२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशलमजुङ अस्पतालमा ईएमआर पाइलट प्रोजेक्ट सुरु

लमजुङ अस्पतालमा ईएमआर पाइलट प्रोजेक्ट सुरु


पोखरा—गण्डकी प्रदेशको लमजुङ जिल्लामा ईएमआर (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) पाइलट प्रोजेक्ट सुरु भएको छ । सोमबार प्रदेशकी स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले ईएमआर प्रणाली तथा प्रयोगशाला सेवा शुभारम्भ गरिन् ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले प्रदेशमै पहिलोपटक ईएमआर प्रणाली सुरु गरिएको बताइन् ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालका महानिर्देशक खिमबहादुर खड्काले लमजुङ अस्पताललाई पाइलट प्रोजेक्ट सञ्चालनका लागि रोजिएको बताए ।

ईएमआर सेवा सुरु भएपछि लमजुङ अस्पतालबाट उपलब्ध हुने सेवा सबै डिजिटल माध्यममा देखिने भएको छ । टिकटिङ, बिलिङ, डाक्टरको उपलब्धता, शैय्याको अवस्था, औषधीलगायत विवरण ईएमआर प्रणालीमार्फत् जानकारी लिन सकिने अस्पतालका मेट्रोन अञ्जना पौडेलले जानकारी दिइन् ।

उनका अनुसार पछिल्लो समय डेंगी ज्वरोका बिरामीको अधिक आउने गरेका छन् । आईसीयु सेवा चाहिने दम लगायतका जटिल बिरामीलाई रिफर गर्नुपर्ने भएपनि अन्य सेवा अस्पतालमा उपलब्ध भएको उनले बताइन् । ‘जटिल केस रेफर गर्नुपर्ने भए पनि अन्य उपचारका लागि कन्सल्टेन्ट सेवा अस्पतालमा छ,’ उनले भनिन्, ‘अस्पताल गत कात्तिकमा प्रदेश सरकार मातहत ल्याइएको थियो ।’

प्रदेश सरकारले इएमआर पाइलट प्रोजेक्टको रुपमा लमजुङमा सञ्चालन गरेको भएपनि पोखराको संक्रामक तथा सरुवा रोग अस्पतालमा प्रदेशमै पहिलो पटक डब्लुएचओको सहयोगमा ईएमआर प्रणाली जडान गरेको थियो । ईएमआर प्रणाली सुरु भएसँग बिरामीलाई विगतदेखि वर्तमानसम्मका विवरण सजिलै उपलब्ध हुनेछन् भने फाइल बोकेर हिँड्नुपर्ने बाध्यता हट्नेछ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ