२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमध्यविन्दु अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. जितेन्द्र

मध्यविन्दु अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. जितेन्द्र


पोखरा—मध्यविन्दु जिल्ला अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्टका रुपमा डा. जितेन्द्र कँडेल पुगेका छन् । म्याग्दीको बेनी अस्पतालमा मेसु रहेका उनी आइतबारदेखि मध्यविन्दु जिल्ला अस्पतालमा हाजिर भएका हुन् ।

डा. कँडेलको कामबाट अस्पतालले फड्को मार्ने विश्वास गरिएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदी डा. जितेन्द्र मेसुका रुपमा आएकाले अब सबै काम सहज हुने र ५० शैय्याको अस्पतालको रुपमा सबै सेवा विस्तार गर्ने काम हुने विश्वास व्यक्त गरे ।

‘उहाँ गत वर्ष संघीय सरकारले उत्कृष्ट कर्मचारीका रुपमा १ लाख राशीको पुरस्कारबाट पुरस्कृत व्यक्ति हुनुहुन्छ । बेनी अस्पताल पनि प्रदेशमा उत्कृष्ट नै छ । अब मध्यविन्दुको पनि सुधार अवश्य होला,’ उनले भने ।

मध्यविन्दुको मेसु भएलगत्तै डा. कँडेलले अस्पतालको अवस्था र तत्काल गर्नुपर्ने कामबारे अस्पताल व्यवस्थापन समिति तथा कर्मचारीहरुसँग छलफल गरेका छन् । ‘मौखिक रुपमा ५० शैय्याको भने पनि आधिकारिक रुपमा कुनै कागजात फेला परेन । ५० शैय्याको अस्पतालले दिनुपर्ने पूर्ण सेवा दिन कठिनाइ रहेको छ,’ डा. जितेन्द्रले भने, ‘५० शैय्याको अस्पतालमा छुट्टाछुट्टै विभाग हुनुपर्नेमा त्यस्तो छैन । यिनै कुराहरुलाई पहिलो चरणमा समाधान गर्ने गरी काम गर्छु ।’

लमजुङ र मध्यविन्दु अस्पताललाई ५० शैय्या बनाउने भनिएको थियो । डा. कँडेलकाअनुसार मध्यविन्दुमा ५० शैय्या सम्बन्धी कागजात नभेटेकाले अस्पतालले आधिकारिक पत्र माग गर्दै तत्काल पत्राचार गर्नेछ ।

डा. कँडेलले आफ्नै जिल्लाको अस्पताल मध्यविन्दुलाई उत्कृष्ट बनाउन थप पहल गर्ने प्रतिबद्धता जनाए । ‘अहिले नै के के गर्ने भन्ने पूर्ण तयारी गर्ने समय त भएको छैन । कर्मचारी व्यवस्थापन र छुट्टाछुट्टै विभाग बनाएर सेवा दिने पहिलो प्राथमिकताका विषय हुन्,’ उनले भने ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ