२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशजब बिरामी बोकेको ग १ झ ४४८ एम्बुलेन्स बाढीमा फस्यो…

जब बिरामी बोकेको ग १ झ ४४८ एम्बुलेन्स बाढीमा फस्यो…

चालक घाइते, बिरामीको बाटैमा मृत्यु


पोखरा—कास्कीको मादी गाउँपालिका-९ मा एक एम्बुलेन्स बाढीमा फसेको छ । ग १ झ ४४८ नं. को एम्बुलेन्स बाढीमा फस्दा चालक घाइते भएका छन् । वर्षाका कारण बाटो बिग्रिएपछि समयमै अस्पताल पु¥याउन नसक्दा एक वृद्धाको बाटोमै एम्बुलेन्समा ज्यान गएको छ ।

कोभिड-१९ तीब्र बनेको मादी-९ मुग्रीबेसीमा ७८ वर्षीया वृद्धा बुधबार रातिदेखि बिरामी भइन् । ती वृद्धा पहिलेदेखि नै दमबाट ग्रसित थिइन् । वृद्धालाई उपचारका लागि बिहीबार बिहान थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लैजादै गर्दा उनको बाटैमा एम्बुलेन्समा निधन भएको छ ।

बिरामी बोकेर अस्पताल लैजाने क्रममा मध्यपहाडी लोकमार्गमा पर्ने खहरे खोलामा एम्बुलेन्स फसेको थियो । एम्बुलेन्स बिरामी बोकेर थुम्सीकोटतर्फ आउँदै थियो । खहरे खोलामा पानी थिएन, खोलो माथि थुनिएको रहेछ । एम्बुलेन्स चालकले खहरेमा एम्बुलेन्स हाले । तर, एम्बुलेन्सले खोला पार गर्न सकेन फस्यो ।

‘ट्रयाक्टरले एम्बुलेन्स तान्ने तयारी गरिरहेको थियो । चालक एम्बुलन्समै थिए । एक्कासी माथिबाट बाढी आयो । एम्बुलेन्स एम्बुलेन्समा डोरी लगाएर ट्रयाक्टरको सहायताले तान्ने प्रयास भइरहेको थियो । मैले इन्जिन स्टार्ट गरेर ट्र्याक्टरको बलसँगै अघि बढाउने प्रयास गर्दै थिएँ,’ एम्बुलेन्स चालक सुभाष अधिकारी भन्छन् ।

उनकाअनुसार सोही बेला अचानक बाढी आएपछि मृतक वृद्धाका नाति र अर्का एक जना पनि थिए तर उनीहरु पछाडि रहेको र पहिले नै भागेकाले सकुशल रहे । ‘म इन्जिन बन्द गर्छु । झर्छुभन्दा भन्दै बाढीले भेटाइहाल्यो,’ सुभाषले थपे ।

चालक अधिकारीलाई एम्बुलेन्सबाट झरेपछि बाढीले लतारेको थियो । ‘ज्यानकै माया हुँदोरहेछ । बाढी आएपछि एम्बुलेन्सबाट झरेर भाग्न खोज्दा बाढीले पछा¥यो,’ उनले भने,‘ वृद्धाको पहिले नै निधन भएको शंका गरिएको थियो तर अस्पताल नपु¥याई अरु विकल्प पनि रहेन ।’

मृतक वृद्धाका परिवारमा कोभिड—१९ संक्रमण भएकाले उनको पनि कोभिड—१९ संक्रमणकै कारण मृत्यु भएको हुन सक्ने मादी—९ का वडाध्यक्ष तोरण गुरुङले बताए । ‘उहाँलाई पहिलेदेखि नै दमको समस्या थियो । कोभिड—१९ परीक्षण भने गरिएको थिएन ।’

विगत डेढ वर्षदेखि मादी—८ र ९ तथा लमजुङको सिंदी, पसगाउँ, कुमलुङ, चरागाउँ, भोजे, घाम्राङलगायतका क्षेत्रमा उक्त एम्बुलेन्सले सेवा दिइरहेको थियो ।

घाइते एम्बुलेन्स चालकलाई थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि पोखरा रिफर गरिएको छ । उनलाई अर्काे एम्बुलेन्समा पोखरा पठाइएको छ । चालक अधिकारीको स्वास्थ्य अवस्था जटिल नरहेको उनी आफैंले कुराकानीमा बताए । ‘अहिले कुराकानी गर्न त समस्या छैन, तर पछि जटिल पनि हुनसक्छ भनेर होला थुम्सीकोटका डाक्टरले पोखरा रिफर गर्नुभएको छ, थप चेकजाँचका लागि पोखरा आउँदै छु,’ उनले भने ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ