२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि

पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि


पोखरा  – पोखरास्थित एक होस्टलका विद्यार्थीलाई कोरोना संक्रमण देखिएको छ । गत वर्ष लकडाउन सुरु हुने अवस्थामा कोरोनाको संक्रमण बालबालिकामा नहुने बताइएको भएपनि पछिल्लो समयमा बालबालिकामा नै कोरोना देखिएको छ ।

उक्त होस्टलका विद्यार्थीमा कोरोना भेटिएको पुष्टि गर्दै गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माले १९ जनाको स्वाब जाँच गरिएकोमा १७ जनामा पोजेटिभ भेटिएको जानकारी दिए ।
|
निर्देशक शर्माका अनुसार सो होस्टलका विद्यार्थी पोखराका ९ वटा विद्यालयमा पुगेर अध्ययन गर्ने गरेका थिए । होस्टलमा कोरोना संक्रमण भेटिएपछि प्याब्सन, एनप्याब्सन, पेशागत संगठन, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहतका स्वास्थ्य कार्यालय लगायतको बैठक बसी छलफल गरिएको निर्देशक शर्माले बताए ।

उनले भने, ‘छलफलपछि हामीले थप विद्यार्थीको स्वाब संकलन गरिरहेका छौं । सोमबार साँझसम्म ६ सय जतिको स्वाब संकलन गर्ने लक्ष्य रहेको छ ।’ अहिले फैलिएको कोरोना युके भेरियन्ट भएको निर्देशक शर्मा बताउँछन् ।

‘बालबालिकामार्फत समुदायमा फैलने खतरा छ, वृद्ध बाबाआमामा सर्ने अवस्था भए जोखिम झन् बढी हुन्छ । बालबालिकाबाट घर परिवारमा सर्न नदिन सावधान हुनुपर्ने देखिएको छ ।,’उनले भने ।

गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबार र सोमबार १-१ जनाको कारोनाका कारण मृत्यु भएको जनाएको छ । यससँगै गण्डकीका कोरोनाका कारण मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

चैत २९ गते चरक मेमोरियल अस्पतालमा तनहुँ शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको ज्यान गएको छ । उनमा चैत २३ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै, पोखराका ७८ वर्षीय पुरुषको पनि कोरोनाकै कारण चैत ३० गते मृत्यु भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनमा चैत २० गते कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ  ।

निर्देशनालयका अनुसार मध्यबिन्दु जिल्ला अस्पताल नवलपरासी पूर्वमा गरिएको जाँचबाट १२ जनामा कोरोना पुष्टि भएको छ ।

 त्यसैगरी,  पोखराका २ वटा ल्याबमा गरिएको परीक्षणबाट कास्कीका २३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १६ हजार ९३३ पुगेको छ भने १६ हजार ३०७ निको भएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ