२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशमा थप ६६ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप ६६ जनामा कोरोना पुष्टि


पोखरा – गण्डकी प्रदेशमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

गण्डकीका नवलपरासीपूर्वमा २, स्याङ्जामा ४, तनहुँमा ६ र पर्वतमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, कास्कीमा सबैभन्दा धेरै ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने म्याग्दी, गोरखा र बागलुङमा १÷१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, पछिल्लो २४ घण्टामा पोखरा १६ का ६५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उनको चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । गत चैत ३१ गते संक्रमण पुष्टि भएको थियो ।

यससँगै उक्त प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ पुगेको छ ।

यस्तै, गण्डकीमा कूल १७ हजार २३१ जनामा कोरोना पुष्टि भएको छ भने ५५२ जना सक्रिय संक्रमित छन् ।

यसैबीच माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ ल्वाङघलेल स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारी नै संक्रमित भएपछि कर्मचारी बस्दै आएको घर, स्वास्थ्य चौकी, गौरीशंकर मनिलाल मावि र अन्य संघसंस्थाका कार्यालय तथा पसलहरु वैशाख ६ गतेदेखि १० गतेसम्म बन्द गरिएको छ ।

कास्कीमा कोरोना संक्रमण तीव्र भइरहेका बखत संघीय सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । संघीय सरकारको निर्णयसँगै कास्की प्याब्सन मातहतका विद्यालय वैकल्पिक प्रणालीमार्फत सञ्चालन हुने भएका छन् ।

यसअघि पोखरा महानगरभित्रका विद्यालयमा वैशाखभित्रै परीक्षा सक्ने गरी तयारी थालिएको महानगर शिक्षा समितिले जनाएको थियो । पछि अवस्था जटिल हुनसक्ने आकलन गरी महाशाखाले प्याब्सन, एनप्याब्सन, अभिभावक संघ, नगरस्तरीय परीक्षा समिति लगायत सम्मिलित बैठक बोलाएर निर्णय गरिएको भए पनि संघीय सरकारको निर्णय आएपछि विद्यालय बन्द हुने भएका हुन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ