२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशविध ल्याब सिल, झुक्याएर पिसिआर जाँच गरेको आरोप

विध ल्याब सिल, झुक्याएर पिसिआर जाँच गरेको आरोप


पोखरा–पोखरामा अनुमतिबिनै पिसिआर जाँच गरेपछि पोखरा पृथ्वीचोकमा रहेको विध ल्याबको कास्की प्रशासनले सिल गरेको छ । मंगलबार अनुगमनमा गएको टोलीसमक्ष आवश्यक कागजात पेस गर्न नसकेपछि सिल गरिएको कास्कीका सहायक सिडियो श्रीनाथ पौडेलले बताए ।

‘ल्याब सिल गरी ३ दिनभित्र आवश्यक कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा आउन भनेका छौं । उहाँहरुले कागजात छ त भन्नु भएको छ,’ उनले भने । बिध ल्याबले आवश्यक कागजातसहित सम्पर्क गर्ने अन्तिम म्याद बिहीबारसम्म दिइएको छ ।

ललितपुरमा मुख्य कार्यालय रहेको विधले पोखरामा पनि पिसिआर परीक्षण सुरु गरेको थियो । तर, अनुमति बिनै पिसिआर परीक्षण भएको गुनासो प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पुगेपछि अनुगमनमा एउटा टोली निस्केको थियो । सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य प्रयोगशाला र कास्की प्रशासनबाट प्रतिनिधित्व हुने गरी बनाइएको टिम अनुगमन टिमले आवश्यक कागजात भेटेन ।

विधले मुख्य कार्यालय ललितपुरमा पिसिआर जाँच गर्न अनुमति पाएको भएपनि पोखरामा पिसिआर जाँचका अनुमति पाएको छैन । गत पुसबाट पोखरामा शाखा सञ्चालन गरेको विधले कोरोना दोस्रो भेरियन्ट महामारीको रुपमा फैलिरहँदा विध ल्याब पोखरा शाखाले स्याम्पल संकलन गरी मुख्य कार्यालयमा लगेर जाँच गराउने भनेकोे थियो । तर, पोखराबाटै पिसिआर रिपोर्ट दिने गरेको गुनासो प्रदेश स्वास्थ्य प्रयोगशालामा आएपछि अनुगमन गरिएको प्रदेश स्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले बताइन् ।

विध ल्याब पोखरा शाखाले ललितपुर पठाउने भन्दै स्याम्पल संकलन गर्ने र पोखरा शाखामै पिसिआर जाँच गर्ने गरेको खुलेको छ । विधले चाडो रिपोर्ट दिने नाममा ललितपुरको मुख्य कार्यालयकै लेटरहेड प्रयोग गरी पोखराबाटै पिसिआर रिपोर्ट दिने गरेको थियो ।

प्रदेश जनस्वास्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सुवेदीले भनिन्, ‘विध ल्याब पोखरा शाखालाई पिसिआर जाँच अनुमति थिएन । २/४ ठाउँबाट गुनासो आएको थियो । पहिला माथि सोधखोज गर्दा पनि पिसिआर गर्न अनुमति नपाएको प्रष्ट भयो । अनुगमनमा जाँदा पनि पोखरामै पिसिआर जाँच र रिपोर्ट दिने गरेको पाइयो,’ उनले भनिन् ।

निमित्त निर्देशक सुवेदीले परीक्षण र रिपोर्ट दिने गरेकोमा प्रक्रिया नपु¥याउँदासम्म परीक्षण नगर्न निर्देशन दिइएको बताइन् ।

यता, विध ल्याबका व्यवस्थापक रवि पोखरेल सरकारले नै ए ग्रेडको अनुमति रोकिदिएकाले यो अवस्था आएको बताउँछन् । उनी भन्छन्, ‘राष्ट्रिय प्रयोगशालाले ए ग्रेडको अनुमति नदिए हामी बी ग्रेडको अनुमति लिन्छौं । स्वाब संकलन गरी ललितपुर नै ल्याउँछौं ।’ उनले रिपोर्ट चाँडो आउने गरेकाले प्रतिस्पर्धी ल्याबहरुले उजुरी गरेको आरोप लगाए । उनले भने, ‘हामीले मेसिन राखेर ट्रायलमात्रै गरेका हौं । त्यही पिसिआर जाँचेको भन्ने चाहिँ होइन ।’

पिसिआर जाँचका लागि राष्ट्रिय प्रयोगशालाबाट अनुमति लिनुपर्ने हुन्छ । पोखरामा पिसिआर जाँचका लागि निजी ल्याब लाइफ केयर डायग्नोस्टिक प्रालिले मात्रै अनुमति पाएको सुवेदीले स्पष्ट पारिन् । लाइफकेयरको प्रत्येक १ महिनामा गुणस्तर जाँच गरिने गरेको उनको भनाइ छ ।

अनुमति पाएको सोही ल्याबले पनि प्रदेश सांसद खिमविक्रम शाहीको रिपोर्ट नियतवश पोजेटिभ निकालेको आरोप लागेको छ । तथापि ल्याबका निर्देशक डा. अमर नागिलाले ल्याबको कुनै कमजोरी नभएको दाबी गरेका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ