२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरामा अत्याधुनिक सिटी स्क्यान सेवा सुरु

पोखरामा अत्याधुनिक सिटी स्क्यान सेवा सुरु


पोखरा—पोखरा एमआरआई एन्ड डाइग्नोस्टिक सेन्टरले गण्डकी प्रदेशमै ठूलो सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालन गरेको छ । पोखरा एमआरआईले सबभन्दा ठूलो २ सय ५६ स्लाइसको सिटी स्क्यान मेसिनबाट सेवा सुरुवात गरेको हो । सेन्टरका प्रबन्ध निर्देशक डा. सुमीरमान श्रेष्ठका अनुसार यो मेसिन नेपालमै दोस्रो र प्रदेशमै पहिलो ठूलो मेसिन हो ।

प्रदेशका बिरामीलाई सहज, सुलभ गुणस्तरीय र सस्तो हिसाबले विभिन्न रोग पत्ता लगाउन विगत ३ वर्ष पहिले स्थापित सेन्टरले १ दशमलव ५ टेस्ला, एमआरआई, ममोग्राफी, युएसजी, गाइडेड बायोप्सी सुविधा दिँदै आएको डा. श्रेष्ठले उल्लेख गरे ।

‘स्वास्थ्य क्षेत्र र नयाँ प्रविधि सधैं नयाँ हुन्छ, स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्ति सधैं विद्यार्थी हो । हामीले काठमाडौंको गंगालालमा गएर सिक्यौं, त्यससम्बन्धी अनुभवी सिनियर डाक्टरसहित ६ जनाको टिमले यो सेवा सञ्चालन गरेको हो,’ उनले भने,‘मैले पनि गंगालालमा गएर सिकेर आएको हुँ ।’

सिटी स्क्यानको रिपोर्ट दिन करिब १ दिन लाग्ने भएपनि बिहानको रिपोर्ट दिउँसोसम्म दिन सकिने बताइएको छ । डा. श्रेष्ठले भने, ‘मेसिनबाट टाउको, गर्धन, छाती पेट, हात खुट्टा र विशेष गरी मुटुको रगतको नसाको जाँचहरु एन्जियोग्राफीसमेत गर्न सकिन्छ ।’

डा श्रेष्ठले मेसिनबाट मुटु मस्तिक, फोक्सो पेट र हात खुट्टाको रगतको नसालगायत शरीरका विभिन्न अंगहरुको क्यान्सरलगायत सिटी स्क्यान गर्ने सुविधा दिने जानकारी दिए । यो मेसिनको प्रयोगबाट हृदयघात हुनसक्ने सम्भावना प्रतिशत पत्ता लगाउन सकिने डा. श्रेष्ठ दाबी गर्छन् ।

प्रदेशकै ठूलो मेसिनको सुविधा पोखरामै पाउने भएपछि मुटुको रगतको नसाको जाँच कोरियोनरी एन्जियोग्राफी गर्न काठमाडौं जान नपर्ने उनको भनाइ छ । डा.श्रेष्ठले पोखराका वरिष्ठ चिकित्सकले सञ्चालन गरेको सेन्टरमा वरिष्ठ रेडियोलोजिस्ट मनिषकुमार श्रेष्ठ, प्रकाश शर्मासहितको टिमले काम गर्ने बताए ।

पोखराका वरिष्ठ चिकित्सक कुमारसम्शेर राणाले सिटी स्क्यान सेवाको सुरुवात गरे । यसअघि सेवा सञ्चालन भएको भएपनि औपचारिक उद्घाटन भने शनिबार गरिएको निर्देशक डा.श्रेष्ठले बताए । औपचारिक शुभारम्भ हुनुअघि नै करिब साढे ४ सय जनाको सिटीस्क्यान गरिसकिएको छ ।

प्रदेशका बिरामीलाई सहज र सुलभ रुपमा गुणस्तरीय हिसाबले रोग पत्ता लगाउन डायग्नोस्टिक सेन्टरको सुरुवात गरेको सेन्टरका डाइरेक्टर श्रेष्ठ बताउँछन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ