२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरामा पहिलोपटक गरियो ओपन हार्ट सर्जरी, अब नियमित हुने

पोखरामा पहिलोपटक गरियो ओपन हार्ट सर्जरी, अब नियमित हुने

चरक अस्पतालले मिर्गौला प्रत्यारोपण र आईभीएफ सेवा निकट भविष्यमै सुरु गर्ने


पोखरा-पोखराको चरक मेमोरियल अस्पतालमा छाती चिरेर गरिने मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) सुरु भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्डियोभास्कुलर सर्जन डा अनिल भट्टराई नेतृत्वको टिम र चरक मेमोरियलको संयुक्त टिमले ओपन हार्ट सर्जरी गरेको अस्पतालका म्यानेजिङ डाइरेक्टर कपिल पोखरेलले जानकारी दिए ।

पोखरा २० भलामका ४५ वर्षीय विष्णु गौतमको ओपन हार्ट सर्जरी गरिएको हो । उनी मणिपाल शिक्षण अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गएर उपचार गराउँदा पनि निको नभएपछि चरक मेमोरियल पुगेका थिए । चरक पुगेपछि मात्रै मुटुको भल्बमा समस्या भएको थाहा भएको थियो । शल्यक्रियाका लागि काठमाडौंमा लैजाने तयारी हुँदै गर्दा चरक मेमोरियल अस्पतालले पोखरामा शल्यक्रिया गर्न सकिने जानकारी गौतम परिवारलाई दिएको थियो ।

शल्यक्रियाका लागि त्रिविअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सिटीभिएस विभागका प्रमुखसमेत रहेका वरिष्ठ मुटु सर्जन डा. अनिल भट्टराई नेतृत्वको टोली पोखरा आएको थियो । डा. भट्टराईको टिमले शुक्रबार गौतमको ओपट हार्ट सर्जरी सफलतापूर्वक सम्पन्न गरेको हो । टोलीमा सिटीभीएस सर्जन डा. अनिल भट्टराई, डा. कृष्णप्रसाद बस्यालसहित डा. अर्जुन गुरुङ, डा. मणिन्द्र बस्नेतलगायत चरक अस्पतालको टिम सहभागी थियो ।

गौतमको मुटुको शल्यक्रिया गर्न करिब ३ घन्टा लाागेको थियो । अस्पतालका निर्देशक पोखरेल ३ देखि ५ घन्टामा मुटुको शल्यक्रिया गर्न सकिने बताउँछन् । उनले भने, ‘पोखरामा जनशक्तिको अभाव छ । पोखरामा ओपट हार्ट सर्जरी गण्डकी प्रदेशमै पहिलोपल्ट गरिएको हो ।’ यो सुविधासँगै अब आगामी दिनमा काठमाडौंलगायत बाहिरी मुलुक जानुपर्ने नहुने उनको भनाइ थियो ।

डा.भट्टराईले गौतमको मुटुको शल्यक्रिया जटिल शल्यक्रियाअन्तर्गत पर्ने बताए ।

चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले चरक अस्पतालमा अबदेखि नियमित रुपमा ओपन हर्ट सर्जरी हुने बताए । उनले भने, ‘ओपन हर्ट सर्जरी आकस्मिक रुपमा गरिने कुरा होइन् । यो योजना बनाएर गर्ने कुरा हो । प्रविधि र जनशक्ति दुवै मिलाएर हामी नियमित रुपमा गर्दै जान्छौं ।’ उनले चरक अस्पतालमा मुटुको उपचारका लागि सरकारले दिने एक लाख रुपैयाँको सुविधा पनि रहेको उल्लेख गरे ।

उनका अनुसार अस्पतालले मुटु उपचारका लगायत होपन हार्ट सर्जरी सुविधा थप्न १५ करोड लगानी गरेको छ । हर्ट लङ मेसिनलगायत ओपन हर्ट सर्जरीका लागि ३ करोड खर्च भएको छ । ओपन हार्ट सर्जरी गर्न ५/६ लाख रुपैयाँ खर्च लाग्छ तर गौतमको शल्यक्रिया भने चरक मेमोरियलले निःशुल्क गरिदिएको हो ।

ओपन हर्ट सर्जरी काठमाडौंको शहीद गंगालाल हृदय रोग केन्द्र बाँसबारी, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, चितवन, विराटनगर र धरानमा हुँदै आएकोमा पोखरामा चरक मेमोरियलमा थप भएको हो ।

चरक मेमोरियलले छिट्टै इन्फर्टिलिटी सेन्टर र किड्नी प्रत्यारोपण सेवा थप गर्ने तयारी गरेको म्यानेजिङ डाइरेक्टर पोखरेलले जानकारी दिए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ