२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशविवाह र पर्वले बढाए कोरोना जोखिम

विवाह र पर्वले बढाए कोरोना जोखिम


पोखरा-कोभिड १९ संक्रमणको जोखिम बढेसँगै कास्की प्रशासनले वैशाख १५ देखि निषेधाज्ञा जारी ग¥यो । यो क्रम विभिन्न जिल्ला र जिल्लाका स्थानीय तहका स्थानीयस्तरमा पनि देखियो ।

निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्न र घरमै सुरक्षित रहन भनिएको थियो । तर, प्रशासनको आग्रहलाई जनस्तरमा लापरवाही गरेको देखिएको छ । जसका कारण कोरोनाले संक्रमणको ग्राफ उच्च बनाएको छ भने दिन प्रतिदिन कोरोनाकै कारण मृत्यु हुनेको संख्या बढिरहेको छ ।

पछिल्लो समयमा संक्रमण हुनेमध्ये ९० प्रतिशतभन्दा बढीलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको स्वास्थ्यर्मीहरुले बताउँदै आएका छन् ।
प्रदेश मातहतको ५० बेड क्षमताको संक्रामक तथा सरुवा रोग अस्पताल कोरोना बिरामीले भरिभराउ भएको अस्पतालका निर्देशक डा. विकास गौचनले बताए । उनले भने, ‘अति कम जनशक्तिका बीच हामीले ५८ जनासम्मलाई सेवा दिएका छौं ।’ उनका अनुसार अस्पतालमा आउने बिरामी जटिल स्वास्थ्य अवस्थाका रहेका छन् । अस्पतालमा अहिले ३८ जना स्वास्थ्यकर्मी कार्यरत भएकोमा छिट्टै ११ जना थपिने उनले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको इमर्जेन्सीमा एकै ठाउँमा कोरोना संक्रमण भएका र नभएका बिरामी राखेर उपचार गरिएको थियो । विभिन्न माध्यमबाट कोरोना संक्रमण न्यूनीकरणका लागि जनचेतनाका कार्यक्रम भइरहे पनि लापरबाही हुँदा कोरोनाले आफ्नो गति तीव्र पारेको छ । यस्तो अवस्था भएको समाचार सञ्चार माध्यमहरुले प्राथमिकताका साथ प्रकाशन प्रसारण गरिरहे पनि जनस्तरमा भएको लापरवाहीले कोरोना संक्रमणको दर उच्च भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका १ मा गत १४ बैशाखमा चौरासी पूजामा सहभागी १९ जनामा कोरोना पुष्टि भएको थियो । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्नेलगायत समस्या देखिएपछि उनीहरुको एन्टिजेन परीक्षण गरिएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका १० को हलेदे गाउँमा बुधबारदेखि १० दिनका लागि आउजाउ बन्द गरिएको वालिङका मेयर दिलीपप्रताप खाँडले जानकारी दिए । हलेदेका धेरैमा कारोना लक्षण देखिएपछि आवतजावतमा रोक लगाइएको र उनीहरुको शनिबार स्वाब संकलन गरिने जानकारी दिए । आँधीखोला गाउँपालिका ५ को रंगेठाँटी बजार पनि १ हप्ताका लागि आवतजावतमा रोक लगाइएको छ ।

तनहुँको व्यास नगरपालिका १४ छाब्दीमा विवाहको भोलिपल्ट प्रीति भोज आएका ५० भन्दा बढी बिरामी परेका थिए । सहरी स्वास्थ्य केन्द्र छाब्दी इन्चार्ज पद्मा श्रेष्ठले ५०÷६० जना भन्दा बढीको स्वास्थ्य जाँच गरिएको बताइन् । व्यास नगरपालिका स्वास्थ्य प्रमुख प्रमोद सोती विवाह, व्रतबन्ध, चौरासी पूजामा जानेहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नै समस्या हुने बताउँछन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ५ झोबाङमा ११ देखि २४ वैशाखसम्म ४ विवाह भए । रुद्री, व्रतबन्धमात्रै होइन, चौतारी र पोखरीको समेत विवाह गरिदिए झोबाङका स्थानीयले । विवाह तथा पूजामा सहभागीमा कोरोनाको लक्षण देखियो । २८ वैशाखमा पिसिआर नतिजाले २१ जनामा कोरोना पुष्टि भयो । अहिले झोबाङ छिर्ने सबै नाका सिल गरी प्रहरी खटाइएको छ ।

अन्नपूर्ण ५ का अध्यक्ष जीवनाथ पौडेलले वैशाख ११ गते रुद्री, व्रतबन्ध, चौतारी र पोखरीको बिहे कार्यक्रम भएको र सोही कार्यक्रममा सहभागी हुन चितवनबाट आएकाबाट संक्रमण फैलिएको हुनसक्ने बताए । उनले झोबाङ सिल गरिएको र नयाँपुल क्षेत्रका ६० जनाको बिहीबार स्वाब संकलन गरिएको स्पष्ट पारे । उनका अनुसार अन्नपूर्णका कोरोना संक्रमित १ पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि पोखरामा उपचार भइरहेको छ भने अन्य संक्रमितको अवस्था सामान्य रहेको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ मा बिहेमा सहभागी भएकालाई कोरोना लक्षण देखिएको छ । कोरोना लक्षण देखिएपछि बिहीबार स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरिएका केही लक्षण देखिएका थिए । अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेका ५७ जनाको स्वाब संकलन गरिएको स्वाब संकलनमा सहभागी स्वास्थ्यकर्मी प्रियङ्का सापकोटाले जानकारी दिइन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ