२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश१ व्यक्तिको ३ पिसिआर रिपोर्ट, सबैै विवादित, ल्याबमाथि नै उब्जियो शंका

१ व्यक्तिको ३ पिसिआर रिपोर्ट, सबैै विवादित, ल्याबमाथि नै उब्जियो शंका


पोखरा – गण्डकी प्रदेश सांसद राजिब पहारीले प्रदेशसभामा सांसदहरुको पिसिआर जाँच नगरी सभा चलाउन नहुने माग गरे । त्यसलगत्तै सांसदहरुको स्वाब संकलन गरियो ।

गण्डकी प्रदेशमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मनकुमारी गुरुङ, एमालेबाट प्रतिनिधित्व गर्ने राजिब पहारी र प्रभा कोइरालामा कोरोना संक्रमण पुष्टि भयो । त्यतिबेला राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको रिपोर्ट नेगेटिभ आयो ।

प्रदेश सभा परिसरमा संकलन गरिएको स्वाबको नतिजा आएकै थिएन । तर खिम विक्रम शाहीको पिसिआर जाँच रिपोर्ट लाइफकेयर डायग्नोस्टिकमार्फत सार्वजनिक भयो । रिपोर्ट पोजेटिभ आयो । त्यसपछि आयो नेगेटिभ रिपोर्ट जुन प्रदेश सभामा संकलित नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशलामा परीक्षण गरिएको थियो ।

एकैदिन २ वटा पिसिआर जाँच किन गरियो भन्ने प्रश्न अनुत्तरित बनेको छ भने तेस्रोपटक जाँच पहिलेका २ रिपोर्टको विश्वसनीयताका लागि गरिएको हो । तर पछिल्लो (तेस्रो) रिपोर्टमा उल्लेख गरिएको स्वाब संकलन र रिपोर्ट आएको समय स्वाभाविक नेदेखिएका कारण त्यो पनि विवादित बनेको छ ।

अप्रिल २७ का दिन २ वटा परीक्षण गराएको र सरकारी ल्याबको रिपोर्ट गलत देखिएको विषयले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर नभएको वा लाइफकेयरले प्रभावमा रिपोर्ट निकालेको हो भन्ने प्रश्न उब्जिएको छ । जबकि लाइफकेयरले दिएको पोजेटिभ रिपोर्टसँगै मिल्ने रिपोर्ट चरक मेमोरियल अस्पतालमा शाहीको स्वाब संकलन गरी पुनः परीक्षण गर्दा देखिएको थियो ।

सांसद शाही चरक मेमोरियल अस्पतालमा आइसियुमा रहेको भनिए पनि उनको क्याबिन रुमको बेडमा मास्क लगाएर सुतेको तस्बिर सार्वजनिक भएको छ ।

यसैबीच गण्डकीका प्रतिपक्षी दलका नेताहरुले लाइफकेयर डायग्नोस्टिक र चरक अस्पतालले नक्कली काम गरेको आरोप लगाएका छन् । शाहीको कोरोना संक्रमण र रिपोर्टबारे सामाजिक सञ्जालमा विभिन्नखाले टीकाटीप्पणीसमेत भइरहेका छन् ।

केही समय अघि पैसा तिरेपछि स्वाब संकलन नै नगरी कोरोना संक्रमण नभएको वा नेगेटिभ रिपोर्ट दिने गिरोह काठमाडौंमा पक्राउ परेको थियो । पोखरामा पनि ल्याब र अस्पतालबीचको मिलेमतो त्यस्तै भएको त होइन भन्ने शंकाको दृष्टिले हेरिएको छ । यसबारे गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले प्रतिक्रिया दिन चाहेका छैनन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ