२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेश प्रयोगशालाले बढीमा ४८ घण्टामा पिसिआर रिपोर्ट दिने

गण्डकी प्रदेश प्रयोगशालाले बढीमा ४८ घण्टामा पिसिआर रिपोर्ट दिने


पोखरा–गण्डकी प्रदेशमा कोभिड–१९ संक्रमितको पिसिआर रिपोर्ट आउन १ हप्ताभन्दा बढी समय पनि लाग्ने गरेको छ । रिपोर्ट ढिला आउँदा संक्रमितले संक्रमण फैलाउने हुँदा निषेधाज्ञाको जारी रहँदा पनि संक्रमित भने बढेको बढ्यै छन् ।

पिसिआर रिपोर्ट आउन ढिला भएको गुनासो सुनिरहेका स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २४ घण्टामा रिपोर्ट आउने बताएका थिए । तर, प्रदेश जनस्वास्थ्य निर्देशनालयले भने ४८ घण्टामा रिपोर्ट दिने जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुवेदीले २४ घण्टामै दिन्छौं भन्दा कहिलेकाहीँ दिन नसक्ने अवस्था पनि आउनसक्नेतर्फ सचेत रहँदैं ४८ घन्टासम्म रिपोर्ट दिने स्पष्ट पारिन् । उनले भनिन्, ‘हामीले पेन्डिङमा रहेका नमुना काठमाडौं पठाएर जाँच गरायौं । पछिल्ला दिनमा दैनिक १ हजारको हाराहारीमा नमुना आउने गरेको र प्रयोगशालाको क्षमता १५ सय परीक्षण गर्न सक्ने भएकाले २४ घण्टामै रिपोर्ट दिन सकिने अवस्था पनि छ ।’

निमित्त निर्देशक सुवेदीद्वारा बुधबार विज्ञप्ति प्रकाशन गरी प्रदेशका केही जिल्लाका नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षणका लागि पठाएर समेत समयमै नतिजा दिन प्रयास गरेको तर त्यहाँ पनि उस्तै अवस्था रहेकाले केही दिन ढिला हुन गएको उल्लेख छ ।

निर्देशक सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महामारीको यस विषम परिस्थितिमा समयमै कोभिड–१९ परीक्षणको रिपोर्ट उपलब्ध गराउन नसकेकोमा यसबाट आम सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं ।’

१६  जेठ पछिका नमुना भने ४८ घण्टाभित्रै रिपोर्ट दिन सकिने प्रयोगशालाले जनाएको छ । यतिमात्र नभएर आकस्मिक परीक्षण गर्नुपर्ने बिरामीहरुलको लागि २ घण्टाभित्रै रिपोर्ट उपलब्ध गराउने व्यवस्थासमेत रहेको जानकारी प्रयोगशालाले गराएको छ ।

उनले भनिन्, ‘हामीले ६ जना कर्मचारी पनि थप गरेका छौं । यससँगै ल्याबमा १८ जना कर्मचारीबाट काम हुन्छ । त्यही भएर पनि चाँडै रिपोर्ट दिन सकिने भएको हो ।’ पछिल्लो समय एन्टिजेन परीक्षण बढेकाले पिसिआर चाप अलि कम भएको उनको भनाइ थियो । तर, एन्टिजेन लक्षण नदेखिएका सामान्य बिरामीका लागि भने त्यति प्रभावकारी नहुने उनले प्रष्ट्याइन् ।

यद्यपि निजी ल्याबहरुमार्फत संकलित नमुनाको पिसिआर रिपोर्ट भने चाँडै आउने गरेको छ । निजी ल्याबमा भने धेरै शुल्क तिर्नुपर्ने भएकाले धेरै सर्वसाधारण जान चाहँदैनन् । सामूहिक रुपमा संकलित नमुनाको रिपोर्ट आउन हप्ता, १० दिन लाग्ने गरेको जनगुनासो दिन प्रतिदिन बढिरहेकै अवस्थामा ४८ घन्टामा रिपोर्ट आउने भनाइ बाहिरिएको हो ।

पोखरा पठाइएको नमुनाको रिपोर्ट आउन १ हप्ता लाग्ने र जनताले सुविधा पाउन नसकेको भन्दै व्यास नगरपालिकाको पहलमा व्यास १० दुम्सीबजारमा पिसिआर ल्याब स्थापनार्थ काम भइरहेको व्यासका मेयर बैकुण्ठ न्यौपालनेले बताएका छन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १०७९ जनामा कोभिड–१९ पुष्टि भएको छ । जसमा ४८० महिला र ५९९ पुरुष छन् । गण्डकीका प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ९३, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४२३, चितवन मेडिकल कलेज तथा भरतपुर अस्पतालमा ९, मध्यबिन्दु अस्पताल नवलपरासी पूर्वमा ४३ र लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालिमा २६५ जनाको पिसिआर जाँच गरिएको छ ।

यस्तै, स्वास्थ्य कार्यालय म्याग्दीमा १७, स्याङ्जामा ९, मनाङमा ३, नवलपरासी पूर्वमा ८, बागलुङमा ३, कास्कीमा १२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

गण्डकीमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण ७ जनाको मृत्यु भयो भने ९४१ जना कोरोनामुक्त भएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ