२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशविध ल्याबले पोखरामा शाखा विस्तारका क्रममा बदमासी गरेको पुष्टि

विध ल्याबले पोखरामा शाखा विस्तारका क्रममा बदमासी गरेको पुष्टि


पोखरा –  ललितपुरमा मुख्य कार्यालय रहेको विध ल्याबले पोखरामा शाखा विस्तारका क्रममा बदमासी गरेको पुष्टि भएको छ । ल्याबले पोखरामा स्वाब संकलन गरी काठमाडौं पठाउने भन्दै पोखरामा नै पिसिआर जाँच गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला निमित्त निर्देशक सपना सुवेदीले बताइन ।

उनले भनिन्, ‘डि ग्रेडको ल्याबले स्याम्पल संकलन गर्न पाउने तर ‘डि ग्रेड’कै भए पनि दर्ता त हुनैप¥यो नि ।’ उनले बिध ल्याब कास्कीमा दर्ता नै नभएकाले स्वाब संकलनका लागि समेत अनुमति नदिइएको स्पष्ट पारिन् । अनुमति दिन दर्ता भएको ल्याब हुनुपर्ने उनको भनाइ थियो ।

विध ल्याबमा स्वाब संकलन र अनुमति बिनै पोखरामा पिसिआर जाँच भएको गुनासोपश्चात अनुगमनमा निस्केको टोलीले स्वाब संकलन र पिसिआर जाँच पोखरामा नै गरी ललितपुरको लेटरहेडमा रिपोर्ट दिएको देखेपछि ल्याब सिल गरेको छ ।

गत पुसबाट पोखरामा शाखा स्थापना सुरु गरेको बिधले कोरोना दोस्रो भेरियन्ट महामारीको रुपमा फैलिरहँदा बिध ल्याब पोखरा शाखाले धमाधम रिपोर्ट दिइरहेको थियो । अनुगमनमा गएको कास्की प्रशासनका प्रतिनिधिसहितको टोलीले ल्याब सिल गरी ३ दिनभित्र आवश्यक कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा आउन भनेको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पोखरामा सञ्चालित बिध ल्याब प्रालिको अनुमति नभएको जनस्वास्थ्य ऐन, २०७५ को दफा २२ बमोजिम इजाजतपत्र नलिएकाले अवैध भनेको छ । प्रदेश जनस्वास्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सुवेदीले भनिन्, ‘विध ल्याब पोखरा शाखालाई पिसिआर जाँच अनुमति थिएन, अनुगमनमा जाँदा पनि पोखरामै पिसिआर जाँच र रिपोर्ट दिने गरेको पाइयो ।’

विध ल्याबका व्यवस्थापक रवि पोखरेल भन्छन्, ‘हामी स्वीकृतिकै प्रोसेसमा छौं, नयाँ कार्यविधि बनाएर ए ग्रेडको दिन्छौं, पिसिआर चलाउन नपाइने भएकाले ए ग्रेडकै अनुमति लिने प्रक्रियामा रहन्छौं ।’

उनले विध ल्याबबाट चाँडै रिपोर्ट आउनुको कारण ल्याबसँग भएको जनशक्ति र मेसिन भएको दाबी गरे । ‘मुख्य कार्यालयमा दैनिक ३ हजारको पिसिआर रिपोर्ट दिन सक्ने क्षमता भएकाले रिपोर्ट चाँडै आउने गरेको हो,’ उनले भने,‘ हाम्रोबाट रिपोर्ट चाँडो आउने गरेकाले प्रतिस्पर्धी ल्याबहरुले उजुरी गरेका हुन् ।’

यसअघि व्यवस्थापक पोखरेलको ‘ए’ ग्रेडको अनुमति नपाए ‘बि’ ग्रेडको अनुमति लिने र ललितपुरमै स्याम्पल लगेर जाँच गराउने बताएका थिए । उनले पोखरा शाखा मेसिन फिट गरेर ट्रायलमात्रै गरिएको र अवैध काम नगरेको दाबी गरेका थिए ।

कास्की प्रशासनले दिएको म्याद बिहीबार गुज्रिएको अवस्थामा विध ल्याबमाथि कारबाही कसरी अघि बढ्छ भन्ने जिज्ञासामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले बिध ल्याबको गतिविधि र अनुगमन टोलीले गरेका कामसहितको प्रतिवेदन राष्ट्रिय प्रयोगशालामा पठाएको बताइन् ।

‘विध ल्याब ललितपुरको लेटरहेड प्रयोग गरी रिपोर्ट दिएका कारण राष्ट्रिय प्रयोगशालाले मुख्य कार्यालयसँग ३ दिनको म्याद राखेर स्पष्टीकरण मागेको छ, त्यसपछि प्रक्रिया अघि बढ्छ,’ निमित्त निर्देशक सुवेदीले भनिन् ।

 


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ