२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखराका विवादित अस्पताल र ल्याबको स्पष्टीकरणः अनर्गल प्रचारबाजी भयो

पोखराका विवादित अस्पताल र ल्याबको स्पष्टीकरणः अनर्गल प्रचारबाजी भयो


पोखरा-गण्डकी प्रदेशसभा सदस्य खीमविक्रम शाहीको पिसिआर रिपोर्ट एकै दिन प्रदेश जनस्वास्थ्य प्रयोगशाला र लाइफकेयर डायग्नोस्टिक प्रालिबाट सार्वजनिक भयो । प्रदेश प्रयोगशालाले रिपोर्ट नेगेटिभ दिएको थियो भने लाइफकेयरले पोजेटिभ दिएको थियो । शाहीको रिपोर्ट पोजेटिभ आएपछि चरक अस्पतालमा भर्ना भएका शाहीका कारण राजनीति तरंगित बन्यो । त्यसका साथै चरक अस्पताल र लाइफकेयर ल्याबसमेत विवादमा तानिए ।

शाही प्रकरणले विवादमा तानिएका चरक मेमोरियल अस्पताल र लाइफ केयर डायग्नोस्टिक ल्याबले विज्ञप्ति प्रकाशन गरी भ्रममा नपर्न र शंका नगर्न आग्रह गरेका छन् ।

चरक मेमोरियल अस्पतालमाथि सांसद शाहीलाई मिलेमतोमा कोरोना बिरामी घोषणा गरेको आरोप गण्डकी प्रदेशसभाका विपक्षी दलका नेताहरुले लगाएका थिए । बिरामी शाहीलाई भेट्न अस्पतालले नदिएको भन्दै उनीहरुले मिलेमतोको शंका गरे ।

घटनाले चर्काे रुप लिएपछि चरक मेमोरियल अस्पतालले एक विज्ञप्ति प्रकाशित गरी घुमाउरो तरिकाबाट स्पष्टीकरण दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘चरक मेमोरियल हस्पिटलले कुनै पनि वर्ग, क्षेत्र, जातजाति, धर्म तथा राजनीतिक विचारधार नभनी सबै क्षेत्रमा समान रुपमा आफ्नो विशेषज्ञ चिकित्सकद्वारा सेवा प्रदान गर्दै आएको छ ।’

अस्पतालले शाही प्रकरण नै हो भन्ने उल्लेख नगरे पनि सोही घटनालाई इङ्गित गरी विज्ञप्ति जारी गरेको प्रष्ट हुन्छ । ‘यस संस्थालाई कमजोर तथा बदनाम गर्ने नियतका साथ विभिन्न सञ्चारमाध्यम, पत्रपत्रिका तथा सामाजिक सञ्जालमा केही व्यक्तिले अनर्गल तथा झुटा प्रचारबाजी गरिरहेको जानकारी आएकाले यस संस्थाको ध्यानाकर्षण भएको छ,’ अस्पताल व्यवस्थापक प्रदीप शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यता, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नेगेटिभ रिपोर्ट आइरहँदा पोजेटिभ रिपोर्ट दिएको भन्दै पोखराको लाइफकेयर डायग्नोस्टिक विवादमा तानिएको हो । विवादमा परेपछि लाइफकेयरले विज्ञप्ति जारी गर्दै राजनीतिक जोडघटाउसँग ल्याबको कुनै आइनोसाइनो नभएको भन्दै शंका नगर्न र अनर्गल प्रचारको भ्रममा नपर्न आग्रह गरेको छ ।

ल्याबका सञ्चालक तथा क्लिनिकल वायोकेमिस्ट डा. अमर नागिलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सांसद शाहीको नमुना ल्याबमा सुरक्षित रहेको र आवश्यक परे छानबिनको लागि सम्बन्धित पक्षलाई सहयोग गर्न तयार रहेको उल्लेख गरिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ