२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशसंक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना


पोखरा – संक्रामक तथा सरूवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । एनआरएन बेल्जियम, पोखरा महानगरपालिका र पुरी फाउन्डेसन बेल्जियमबाट सहयोग प्राप्त अक्सिजन प्लान्ट सफलतापूर्वक जडान परीक्षण गरिएको अस्पतालका निर्देशक डा. विकास गौचनले जानकारी दिए ।

निर्देशक डा.गौचनका अनुसार अस्पतालमा भर्ना भएका बिरामीका लागि अक्सिजन सिलिन्डरमा भएको पूर्ण परनिर्भरता घट्नेछ । अक्सिजन प्लान्टको उत्पादन क्षमता कति हुन्छ भन्नेबारे यकीन भन्न नसकिएको अस्पतालका सूचना अधिकारी केदारनाथ लामिछानेले बताए । हाइफ्लो अक्सिजन प्रयोग गर्नुपर्ने अवस्था नहुँदा प्लान्टबाट उत्पादित अक्सिजनले माग थेग्ने उनको अनुमान छ ।

करिब १ करोड लागतमा अस्पतालका लागि अक्सिजन प्लान्ट स्थापना हुनु ठूलो सफलता भएको उनी बताउँछन् । अस्पतालका ५० बेडमा पाइपलाइनमार्फत अक्सिजन पु¥याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए । अहिले अस्पतालमा दैनिक ५० हाराहारीमा सिलिन्डर अक्सिजन खपत हुने गरेको छ ।

अस्पतालमा कूल १६० वटा अक्सिजन सिलिन्डर रहेको सूचना अधिकारी लामिछानेले बताए । अस्पतालका निर्देशक डा.गौचनका अनुसार अक्सिजन सिलिन्डर प्रयोग गरी बिरामीलाई अक्सिजन दिइरहेको पाइपलाइनमा प्लान्टबाट उत्पादन भएको अक्सिजन जोड्ने तयारी भइरहेको छ । हाल बिरामीलाई सिलिन्डरमार्फत् अक्सिजन दिइरहेको अवस्थामा तत्काल प्लान्टको अक्सिजनले थेग्न नसके समस्या आउनसक्नेतर्फ सचेत रहेको बताउँदै कहिलेदेखि नियमित प्रयोग हुन्छ यकीन नभएको उनले सुनाए । निर्देशक डा. गौचनका अनुसार अहिले परीक्षण र प्युरिफिकेसनको काम भइरहेको छ ।

टर्कीबाट आएका २ जना इन्जिनियरबाट समेत यकीन विवरण नपाएको निर्देशक डा. गौचनले उल्लेख गरे । नेपालमा सामान्यत इन्डियन र चाइनिज ब्रान्डका प्लान्ट प्रयोग हुने गरकोमा यो युरोपियन ब्रान्ड भएकाले यसको वास्तविक प्राविधिक विवरण प्राप्त नभएको उनको भनाइ छ । ‘दाताहरुलाई डिटेल कागजात विवरण उपलब्ध गराइदिन आग्रह गरेका छौं, त्यही विवरण हेरेर प्लान्ट पाइपलाइनमा जोड्नेछौं,’ उनले भने, ‘इन्जिनियरसँग कुराकानी गर्दै छौं ।’

‘दातासँग सुरुमा कुराकानी हुँदा ४ सय लिटर प्रतिमिनेट अक्सिजन उत्पादन हुने बताएको भए पनि पछि आएका विज्ञले सो क्षमताको नभएको बताए,’ उनले भने । दाताको भनाइअनुसार हुने हो भने दैनिक ७०-८० ठूलो सिलिन्डर अक्सिजन उत्पादन हुनसक्छ तर त्यसअनुसार नभएको विज्ञको भनाइ छ ।

यसअघि अस्पतालले अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड ३५ लाखमा टेन्डर गरेको थियो, ठेक्का लिएकाले ल्याउन नसकेकाले अब टेन्डर खारेज गरिने सूचना अधिकारी लामिछानेले जानकारी दिए ।

‘अब हामीले अर्काे लिने कुरा भएन, हामीलाई काम चल्ने त यही भइहाल्यो नि । प्लान्टबाट उत्पादित अक्सिजन सिलिन्डरमा भर्न भने सकिँदैन,’सूचना अधिकारी लामिछानेले भने,‘ अहिले हामीसँग भर्नका लागि आवश्यक उपकरण छैन, अस्पतालमा अक्सिजन माग पनि उच्च छ, अक्सिजन भर्न उपकरण ल्याउन हामी पहल गर्छाैं ।’

संक्रामक तथा सरुवा रोग अस्पतालमा ५० बेड भनिए पनि बिरामीको चाप बढ्दा ५५-६० जनासम्मको उपचार गरिएको अस्पतालका निर्देशक डा. गौचनले बताए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भने बजेट उपलब्ध हुँदासमेत अक्सिजन प्लान्ट स्थापना हुन सकेको छैन । पछिल्लो समय बतास फाउन्डेसनको पहलमा अक्सिजन प्लान्ट स्थापना गर्न रकम समेत संकलन गरिएको थियो तर अझै लामो समय प्रतीक्षा गर्नुपर्ने भएको छ । धमाधम विभिन्न अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइरहँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कहिले स्थापना होला र सेवाग्राहीले राहत पाउनेछन् अझै अनिश्चित छ ।

कोभिड-१९ परास्त गर्न सहयोग निरन्तर

गैरआवासीय नेपाली संघ एनआरएनएले बागलुङका ५ स्वास्थ्य संस्थालाई १० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । एनआरएनले निसीखोला गाउँपालिका भलकोट स्वास्थ्य चौकी, बोहरा गाउँ, देवीस्थान, राजकुत लगायत स्वास्थ्य चौकी लगायतलाई २० लाख बराबरका सामग्री सहयोग गरिएको बताइएको छ । बडिगाड, ताराखोला गाउँपालिका र गलकोट नगरपालिकालाई पनि सहयोगको पहल भइरहेको छ ।

पोखरा जेसिजले कोभिड १९ का बिरामीलाई अस्पतालसम्म पु¥याउन सहयोग पु¥याउने उद्देश्यले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । जेठबाट नै सेवा दिइरहेको एम्बुलेन्सको पोखराका मेयर मानबहादुर जिसीले हालै औपचारिक शुभारम्भ गरेका हुन् । हालसम्म करिब ७५ जनाले निशुल्क एम्बुलेन्स सेवा लिएका छन् ।

मादमे खोला जलविद्युत आयोजनाले मादी गाउँपालिका वडा नम्बर १ को सिक्लेस स्वास्थ्य चौकीलाई ४० लिटरका १० थान, १० लिटरका ३ थान अक्सिजन सिलिन्डर, पिपिई ४ थान र अक्सिमिटर ४ थान सहयोग गरेको छ ।

यस्तै, एक्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले माछापुछ्रे ३ घाचोकस्थित स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्टेटर सहयोग गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ