२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा ४ को मृत्यु, मादीको एउटै वडाका ३५ जना संक्रमित

गण्डकीमा ४ को मृत्यु, मादीको एउटै वडाका ३५ जना संक्रमित


पोखरा-गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । म्याग्दीको धौलागिरी गाउँपालिकाकी ७२ वर्षीया महिलाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनमा वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै कास्कीको पोखरा महानगर १७ का ७३ वर्षीय पुरुष, पोखरा २९ का ४१ वर्षीय पुरुष र पोखरा ३ का ८७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

निर्देशनालयकाअनुसार गण्डकीमा ४३३ जना नयाँ संक्रमित थपिएका छन् । जसमा कास्कीका २२१, बागलुङका ५८, नवलपरासी पूर्वका ४१, म्याग्दीका ३२, तनहुँका २९, लमजुङका २७, मुस्ताङका १४, पर्वतका ८ र गोरखाका ३ जना छन् । स्याङ्जा र मनाङमा भने नयाँ संक्रमित नभेटिएको निर्देशनालयले जनाएको छ ।

मादीको एउटै वडामा ३५ जना संक्रमित

कास्कीको मादी गाउँपालिका वडा नं. ४ मा ३५ जना संक्रमित भेटिएका छन् । मादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोपाल बरालका अनुसार उक्त स्थानमा विद्यालयमा सबैभन्दा पहिले कोरोना देखिएको थियो । सुरुमा ३ जनामा कोरोना पुष्टि भएकोमा पछि विद्यार्थी र उनीहरुका अभिभावकमा पनि संक्रमण फैलिएको थियो ।

टोलभरि नै कोरोना फैलिएपछि अस्पताल आइसोलेसनामा राख्न सकिने अवस्था नभएकाले संक्रमित सबैलाई होम आइसोलेसनमै राखिएको उनको भनाइ थियो । ‘जटिल समस्या आए अस्पताल लैजान २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौं,’ उनले भने, ‘२ जनालाई जटिल समस्या देखिएपछि अस्पताल पठाइएको पनि हो ।’

कोरोना संक्रमित थपिएको थपियै छन् । टोलबासी संक्रमितले स्वास्थ्य मापदण्ड पालना नगर्दा फैलिने खतरा बढेको उनले बताए । उनले आवतजावत रोकिएकाले अब त्यति धेरै संक्रमण नहुने विश्वास गरे । उनले भने, ‘आवजावत नगर्नुहोस्, सावधानी अपनाउनुहोस् भनेका छौं, मनिटरिङ गरिरहेका छौं ।’

मादी ४ का वडाध्यक्ष सत्यराज सापकोटा सुरुमा ३ जना शिक्षकमा लक्षण देखिएपछि पोखरा पिसिआर जाँचका लागि पठाइएको र पछि उनीहरुको सम्पर्कमा रहेकाको पिसिआर जाँच गरिएको बताउँछन् । उनले भने,‘पटक पटक पिसिआर जाँच गरिएको छ, लक्षण देखिनेबित्तिकै जाँच गरेर आइसोलेसनमा राख्ने गरेका छौं ।’ विद्यालयमा शिक्षकमार्फत र विद्यार्थीमार्फत समुदायमा फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ