२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशअब डाक्टरले प्रेस्क्रिप्सनमा एनएमसी नम्बर उल्लेख गर्नुपर्ने

अब डाक्टरले प्रेस्क्रिप्सनमा एनएमसी नम्बर उल्लेख गर्नुपर्ने


पोखरा—पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुग्ने बिरामीलाई प्रयोगशाला जाँचका लागि निजी प्रयोगशालाको नामै तोकेर बिरामी पठाउने गरेको खुलेपछि अस्पताल प्रशासनले प्रेस्क्रिप्सनमा एनएमसी नम्बर उल्लेख गर्न निर्देशन दिएको छ । अस्पताल प्रशासनले निर्देशन दिएको भएपनि कतिपय प्रेस्क्रिप्सनमा भने उल्लेख गरेको भेटिँदैन् ।

केही समय पहिलेसम्म क्षेत्रीय अस्पताल प्रयोगशालामा रगत, पिसाबसम्बन्धी धेरै प्रकारका जाँच हुने गरेका थिएनन् । सोही मौकामा अस्पतालका डाक्टरले निजी प्रयोगशालासँगको मिलेमतोमा अस्पताल बाहिरका निजी प्रयोगशालामा पठाउने गरेका थिए । अस्पतालको प्रयोगशालामा जाँच नभएपछि धेरै प्रकारका रगत जाँचलगायत प्रयोगशाला जाँचका लागि निजी प्रयोगशालातर्फ धाउनुपर्ने बाध्यता थियो ।

अहिले अस्पतालका प्रयोगशालामा ९० प्रतिशतभन्दा बढी प्रकारका जाँच हुने गरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. भरतबहादुर खत्री बताउँछन् । उनी निर्देशक भएर आएपछि अस्पतालबाहिरका प्रयोगशाला पठाउने कुरामा कमी आएको दाबी गर्छन् । ‘अहिले डाक्टरले प्रयोगशाला परीक्षण गर्न सिफारिस गर्दा एनएमसी नम्बर नै प्रेस्क्रिप्सनमा लेखेर पठाउन निर्देशन दिएको छु,’ उनले भने ।

अस्पतालमा भएको सेवा निजीमा लिन लगाउने डाक्टर पत्ता लगाउन एनएमसी नम्बर उल्लेख गर्न लगाएको निर्देशक डा. खत्री बताउँछन् । यसले अस्पतालमै हुने जाँच पनि बाहिरका निजी प्रयोगशालामा पठाउने गलत परिपाटी अन्त्य हुने उनको विश्वास छ । अस्पताल प्रयोगशालामा हुने परीक्षणका लागि पनि बाहिर पठाइएको रहेछ भने त्यससम्बन्धी जानकारी अस्पताल प्रशासनमा गराउनसमेत निर्देशक डा. खत्रीले आग्रह गरे ।

यस्तै, प्रदेश स्वास्थ्य प्रयोगशाला निमित्त निर्देशक सपना सुवेदी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रयोगशालामा अधिकांश जाँच हुने गरेको बताउँछिन् ।

ल्याब टेस्ट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रयोगशालामा नै हुने भएपनि निजीमा सिफारिस गर्नुको कारण के हुनसक्छ भन्नेबारे प्रयोगशाला नि. निर्देशक भन्छिन्, ‘कतिपय अवस्थामा डाक्टरको इन्ट्रेस्टले पनि पठाएको हुनसक्छ । क्षेत्रीय अस्पताल प्रयोगशालामा जाँच नहुने केस चाहिँ असाध्यै कम छन् । धेरै प्रकारको जाँच त सरकारी अस्प्तालहरुमा भइरहेकै छन् ।’

डाक्टरले सिफारिस गरेको टेस्ट अस्पतालको प्रयोगशालामा हुन्छ कि हुँदैन भन्ने हेरेर निजीमा पठाउन आवश्यक थियो कि थिएन भन्ने एकिन गर्न सकिने सुवेदी बताउँछिन् । ‘सरकारी प्रयोगशालामा भिडभाड हुँदा पनि निजीमा छिटो सेवा लिन बिरामी पुग्ने गरेका छन् । सरकारीमा स्वाभाविक रुपमै भिडभाड त भइहाल्छ,’ उनले भनिन् । कतिपय अवस्थामा डाक्टरहरुले पठाएको पनि हुनसक्छ । केही टेस्ट निश्चित संख्या पुगेपछि मात्रै गर्ने भन्ने निर्धारण भएको हुनाले सरकारी ल्याबमा केही ढिला भएको हुनसक्ने उनको भनाइ थियो ।

नेपालमै नहुने र भारतमा पठाउनुपर्ने अवस्थामा भने निजी ल्याबले संकलन गरेर पनि पठाउने गरेको जानकारी उनले पाएको बताइन् । ‘सरकारीको प्रयोगशालामा निश्चित अवधिमा मात्रै जाँच हुने हुँदा इमर्जेन्सीबाहेकका जाँचका लागि बाहिर गएको पनि हुनसक्छ,’ उनले सुनाइन् ।

सुवेदीकाअनुसार अब कोभिड–१९ परीक्षण गर्न निजी क्लिनिक जानुपर्ने अवस्था छैन । अहिले अस्पतालले स्वाब लिएको भोलिपल्टै रिपोर्ट दिने गरेको उनको भनाइ छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ