५० वर्षको पनि नभएको उनको भनाइ थियो ।

उनले आफ्नो समस्या ढाडको भएको र अर्थाेपेडिकमा जाँच गराएकाले यो औषधी लान्न भनेपछि फार्मेसीका कर्मचारीले भने, ‘अहिले भिड छ, कार्ड कता प¥यो कता, पछि खोजौंला ।’

अस्पताल फार्मेसीले भने ५० वर्षीया सीता (इएनटी बिरामी) लाई २५ वर्षीया सीता (हाडजोर्नी बिरामी) का लागि सिफारिस भएको औषधी दिएर पठाएको रहेछ । उनले २५ वर्षीया सीताको स्वास्थ्य बिमा कार्डसमेत फिर्ता लिएर घर गएकी रहिछिन् ।

फार्मेसीमा नाम बोलाएर औषधी दिने चलन छ । सोहीकारण झुक्किएको फार्मेसीका कर्मचारी बताउँछन् । कसरी यस्तो भयो भन्ने जिज्ञासामा ५० वर्षीया सीता पौडेलले भनिन्, ‘नानी, म त अक्षर चिन्दिनँ, जे दिए त्यही लिएर गएँ ।’,उनले थनिन्, ‘नानी तपाईं पढ्न जान्ने भएर मात्रै, नत्र त मैले अर्कै औषधी खाने रहेछु, अनि के सञ्चो हुन्थ्यो ?’ आफू घर पुगेर फेरि फर्किएर आएको उनले बताइन् ।

२५ वर्षीया सीताले आफ्नो प्रेस्क्रिप्सन र सोही अनुसारको औषधी दिन पटक पटक आग्रह गरेपछि त्यहाँ रहेको प्रेस्क्रिप्सनको मोबाइल नम्बरमा फोन गरी बोलाइएको थियो । अर्की सीतालाई फोन गरेर औषधी फरक परेकाले लिएर आउन फार्मेसी कर्मचारीले भनेका थिए ।
५० वर्षीया सीताका सहयोगी भन्छन्, ‘डाक्टरका अक्षर र औषधी चिन्नै सकिन्नँ, त्यसैमाथि फार्मेसीले आफूसँग भएका औषधी दिने गर्छन्, त्यसैमाथि टाउकोको समस्यामा खुट्टाको दबाइ, अनि कसरी निको हुन्छ ?’

‘कामको चाप बढी हुने भए स्टाफ थप्नुपर्छ नि, भिडभाड भयो, त्यो भएर हो, कति सजिलो उत्तर दिन्छन् फार्मेसीका कर्मचारी, ’ २५ वर्षीया सीता भन्छिन्, ‘उमेर नै पनि आधा फरक, न त मिल्छ बिरामीको प्रकृति नै । यस्तो अवस्थामा फार्मेसीले दिएको औषधी विष बन्छ कि ओखती ?’

अस्पताल फार्मेसीमा पटकपटक यस्तै हुने गरेको अस्पतालकै सरसफाइमा काम गर्ने १ कर्मचारीले खुलासा गरेका छन् । उनले भने,‘यसमा त नाम नै मिलेको रहेछ, नामै नमिल्ने बिरामीमा पनि औषधी फरक पर्छन् ।’ तर उनले आफ्नो नाम नखुलाइदिन आग्रह गरे । यस्ता घटना खासै बाहिर नआउने उनको भनाइ छ ।

निजी फार्मेसीहरुले दिने औषधी पनि सही छन् वा छैनन् भनेर सामान्य नागरिकले कसरी पत्ता लगाउने यो प्रश्न भने अनुत्तरित छ । जनताको स्वास्थ्यप्रति सम्बन्धित सबै पक्ष संवेदनशील बन्नुपर्ने होइन र ?

 

 


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #इएनटी, #औषधी, #डाक्टर, #पोखरा, #स्वास्थ्य बिमा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ