२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपैसा नहुँदा मणिपालमा भएन संक्रमित शिशुको उपचार

पैसा नहुँदा मणिपालमा भएन संक्रमित शिशुको उपचार


पोखरा – मणिपाल शिक्षण अस्पतालमा २३ वैशाखमा जामबहादुर बुढाकी श्रीमती सुत्केरी भइन् । कास्की प्रशासनको निषेधाज्ञाबीच उनले नजिकको अस्पतालमा श्रीमतीलाई लगेका थिए । २५ वैशाखमा उनले सामान्य अवस्थामा आमा र बच्चालाई कोठामा ल्याए ।

लकडाउनले रोजगारी खोसिएर समस्यामा रुमल्लिएका बुढालाई १०-१२ दिनको नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएछि झन् छटपटीले सतायो । उनले छोरा जन्मिएकै मणिपाल अस्पताल पु¥याए । मणिपालका डाक्टरले बच्चाको पिसिआर जाँच गर्न भने । पिसिआर जाँच रिपोर्ट पोजेटिभ आयो ।

बच्चालाई कोरोना पोजेटिभ देखिएको र उपचार गर्नुपर्ने, त्यसका लागि ९० हजार डिपोजिट गर्न भने । त्यतिमात्रै होइन, डाक्टरले उनलाई दैनिक २२ देखि २८ हजारसम्म खर्च लाग्ने पनि सुनाए । त्यसपछि त उनको ओठ तालु ओभाउन थाल्यो ।

न त रोजगारी, न त पहिलेको जम्मा रकम, उनी अत्तालिए । उनले अबका विकल्प पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) मात्रै देखे । मणिपालबाट गण्डकी अस्पताल जाँदा कारोना संक्रमित भएको नभन्न त्यहाँका डाक्टरले भनेका थिए तर पीडामा छटपटिएका उनले लुकाउन सकेनन् ।

उनले अहिले छोराको गण्डकीमा निशुल्क उपचार गराइरहेका छन् । नवजात शिशुको स्वास्थ्य क्रमिक सुधार भइरहेको पोखरा स्वास्थ्य प्रतिष्ठानका डिन डा. श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।

गण्डकीमा कोरोना संक्रमित बालबालिकाका लागि ७ बेड छुट्याइएको छ । जसमा एनआइसियुमा ३, एनसियु आइसोलेसन ३ बेड छन् भने १ बेड क्याबिन सेपरेट आइसोलेसन रुम रहेका छन् ।

डा. श्रेष्ठका अनुसार शिशुहरुको स्वास्थ्य अवस्था सुधार भइरहेको छ भने अक्सिजन दिनुपर्ने मात्रा कम गराउने क्रममै रहेका छन् । क्षेत्रीय अस्पतालमा संक्रमित शिशुहरुको नि:शुल्क उपचारको व्यवस्था मिलाइएको छ । मणिपालबाटै त्यसरी नै गण्डकी अस्पताल पठाइएका १ जना शिशुको उपचारका क्रममा यसअघि नै मृत्यु भइसकेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ