२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशथुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन, ३ विशेषज्ञ डाक्टरसहित सेवा दिइने

थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन, ३ विशेषज्ञ डाक्टरसहित सेवा दिइने


पोखरा—कास्कीको मादी गाउँपालिका—१० थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र उद्घाटन गरिएको छ । तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको पहलमा केन्द्रका लागि १३ करोड विनियोजन भएको थियो । विनियोजन भएको रकमभन्दा धेरै नै कम ७ करोड ७६ लाखमा ठेक्का दिइएकोे मादी १० का अध्यक्ष एवं स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष कुलप्रसाद गुरुङले जानकारी दिए ।

स्वास्थ्य केन्द्र भवनमा ४६ वटा कोठा छन् । ३ जना विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मीबाट सेवा दिइनेछ । यस्तै ल्याब, एक्सरे, आकस्मिक सेवाका साथै एम्बुलेन्स सेवा र आयुर्वेदिक उपचारसमेत सेवा दिइने केन्द्रले जनाएको छ । गण्डकी आयुर्वेद औषधालय कास्कीद्वारा सञ्चालित जीवनशैली व्यवस्थापन र आयुर्वेद सेवा पनि सो केन्द्रबाट दिइनेछ । स्वाथ्य केन्द्र नै भएपनि सेवा र सुविधामा अस्पतालको अभाव खड्कन नदिने खालको हुने दाबी गरिएको छ ।

स्वास्थ्य केन्द्रबाट मादीका ८ देखि १२ सम्मका वडाका साथै लमजुङका पश्चिमी क्षेत्रका नागरिकले सेवा लिन सक्नेछन् ।

थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नै स्तरोन्नती गरी १५ शैय्याको अस्पताल बनाउने भनिएको भएपनि पछि मादी ७ मा बनाउने कार्यपालिका निर्णय भएको उनले बताए । ‘यही केन्द्रलाई स्तरोन्नती गर्ने पनि भनिएको थियो । तर, गाउँपालिकाको भूगोल ठूलो भएको र सबै क्षेत्र समेट्न अर्कै ठाउँमा बनाउन लागिएको हो,’ उनले भने । थुम्सीकोटमा आधारभूत सेवा दिन सकिने भएपछि संघीय सरकारको योजना बमोजिम विनियोजित १८ करोड लागतमा ‘एक गाउँपालिका एक अस्पताल’ अभियानअन्तर्गतको ५ शैय्याको अस्पताल मादी ७ मा बनाउन लागिएको उनले स्पष्ट पारे ।

यस्तै, मादी गाउँपालिकाको आइसोलेसन केन्द्र पनि थुम्सीकोट स्वास्थ्य केन्द्रलाई तोकिएको छ । आइसोलेसनमा करिब २० बेड तयारी अवस्थामा रहेको मादी ११ का अध्यक्ष मित्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार आवश्यकताअनुसार तत्काल बेड थप गर्न सकिनेछ ।

कार्यक्रमबीच नै स्वास्थ्य केन्द्रका लागि एउटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । एम्बुलेन्स सांसद खगराज अधिकारीको पहलमा नेपाल सरकार अर्थ मन्त्रालयको सिफारिसमा भारतीय दूताबासबाट सहयोग प्राप्त भएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । यस्तै, रुपा गाउँपालिकालाई पनि सोही प्रकारको एउटा एम्बुलेन्स प्राप्त भएको छ ।

मादी १० का वडा अध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री तथा सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य खगराज अधिकारी, मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ, गण्डकी प्रदेश सांसद मनबहादुर गुरुङ लगायतले बोलेका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ