२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकास्कीमा निषेधाज्ञामा कडाइ, लखर–लखर हिड्ने प्रहरी नियन्त्रणमा

कास्कीमा निषेधाज्ञामा कडाइ, लखर–लखर हिड्ने प्रहरी नियन्त्रणमा


पोखरा–जिल्ला प्रशासन कार्यालय कास्कीले दोस्रो पटक थप गरिएको निषेधाज्ञा कडाइ गरेको छ । कोभिड–१९ संक्रमणका साथै कोभिड-१९ संक्रमितको मृत्यदर उच्च भएपछि प्रशासनले निषेधाज्ञामा कडाइ गरेको हो ।

जेठ लागेसँगै कडा पारिएका निषेधाज्ञामा आइतबारदेखि मंगलबारसम्म १ हजार ७ सय ७४ व्यक्तिलाई नियन्त्रणमा लिएर सम्झाइ बुझाइ छोडिएको कास्की प्रहरीले जनाएको छ । जसमा ७८९ पुरुष र ९८५ महिला रहेका छन् । सोही अवधिमा प्रहरीले ३७२ सवारीलाई नियन्त्रणमा लिएर छाडिएको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रशासनले शनिबार ४९५ जना व्यक्ति र १९७ सवारी नियन्त्रणमा लिएर छोडेको थियो । निषेधाज्ञामा अत्यावश्यक कामबाहेक हिडडुल गर्ने ५५७ व्यक्ति र ११५ सवारीलाई जेठ २ गते आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । जसमध्ये २२६ पुरुष र ३३१ महिला थिए भने ८० मोटरसाइकल र ३५ चारपाङ्ग्रे सवारी थिए ।

प्रहरीले सोमबार ६१३ व्यक्ति र १५७ सवारीलाई नियन्त्रणमा लिएको थियो । जसमा ३४३ पुरुष र २७० महिला थिए भने ११२ दुईपाङ्ग्रे र ४५ वटा ४ पाङ्ग्रे सवारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

मंगलबार महिला ३८४ र पुरुष २२० कूल ६०४ जनालाई नियन्त्रणमा लिएर छाडिएको थियो भने दुईपाङ्ग्रे ६८ र चारपाङग्रे ३२ सवारी साधनलाई नियन्त्रणमा लिएर छोडिएको प्रवक्ता डिएसपी हमालले बताए ।

‘एकद्वार नीति अपनाऊ’

जिल्ला प्रशासन कार्यालय कास्कीले एकद्वार नीति अपनाउन र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णय एवं स्थानीय तहसँग समन्वय गरी काम गर्न निर्देशन दिएको छ । कास्की प्रशासनले कोरोनासँग सम्बन्धित क्रियाकलाप स्थानीय तहको समन्वयमा मात्रै गर्न निर्देशन दिएको हो ।

प्रशासनले अस्पतालका कोरोना संक्रमित बिरामीलाई सहयोग तथा आइसोलेसन सेन्टर निर्माण तथा सञ्चालन गर्नेलगायत कार्यक्रम गर्न, संक्रमित बिरामी तथा कुरुवालाई खानपानको व्यवस्था तथा राहत वितरणमा स्थानीय तहमा समन्वय गर्न आग्रह गरेको छ । सूचनामा डिसिसिएमसीको निर्णय एवं स्थानीय तहसँगको समन्वयमा मात्र सञ्चालन गर्नुपर्ने नीति रहेकाले सोही अनुसार गर्न अनुरोध गरिएको जनाइएको छ ।

प्रशासनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको र प्रभावकारी कार्यान्वयन भइरहेको जनाएको छ । कास्की प्रशासनले ७ जेठ रातिसम्म निषेधाज्ञा जारी गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ