२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवौं मिर्गाैला प्रत्यारोपण

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवौं मिर्गाैला प्रत्यारोपण

प्रतिष्ठानले आफ्नै जनशक्तिबाट पहिलो पटक गर्‍यो मिर्गौला प्रत्यारोपण


पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नवौं पटक मिर्गाैला प्रत्यारोपण सफल भएको छ । बिहीबार अस्पतालको जनशक्तिबाट मात्रै पहिलो पटक प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।

मिर्गाैला प्रत्यारोपणका लागि करिब ७ घण्टा लागेको अस्पतालका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए । अस्पतालका अनुसार व्यास—१० की ३५ वर्षीया सम्झना गुरुङको मिर्गाैला प्रत्यारोपण गरिएको हो । सम्झनालाई उनकी दिदी सुन्दरबजारकी सुमीना गुरुङले मिर्गाैला दिएकी थिइन् ।

सिनियर कन्सल्टेन्ट युरोलोजिस्ट डा. प्रकाश क्षेत्री तथा अनुप चापागाई, नेफ्रोलोजिस्ट डा. जुजुराम श्रेष्ठ, डा. अमृत केसी, जनरल सर्जन डा. डेभिड श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ, एनेस्थेसियोलोजिष्टहरु डा. रोहिणी सिग्देल, डा. माया लामा, डा.सनीस गुरुङ, डा. अनिल न्यौपानेलगायत १० जना र स्टाफ नर्सको टिमले सफल मिर्गाैला प्रत्यारोपण गरेको भट्टराईको भनाइ छ ।

मिर्गाैला प्रत्यारोपण गरेका व्यक्ति करिब १ हप्तामा डिस्चार्ज हुनेछन् । ट्रान्सप्लान्ट आईसीयु केयरमा स्टाफ नर्सहरु गीता तिवारी, रन्जिता पौडेल, सुस्मा ढकाल, विशाखा पण्डित, नरमाया पुन, श्रुति श्रेष्ठ र आरती पुनको टिमले काम गरिरहेको छ ।

वि.सं. २०७९ को असारमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहयोगमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रत्यारोपण सुरु गरिएको थियो । यसपटक आफ्नै जनशक्तिबाट प्रत्यारोपण गर्न सफल भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी भट्टराई नियमित प्रत्यारोपण गर्ने योजना भएको सुनाउँछन् । ‘हरेक हप्ता एक प्रत्यारोपण गर्ने प्रयास हो । अहिलेको बिरामी रिकभर भएर गएपछि अर्काे गर्न सकिन्छ,’ उनले भने ।

अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरेका बिरामीले चार लाखसम्म सहुलियत पाउने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ