२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपिसिआर रिपोर्टको बढी पैसा असुलेको आरोपमा जिपी कोइराला श्वासप्रश्वास केन्द्रका ४ कर्मचारी निलम्बित

पिसिआर रिपोर्टको बढी पैसा असुलेको आरोपमा जिपी कोइराला श्वासप्रश्वास केन्द्रका ४ कर्मचारी निलम्बित


पोखरा—कोभिड—१९ को संक्रमण तीव्र थियो । प्रयोगशालाहरुले चाप थेग्नै मुस्किल परिरहेको थियो । सेवाग्राही रिपोर्टको व्यग्र प्रतीक्षामा थिए । त्यही मौका छोपेर तनहुँको शुक्ला गण्डकी नगरपालिका—५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका ४ कर्मचारीले छिटो रिपोर्ट दिने भन्दै सेवाग्राहीबाट अस्पतालकै बद्नाम हुने गरी रकम असुले ।

अस्पतालभित्रकै बिरामीसँग रकम असुलेपछि गुनासो अस्पताल प्रशासनमा पुग्यो । अस्पतालले सामान्य सोधीखोजीपछि तत्कालै ४ जना कर्मचारीलाई निलम्बन गरेको छ । रकम असुल्ने कर्मचारी आनन्दप्रसाद ढुंगाना, विधान तिमिल्सिना, मदन श्रेष्ठ र सुधन पन्तलाई निलम्बन गरिएको अस्पतालले जनाएको छ ।

तनहुँमा पिसिआर जाँच गर्न ल्याब नभएपछि स्वाब संकलन गरी पोखरा पठाउनुपर्ने बाध्यता थियो । पोखराका सरकारी ल्याबबाट रिपोर्ट आउन १ हप्तासम्म लाग्ने गरेको अवस्थामा छिटो रिपोर्ट ल्याइदिने भन्दै उनीहरुले रकम असुलेको जानकारी पाएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले दिए । जिपीका कर्मचारीले १२ जनासँग घरबाटै र अस्पतालमै आएका ५ जना बिरामीसमेत गरी १७ जनासँग जनही ३ हजारका दरले उठाएका थिए ।

अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘हामीले २४ घन्टे अल्टिमेटमसहित स्पष्टीकरण मागेका थियौं, स्पष्टीकरण आइसकेको छ,’ उनले भने, ‘निलम्बित हुनुहन्छ, प्रक्रियामै छ, टाइम लाग्छ, फूल बोर्डमै राख्नुपर्छ । जिपी फुल बोर्डले नै निर्णय गर्छ । टुंगो नलागेसम्म उहाँहरु निलम्बित नै रहनुहुन्छ, अहिले तत्कालै बोर्ड मिटिङ बस्ने अवस्था छैन ।’

अस्पतालका सेवामा यस्ता क्रियाकलापले विश्वसनीयता गुम्नसक्नेतर्फ सचेत रहँदै कारबाही अघि बढाइएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ