२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशजोखिममा दुर्गम गाउँका ‘सुत्केरी’, बडीगाडकी २६ वर्षीया सामलको हेलिकप्टरबाट उद्धार

जोखिममा दुर्गम गाउँका ‘सुत्केरी’, बडीगाडकी २६ वर्षीया सामलको हेलिकप्टरबाट उद्धार


पोखरा–साविक धौलागिरीका अग्ला डाँडा हिउँले सेताम्मे थिए । मौसम चिसो थियो । हिमपात र वर्षाले विद्युत प्रसारण अवरुद्ध भएको थियो । हिउँकै कारण यातायात सुचारु हुन सकेको थिएन । विद्युत् अवरुद्ध भएपछि मोबाइल सेवासमेत समस्याग्रस्त थियो ।

बडीगाड गाउँपालिका–३, सिसाखानीकी सीता सामललाई सुत्केरी व्याथाले चाप्यो । राति साढे ३ बजेतिर उनले घरमै शिशु जन्माइन् । तर, साल भने निस्कन सकेन् । सामलका परिवार र छिमेकीले दगातुन डाँडा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई खबर गरे । बिहानमात्रै राधा गिरी र दीपक थापा बिरामीको घरमा पुगे । समस्या जटिल देखेपछि उनीहरुले बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. अनिल केसीलाई फोन सम्पर्क गरी आवश्यक औषधोपचारपछि बिरामीको होश आयो भने रगत बग्ने समस्यामा समेत सुधार आयो ।

उही वडा भएपनि वडा नम्बर ३ को बर्थिङ सेन्टरबाट पुग्नुभन्दा वडा नम्बर १ को बर्थिङ सेन्टरबाट बिरामीको घरमा पुग्न केही सहज भएकाले बडीगाड–१ बाट स्वास्थ्यकर्मी गएका थिए ।

सामलको हेलिकप्टरबाट उद्धार गरी सोमबार पोखरा ल्याइएको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बडीगाड गाउँपालिका, बागलुङको समन्वयमा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले हेलिउद्धार गरेको थियो ।

बडीगाड गाउँपालिकाका १० वडामध्ये ८ वडामा बर्थिङ सेन्टर छन् । तर, सुत्केरी व्यथाले चापेपछि सेन्टरमा लैजानै भौगोलिक कठिनाइ छ । त्यसैमाथि त्यहाँका मानिस घरमै सुत्केरी गराउनु राम्रो मान्छन् । बडीगाडका इन्चार्ज एचए हेमबहादुर पुन भन्छन्, ‘सुत्केरी हुनेबारे पहिले नै जानकारी हुन्छ । तर, परम्परागत सोचका कारण स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी गराउन चाहँदैनन् ।’

बडीगाड गाउँपालिकाले नमूना स्वास्थ्य बडीगाड गाउँपालिका अभियानअन्तर्गत प्रसुती प्रतिक्षालय निर्माण गरिरहेको छ । यसको काम असार मसान्तमा सकिएपछि यस्ता समस्या केही कम हुने इन्चार्ज पुनको विश्वास छ । ‘त्यसपछि सुत्केरी हुने दिनभन्दा १/२ दिन अघि नै गर्भवती प्रसुती प्रतीक्षालयमा गएर बस्न सक्नेछन्,’ उनले भने । प्रतीक्षालयमा एकपटकमा ३ जना गर्भवती बस्ने सक्ने उनको भनाइ थियो । बर्थिङ सेन्टर नजिक प्रतीक्षालय बनाउन लागिएको हो । प्रतीक्षालय निर्माणका लागि २१ लाख विनियोजन गरिएको थियो ।

स्थानीयको सोचमा परिवर्तन ल्याउन नसकिएको बडीगाड–३ का अध्यक्ष खड्कबहादुर पुन बताउँछन् । यो घटना पनि सुत्केरी घरमै गराउनुपर्छ भन्ने धारणाले भएको उनको भनाइ थियो । पहिले घरमै सुत्केरी गराउने प्रयास गरेका परिवारका सदस्यले समस्या जटिल भएपछि मात्रै स्वास्थ्यकर्मीलाई खबर गरेकाले स्वास्थ्य प्रतिकूल बनेको वडाध्यक्ष पुनले उल्लेख गरे ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ