२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमुख्यमन्त्रीले ढाटे : हेलिकप्टर चढेर चुमनुब्री पुगे तर खोप पुगेन

मुख्यमन्त्रीले ढाटे : हेलिकप्टर चढेर चुमनुब्री पुगे तर खोप पुगेन


पोखरा—गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले १ साउनमा चुमनुब्री गाउँपालिकाको भ्रमण गर्ने योजना बनाए । काठमाडौंबाट कोभिड–१९ विरुद्धको खोप हेलिकप्टरमार्फत त्यहाँ पु¥याउने योजना थियो । सोही मौका पारेर त्यहाँ पुगेपछि गण्डकीका मुख्यमन्त्रीले कोभिड–१९ विरुद्धको खोप ल्याइदिएको जस लिने तयारी गरेर उनी त्यसतर्फ गएको खुलेको छ ।

पोखराबाट मुख्यमन्त्री नेतृत्वको टोली भेरोसेल खोप लिएर शुक्रबार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री जाने प्रचार–प्रसार गरियो । सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन तथा प्रसारण गरे । पोखराबाट ३ हजार पूरै नभएर केही मात्रामा मात्रै भेरोसेल लैजाने र टोली छेकम्पार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बिनोदबिन्दु शर्माले जानकारी दिएका थिए ।

शर्माले मुख्यमन्त्री पोखरेलले विपद्ग्रस्त तामागाउँको अनुगमन गर्नेसमेत बताएका थिए । तर, उनले पोखराबाट गएको टोली मौसम प्रतिकूल भएका कारण छेकम्पारमा रोकिएको र मौसम सुध्रिएपछि टोली तामागाउँ जाने जानकारी दिइरहँदा हेलिकप्टरमा खोप नभएको भने बताएनन् । उनले गाउँपालिकाका लागि चाहिने खोपमध्ये केही खोप पोखराबाट टोलीले हेलिकप्टरमा लैजाने र केही खोप गोरखाबाट नै व्यवस्थापन गरिने बताएका थिए ।

खोप काठमाडौंबाट ल्याउनुपर्ने र हेलिकप्टर नै अर्कै प्रयोग गर्नुपर्ने रहेछ । सचिव शर्माले यो कुरा खुलाएनन् । चुमनुब्री पठाइएको खोप ३ हजार जनालाई उपलब्ध गराइने भन्दै हल्ला मच्चाइयो । तर, खोप नै नलगी मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामाग्रीमात्रै पोखराबाट गएको टोलीले लगेको पाइएको छ ।

टोलीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङ, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्यलगायत थिए । माउन्टेन चाइल्ड संस्थाको सहयोगमा हेलिकप्टरमार्फत् खोप भन्दै मुख्यमन्त्रीलाई चुमनुब्री पु¥याइएको हो । हेलिकप्टरले पालिकाका ७ वटै वडाको केन्द्रमा खोप छोड्ने प्रचार उनका सहयोगीले गरे । तर, खोप नै नभइकन कसरी पु¥याउने ? यो प्रश्न अनुत्तरित थियो । हेलिकप्टरमा खोप छैन कि भनेर कुनै पनि सञ्चारकर्मीले शंकासम्म गरेनन् ।

तर, चुमनुब्री पुगेको हेलिकप्टरमा पोखराबाट खोप लगिएकै थिएन । मुख्यमन्त्री लाखौं खर्च गरेर चुमनुब्री पुगे पनि चुमनुब्रीवासीले खोप पाएनन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले भने खोप ल्याउनेबारे आफूलाई कुनै जानकारी नभएको बताएका थिए । उनले भने, ‘हामीलाई कसैले जानकारी दिएकै छैन । काठमाडौंबाट हेलिकप्टर आउने भनेको भए पनि मौसम खराबका कारण त्यो पनि आएको छैन ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ