२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश८ करोडमा बन्न लागेको आँधीखोला अस्पताल शिलान्यास, स्वास्थ्य चौकी प्रमुख नै बेखबर

८ करोडमा बन्न लागेको आँधीखोला अस्पताल शिलान्यास, स्वास्थ्य चौकी प्रमुख नै बेखबर

मध्यविन्दु, दमौली, धौलागिरी र भीरकोट नगर अस्पताललाई ट्रमा सेन्टर बनाइने


पोखरा—स्याङ्जाको आँधीखोला–५, सेती दोभानस्थित आँधीखोला अस्पताल भवन शिलान्यास गरिएको छ । शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भवन शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पोखरेलले स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकतामा राखेर त्यसैअनुसार बजेट विनियोजन गरिएको बताए । स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारबाट व्यहोर्ने निर्णयलाई कार्यन्वयनमा लैजान कार्यविधि बनाउने काम सुरु भएको उनले बताए ।

मुख्य राजमार्गमा पर्ने नवलपुरको मध्यविन्दु अस्पताल, तनहुँको दमौली अस्पताल, बागलुङको धौलागिरी अस्पताल र स्याङ्जाको भीरकोट नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गरिने पनि उनले बताए ।

आँधीखोलाको सेती दोभानमा २०६७ सालमा महायज्ञ गरी जग्गा खरिद गरी आँधीखोला विकास तथा वातावरण स्वच्छता समूह (गार्डेन)को अग्रसरतमा सामुदायिक अस्पताल स्थापना भएको हो ।

पछिल्लो समय उक्त अस्पताल सेती दोभान स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । प्रक्रियागत रुपमा अस्पताल स्वास्थ्य चौकीलाई हस्तान्तरण भएपनि व्यवहारिक रुपमा उपयोगमा ल्याउन नसकिएको सेती दोभान स्वास्थ्य चौकी प्रमुख सिअनमी पार्वती पोखरेलले बताइन् । उनका अनुसार सामुदायिक अस्पतालको उक्त भवनमा निजी रुपमा फार्मेसी सञ्चालन भएको छ ।

आँधीखोला–५ सेती दोभानका वडाध्यक्ष कृष्णप्रसाद पनेरु टेन्डर भएर काम भइरहेको बताउँछन् । उनका अनुसार ८ करोड लागतमा १० शैयाको अस्पताल भवन बन्न लागेको हो । भवन शिलान्यास भएकोबारे औपचारिक जानकारी नभएको उनले बताए ।

स्वास्थ्य चौकी प्रमुख पोखरेल कार्यालय सहयोगीसहित ५ जनाले सेवा दिइरहेको र १ अहेव दरबन्दी रिक्त भएको जानकारी दिइन् । रिक्त दरबन्दी करार पदपूर्तिको तयारी भइरहेको उनले बताइन् । सेती दोभान स्वास्थ्य चौकीमार्फत ६ वटा ज्येष्ठ नागरिक स्वास्थ्य जाँच केन्द्र र ३ वटा गाउँघर क्लिनिक सञ्चालन भइरहेका छन् ।

प्रदेश मुख्यमन्त्रीबाट भवन शिलान्यास भएको भएपनि सेती दोभान स्वास्थ्य चौकी प्रमुख पोखरेल र सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद पनेरुले आफूहरुलाई जानकारी नभएको बताए । स्वास्थ्य चौकी प्रमुख पोखरेलले भनिन्, ‘मैले मुख्यमन्त्री आएर शिलान्यास भएको सुने । तर, कार्यक्रम भइरहँदा मलाई जानकारी नै थिएन । हाम्रो वडामा ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रमा सेवा दिने व्यवस्था भएको हुँदा म फिल्डमा नै थिएँ ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ