२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डाक्टर भेट्न मुस्किल पर्ने गरेको बिरामीको गुनासो

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डाक्टर भेट्न मुस्किल पर्ने गरेको बिरामीको गुनासो

आकस्मिक बिदामा समेत सेवा दिएका छौं । सेवामा सुधार भएको छ : निर्देशक डा. खत्री


पोखरा–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सेवा सुविधाको अवस्था सुधार हुँदै गएको भएपनि डाक्टर भेट्न मुस्किल हुने सेवाग्राहीको गुनासो बढेको छ । अस्पतालमा हाल १५ सयदेखि २ हजारसम्म दैनिक बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल आउने बिरामीले एकै दिन जाँच सेवा, प्रयोगशाला तथा अन्य परीक्षण र औषधि लिएर भ्याउन मुश्किल हुने सेवाग्राही बताउँछन् । बिरामीको चाप बढी भएपनि नाम चलेका डाक्टरले सेवा नदिँदा ओपीडीमा बिरामीले लामो प्रतीक्षा गर्नुपरेको पोखरा–२५ का खेमराज पराजुलीले गुनासो गरे ।

पर्वत स्थायी घर भई पोखरा बस्दै आएकी पार्वती चापागाईंले ओपीडी प्रतीक्षा कक्षमा भनिन्, ‘बिहान ७ बजे आएको हो, साढे नौ बजेतिर २ वटा कोठामा डाक्टर आए । अरुमा आएका छैनन् । अब १ घण्टातिर पालो आउला कि ?’

मेडिकल ओपीडीको प्रतीक्षा कक्षमा बिरामी एक आपसमा कुराकानी गर्दै डाक्टरले बिरामी जाँचमा बेवास्ता गर्ने र भाग्ने गरेको आरोप लगाइरहेका हुन्छन् । अस्पतालले ९ बजेदेखि ४ बजेसम्म बिरामी जाँच समय र बीचमा १ देखि २ बजेसम्म खाजा समय भने पनि तोकिएको समयमा डाक्टरहरु भेट्न नसकिने गरेको सेवाग्राहीको गुनासो छ । पालो कुर्नेहरु भन्दै थिए, ‘९ बजे भन्छन्, साढे ९ बजे पनि आउँदैनन् । पछि १ बजे खाजा समय भन्छन्, पहिले नै निस्कन्छन् । ४ बजेसम्म भन्छन्, ३ नबज्दै कुदिहाल्छन् ।’

पोखरा–२३ की हरिमाया विकले भनिन्, ‘यहाँ त बल्ल–बल्ल भित्र पुग्यो । ल जाँचेर आउनुस् भन्छन्, डाक्टरले कुरै सुन्दैनन् ।’ यता अस्पताल प्रशासन भने डाक्टरहरु सेवा समयमै भाग्ने गरेको कुरा सही नभएको बताउँछ । अस्पतालका सूचना अधिकारी सुमन भट्टराईकाअनुसार मेडिकल ओपीडीमा तीन युनिट खटाउने गरिएको छ । एउटा युनिट राउन्डमा जान्छ, दुई वटा युनिट ओपीडीमा बस्छन् । ओपीडीको युनिट हाफ टाइमपछि राउन्डमा जान्छ । राउन्डको युनिट ओपीडीमा फर्किन्छ । इन्डोस्कोपी गर्ने डाक्टर पनि उनै हुन् । पाँच वटा कक्षमा ५÷७ जना डाक्टर त भइरहन्छन् ।

‘२ वा ४ नम्बर कोठामा कहिले–कहिले भएनन् भने डाक्टर छैनन् भन्ने पर्ला, त्यस्तो होइन । ३ वा ५ नम्बर कोठामा पनि जँचाउन मिल्छ,’ उनले भने, ‘सबै कोठामा सधैं डाक्टर नहुन सक्छन्, मानौं ४ नम्बर कोठामा कार्डियोलोजिस्ट डाक्टर बस्नुभो, क्याथ ल्याबमा इमर्जेन्सी एन्जीओ गर्नुपर्ने हुन्छ, कार्डियोको सबै डाक्टर क्याथ ल्याबमा जानुपर्ने हुन्छ, ४ नम्बर त खाली हुन्छ । आईसीयुमा जानुपर्ने हुनसक्छ । त्यो बेला खाली हुन्छ, त्यो केसमा अर्काे कक्षमा पनि ओपीडी बिरामीले जाँच गराउन सक्नुहुन्छ ।’

कुनै डाक्टर भएको ओपीडी कक्षमा लामो समय प्रतीक्षा गरेरै जाँच गराउने बिरामी पनि छन् । डा. शरद् बराल सबै नियममा रहिदिने हो भने समस्या नहुने बताउँछन् । उनी पालो मिचेर नआउन र पालो पर्खेर आफ्नो जाँच गराउन आग्रह गर्छन् । खाजा समय १ देखि २ बजेसम्म प्रतिष्ठानका कक्षा सञ्चालन गरेर सेवा अवधि बढाइएको डा. बराल बताउँछन् । नियम बसाउन कठिनाइ भएको उनको भोगाइ छ ।

अस्पतालका निर्देशक डा. भरतबहादुर खत्री अस्पतालमा सबै प्रकारले सेवा दिन लागि परेको बताउँछन् । आकस्मिक बिदाका दिन डाक्टरलाई अलाउन्सको व्यवस्था गरेर अस्पताल खोल्नुको उद्देश्य बिरामीलाई सेवा दिनु भएको उनको भनाइ छ । आकस्मिक बिदाको दिनमा सेवा दिँदा यसअघि ११ सय हाराहारीले सेवा लिएको उनी बताउँछन् ।

अस्पतालको टिकट काउन्टर, भिडियो एक्स–रे, ल्याबलगायत ठाउँमा टोकन सिस्टम सञ्चालन गरिएको छ । भिडियो एक्स–रेका लागि पहिलेजस्तो पालो कुर्नु नपर्ने निर्देशक डा. खत्री बताउँछन् । एमआरआई र दाँतको आरसिटीका लागि भने डेढ महिनाजति कुर्नुपर्ने उनको भनाइ छ । २ वर्षअघि नै सकिनुपर्ने रेट्रो फिटिङको काम नसकिँदा सेवा थप, सुधार र सञ्चालनमा बाधा पुगेको डा. खत्री बताउँछन् । ‘आईसियु र मेडिकल वार्ड एक्सपान्डको योजनामा छौं । तर, ठाउँको अभावमा सकिएको छैन,’ उनले भने ।

औषधि नपाए रिसाउने, अनावश्यक जाँचको माग गर्ने र डाक्टरले पनि रिसाउँछन् भन्दै लेखिदिँदा चुस्त सेवा प्रवाहमा केही जटिलता भएको उनको बुझाइ छ । स्वास्थ्य बिमा भएपछि अनावश्यक जाँचको पनि माग गर्ने समस्या भएको र सह–भुक्तानीका कारण केही नियन्त्रण हुने अस्पताल प्रशासनको विश्वास छ ।

डायलाइसिस सेवाका लागि ५० जनाले पर्खिरहेका छन् । डा. खत्री अस्पताल र ठाउँ साटेर भए पनि सेवा दिन आफूहरु तयार भएपनि बिरामी नमानेको बताउँछन् । ‘अप्रेशन थिएटर ७ वटा छन् । प्रत्येक डिपार्टमेन्टको सातामा ५ दिन गर्ने योजना छौं,’ उनले भने, ‘हामीले थिएटर एक्सपान्ड गर्ने योजनामा छौं । त्यसरी पनि भएन भने मणिपाल र जिएमसी रिफर गरेर भएपनि छिटो सेवा दिन प्रतिबद्ध छौं ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ