२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरामा अक्सिजन नपाएर २९ वर्षीया सुत्केरीसहित ७ जनाको मृत्यु

पोखरामा अक्सिजन नपाएर २९ वर्षीया सुत्केरीसहित ७ जनाको मृत्यु


पोखरा–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभाव भएपछि बिहीबार साँझदेखि शुक्रबार बिहानसम्ममा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाइफ्लो अक्सिजन दिएर उपचार भइरहेका २९ वर्षीया सुत्केरीदेखि दीर्घ रोग भएका वृद्धवृद्धासम्म छन् ।

जबकी उनीहरुलाई विशेष केयरको जरुरत पर्छ । अस्पतालका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बरालका अनुसार बिहीबार बिहानैदेखि अस्पतालमा अक्सिजन आपूर्तिमा तालमेल भएको थिएन । हाइफ्लोका बिरामीका लागि अत्यधिक अक्सिजन खपत हुने र त्यसलाई व्यवस्थापन गर्न नसक्दा दुखद् घटना भएको उनको भनाइ छ ।

डा. बरालले भने, ‘पहिलेभन्दा हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामी बढेका छन् । अस्ति एकैछिन विद्युत आपूर्ति नहँुदा अक्सिजन कम्पनी बन्द भएछ । अक्सिजन उत्पादनमा भएको ४५ मिनेट ग्यापले अक्सिजन आपूर्तिमा बाधा पुग्यो ।’ अस्पतालमा कम्पनीबाट जति सिलिन्डर भरिन्छ, त्यति नै ल्याउने पनि गरिथ्यो ।

‘६०/७० लिटर प्रतिमिनेट दिनुपर्ने हाइफ्लोका बिरामी बढ्दा यस्तो भयो । जबकि सामान्य अवस्थामा १२÷१५ लिटर अक्सिजन आवश्यक हुन्छ,’ उनले थपे ।

डा. बरालकाअनुसार कलेजो, डायलाइसिस, प्यारालाइसीसजस्ता दीर्घ रोगका बिरामीका कारण पनि धेरै संख्या देखिएको हो । ‘अक्सिजन नै अफ भएको अवस्था होइन । जति आएको छ, त्यति चलाइएको थियो । तर अक्सिजन प्रेसर कम भएको हो,’ उनले भने ।

आफूहरुले प्रयास गर्दागर्दै पनि बिरामी बचाउन नसकिएको उनी बताउँछन् । डा. बरालले भने, ‘म घरमा थिएँ । तर, अक्सिजन के कसरी आपूर्ति गर्न सकिन्छ भनेर कुराकानी गरिहेकै थिएँ ।’

यता, अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले बैठक चलिरहको र बैठकपछि घटनाबारे स्पष्ट पारिने बताए ।

के भन्छन् मृतकका आफन्त ?

चाउथेमा बस्दै आएकी २९ वर्षीया महिला १० जेठमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएकी थिइन् । ती सुत्केरी महिलाको ज्यान गयो । मृतकका भाइ अक्सिजन अभाव आफ्नी दिदीमात्र नभई अन्य सबैको ज्यान जानुको कारण भएको बताउँछन् ।

‘दिउँसोमा त अक्सिजन दिँदै बन्द गर्दै गरेको थियो,’ उनी भन्छन् । यो कुरा दिउँसैदेखि देखेका उनले आफूलाई खाली सिलिन्डर दिए खोजेर ल्याउँछौंसम्म भन्न भ्याएको बताउँछन् । ती युवतीमा बोमिट, मुखबाट फिँज आउने र नाकबाट रगत बग्ने भएको थियो । उनी बिरामी अक्सिजन अभावमा छटपटाइरहेको र बिरामी हेरिदिन आग्रह गर्दा डाक्टरहरुले तेरो बिरामी मर्दैछ, हामी केही गर्न सक्दैनौ भनेको भन्दै दुःख व्यक्त गर्छन् । १० जेठमा ल्याएको बिरामीका लागि हाइफ्लो अक्सिजनसहितको बेडका लागि पोखराका जिएमसी, मनिपाल, फिस्टेल, चरकलगायत सबैतिर भौतारिँदा पनि उनीहरुले विकल्प पाएनन् ।

अर्का मृतकका कुरुवा एक वृद्धाले भनिन्, ‘भन्न पनि जान्दिनँ । त्यो अक्सिजन नै पाएन अनि यस्तो भयो । बिरामी त बेडमा फत्र्याक फत्र्याक गरिरहेका थिए । एउटामात्रै होइन, त्यहाँका सबै ।’

अक्सिजन अभाव भएर बिरामी मर्ने पक्का भएपछि त्रसित स्वास्थ्यकर्मीले अस्पतालमा प्रहरी बोलाएर तैनाथ राखेका बिरामी कुरुवा बताउँछन् । भेरी अस्पतालको घटनाबाट डाक्टरहरु त्रसित भएको डा. बराल बताउँछन् । डा. बराल भन्छन्, ‘बिरामीको मृत्युपछि आफन्त आक्रोशित हुनु स्वाभाविकै पनि हो । आक्रोश चिकित्सकमाथि पोखिने हुँदा डाक्टरहरु अत्तालिएको अवस्था पनि छ ।’

मिडियामा अक्सिजन अभाव छैन भन्ने तर अस्पतालमा अक्सिजन अभावमा छटपटिएर मर्नुपर्ने अवस्था आएको भन्दै उनीहरुले आक्रोश पोखे ।

घोषणाकै ३ दिनमा दुखद् घटना

अस्पतालले अक्सिजन व्यवस्था बिना नै ओपिडी बन्द गर्ने र सबै बेडमा कोभिड–१९ संक्रमितको उपचार गर्ने घोषणा गरेको थियो । पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउने घोषणाको ३÷४ दिन बित्दा नबित्दै एकैदिनमा धेरैजनाको मृत्यु भएको हो ।

अस्पताल प्रशासन भने विस्तारै–विस्तारै बिरामी बढेसँगै बेड बढाउने योजनामा ओपिडी बिरामी लिन बन्द गरेको छ । अस्पतालमा पूर्व उपकुलपति, पूर्व स्थायी डाक्टरहरुको निजी स्वास्र्थका कारण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुन नसकेको बताइन्छ । तिनै डाक्टरहरुले सञ्चालन गरेको निजी अस्पतालमध्ये ठूला अस्पतालमा भने प्लान्टसमेत स्थापना गरिसकेका छन् ।

अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन सप्लाई गर्ने २ वटा निजी कम्पनी पोखरा अक्सिजन र कालीगण्डकी अक्सिजन प्रालि छन् । जसमा डाक्टरहरुकै लगानी रहेको आरोप कतिपयले लगाउने गरेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ