२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीका मुख्यमन्त्रीलाई स्वास्थ्य सचिवको ब्रिफिङ, ‘डायलाइसिस गर्न पालो कुर्नुपर्ने अवस्था छैन’

गण्डकीका मुख्यमन्त्रीलाई स्वास्थ्य सचिवको ब्रिफिङ, ‘डायलाइसिस गर्न पालो कुर्नुपर्ने अवस्था छैन’

‘केही अस्पतालमा जनशक्ति नहुँदा १२ घण्टा ओपीडी सेवा सुरु हुन सकेन’


पोखरा—गण्डकी प्रदेशमा डायलाइसिसका लागि बिरामीले पालो कुर्नु नपर्ने भएको छ । बुधबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री खगराज अधिकारीलाई स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्माले उक्त ब्रिफिङ गरेका हुन् ।

डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको डा. शर्माले बताए । मुख्यमन्त्री अधिकारीले नै सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

डा. शर्माका अनुसार वि.सं. २०७९ माघमा सरकारी १० र निजी छ वटा गरी जम्मा १६ वटा संस्थाबाट डायलाइसिस सेवा दिने गरिएको थियो । त्यतिबेला ५ सय ७६ जना बिरामीले डायलाइसिस सेवा लिएका थिए भने ३ सय ३ जना डायलाइसिस सेवाको प्रतीक्षामा थिए ।

२५ शैय्या क्षमताको डायलाइसिस केन्द्र स्थापना, अन्य अस्पतालको क्षमता विस्तार गरेर सेवाको लागि पर्खाइमा कोही पनि बस्नु नपर्ने गरी काम गर्न सफल भएको डा. शर्माले बताए । हाल प्रदेशमा १ सय ३६ वटा डायलाइसिस मेसिन सञ्चालनमा छन् ।

‘माननीय मुख्यमन्त्रीज्यूकै निर्णयबाट गण्डकी प्रदेशमा डायलाइसिस गर्नुपर्ने प्रतीक्षारत व्यक्तिको संख्या शुन्यमा झार्ने प्रण गरिएको थियो,’ सचिव डा. शर्माले भने, ‘त्यसमा गण्डकी प्रदेशले विशेष फड्को मारेको छ । जुन राष्ट्रिय रुपमा चर्चाको रुपमा आएको छ ।’

अधिकारी दोस्रो पटक मुख्यमन्त्री भएपछि पहिलो निर्णयका रुपमा गण्डकी प्रदेश मातहतका अस्पतालमा १२ घण्टा ओपीडी सेवा दिने निर्णय गरेका थिए । सोही निर्णयअनुसार ओपीडी सेवा बेनी अस्पताल, लमजुङ अस्पताल, पर्वत अस्पताल, मध्यविन्दु अस्पताल, दमौली अस्पताल, स्याङ्जा अस्पताल र गोरखा अस्पताल सुरु भएको डा. शर्माले जानकारी दिए ।

यस्तै, जनशक्तिको अभावमा धौलागिरी अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल कास्की, मातृशिशु मितेरी अस्पताल, मुस्ताङ अस्पताल र मनाङ अस्पताल सेवा सुरु गर्न नसकिएको उनको भनाइ थियो । मन्त्रालयले ती अस्पतालमा पनि १२ घण्टा ओपीडी सेवा संचालन गर्ने तयारी गरिरहेको सो क्रममा जानकारी दिइएको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ