२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारलकडाउनलाई खुकुलो बनाउँदा न्यूनतम सुरक्षा प्रवन्ध कसरी गर्ने ?

लकडाउनलाई खुकुलो बनाउँदा न्यूनतम सुरक्षा प्रवन्ध कसरी गर्ने ?


सर्वप्रथम यो लकडाउन हामीले कोरोना प्रकोपबाट बच्न वा संक्रमणबाट बच्नको निम्ति अपनाइएको एक उचित महत्वपूर्ण व्यवस्थापन हो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सहज रुपमा संक्रमण नहोस् भनेर भाइरसको चेन चुडाउने विकल्प पनि हो । किनकी हाल हामीसँग यो संक्रमणलाई रोक्ने अरु कुनै पनि किसिमको प्राविधिक उपाय छैन । संक्रमण रोक्ने कुनै सांकेतिक उपाय पनि छैन । हाल हामीसँग भएको एउटै मात्र उपाय एकबाट अर्काेमा सर्न अवरोध सिर्जना गर्नु हो । अवरोध सिर्जना गर्ने विभिन्न विकल्प भएतापनि मास स्केलमा गर्न सक्ने भनेको यहि लकडाउन नै हो ।

यो त हामी सबैले बुझेको कुरा हो । तर, यसबाहेक प्रमुख सवाल के हो भने लकडाउनले एक आपसबाट हुने संक्रमणलाई त रोक्छ नै, सँगसँगै यसले जीवनका अन्य पक्षहरुमा समेत गहिरो प्रभाव पार्दछ । हामीले दुवै पक्षको उचित व्यवस्थापनमा ध्यान दिनुपर्छ । झण्डै डेढ महिनादेखि लकडाउनमा छौं । अब लकडाउन खोल्नलाई संक्रमणको चलायमान पाटो कहाँ पुग्यो ? र, यसको गतिशीलता कस्तो रह्यो ? भन्ने विषयमा प्रमुख रुपमा चनाखो भएर सोच्नुपर्छ । हाम्रो प्रमुख उद्देश्य भनेकोे संक्रमणलाई रोक्नु हो । तर, कहिलेकाहीं लकडाउनका कारण यसले हाम्रो दैनिकीमा कस्तो प्रभाव परिरहेको छ, त्यो पनि विचार गर्नुपर्छ ।

लकडाउनले स्वास्थ्य संक्रमणको चेनलाई टुटाइदिनुका साथै आर्थिक पक्षमा समेत प्रभाव पारेको हुनाले यसलाई खोल्नुप¥यो भन्नेजस्ता बहसहरु उठ्छन् । तर, संक्रमण रोक्नका लागि अपनाइएको उक्त बहस यस अवस्थामा तर्कपूर्ण छजस्तो भने मलाई लाग्दैन । किनभने, यसको प्रमुख उद्देश्य भनेको संक्रमण रोक्नु हो । त्यसैले यसको नकरात्मक प्रभावलाई व्यवस्थापन गर्न सक्नुपर्छ । अनि मात्रै त्यो लकडाउनको अर्थ हुन्छ । त्यसैले अहिले लकडाउन खोल्ने सम्बन्धमा हाम्रोमा संक्रमणको अवस्था कहाँ छ ? यसको चलायमान कहाँनेर पुगेको छ ? भन्ने विषयको आधारमा लकडाउन खोल्नपर्ने धारणाको विषयमा सरकारी क्षेत्रमा बहस भएको छ ।

किनकी, हामी साँच्चै नै संक्रमण घट्ने क्रममा छौ त ? हो, यी कुराहरुका आधारमा ‘लकडाउन खोल्ने कि नखोल्ने अथवा लकडाउन कति लम्ब्याउने’ भन्ने विषयको निर्णय गर्नुपर्छ । तर, हाम्रो सन्दर्भमा त्यो बहस भने थोरै मात्र हुन सकेको छ । हामीले गन्ती त गरिरहेका छौं, संख्या थोरै होस् वा धेरै होस् । हामीले हाम्रो संक्रमण फैलने गति कस्तो छ र दर कति हो ? त्यसको चाहिँ अहिलेसम्म हिसाब नै गरेका छैनौ । यो गति हाम्रो जनसंख्याको आधारमा एकदमै द्रुत गति हो कि? यो निकै नै सुस्त स्तरमा हो कि? अथवा अन्य देशको तुलनामा यो निकै सुस्त हो कि? त्यो हामीलाई थाहा छैन । अझ थाहा छैन भन्दा पनि हामी यसको मुल्याङ्कन स्थापित गर्न खोजिरहेका छौं ।

नेपालमा संक्रमण फैलने गति तुलनात्मक रुपबाट स्लो (सुस्त)नै हो । द्रुत गतिमा फैलिएको र संक्रमण भएको जस्तो चाहिँ मलाई लाग्दैन । संक्रमणको रेट हाम्रोमा अत्यन्तै न्युन छ भन्ने मलाई लाग्छ । किनभने, हाम्रोमा आयातीत केसहरु अझ पनि बढी छ । आयातीत केसको तुलनामा ती केसहरुले देशमा नै संक्रमण गराएको थोरै देखिएको छ । सैद्धान्तिक रुपमा हेर्दाखेरि अत्यन्तै देखिनुपर्ने हो । तर, त्यो देखिएको छैन । यस अर्थमा यो कम गतिमा संक्रमण भएको हुनाले चाँडै नै लकडाउन खोल्ने आधार दिन्छ जस्तो लागछ मलाई । तर, यो विषयमा बहस पर्याप्त हुन सकेको छैन । कम्तिमा सरकारी तहबाट हामी यस्तो स्थितिमा छौ भनी एउटा आधिकारिक संकेत दिन सकेको भए धेरै राम्रो हुन्थ्यो । तर, हामी खाली संख्या मात्रै गनेर बसेका छौं ।

जहाँसम्म लाग्छ, यो लकडाउनका विभिन्न स्टेजहरु हुन्छ । अहिले हामी भनेको यसको चौथो चरण (फोर्थ स्टेज)मा छौं । चौथो चरण भनेको जस्तोः कम्प्लिट (पूर्ण रुपमा) लकडाउन हो । तसर्थ, हामीले अहिले नै यो कम्प्लिट लकडाउनबाट यसलाई पूर्ववत रुपमा एकै पटक बनाउन सक्ने स्थितीमा छैनौ । यसकारण हामीले लकडाउनलाई एउटा फेजवाइज ढंगबाट लान सकिन्छ । एउटा समयपश्चात् खोल्ने लकडाउन हामीलाई ‘कम्प्लिट ब्रेक’ गर्ने अवस्था पनि होइन । हामीले अझै पनि दूरी कायम गर्ने प्रावधानहरुलाई जोगाउनैपर्छ । जस्तो अबको लकडाउन खोल्दा यातायात आंशिक रुपमा खोल्न सकौला ।

यस्तै, आर्थिक कारोबार हुने संघसंस्थाहरुलाई आंशिक रुपमा सञ्चालानमा ल्याउन सकौला । तर, हामीले एकदम ठूलो मास वा जमघट हुने ठाउँहरुलाई भने अझैपनि हामीले खोल्ने बेला भइसकेको छैन । तसर्थ, सुरक्षाका केही प्रावधानहरु हुनैपर्छ । यस्तै, पसलहरु खोल्ने व्यवस्था ग¥यौ भने त्यहाँ पनि हामीले एउटा निश्चित सुरक्षाका प्रावधानहरु नअपनाई खोल्ने कुरै हुँदैन । दूरी कम राख्ने, भिडहरुलाई न्यून राख्ने, र सम्भव भएसम्म यो सम्पर्कहरुलाई अझ न्यून गराउने, उचित दूरी कायम गर्ने, सहि कुरालाई यथावत् राख्नेजस्ता कुराहरुलाई हामीले छोड्ने बेला भने भइसकेको छैन ।

अस्पतालमा सेवा व्यवस्थापन

सुरुवातदेखि कोरोना भाइरसको प्रकोप भनेको हाम्रो पछिल्लो तीन महिनामा थपिएको थप समस्या मात्रै हो । यसबाहेक हामीले दिनहुँ भोगिरहेको हाम्रो समस्या त यथावत् नै छ । र, ती समस्याहरु पनि अझ घटबढ हुने स्थितिमा छ । यस्तै अब केही समयपश्चात् हामी कहाँ देखापर्ने सिजनल समस्याहरु पनि देखा पर्न सक्छ । गत वर्ष हामीले डेंगु महामारीको प्रकोप पनि भोगेका थियौ । अब त्यसको याम पनि आउन बाँकी नै छ । तसर्थ, हामीले प्रत्येक वर्ष भोग्ने झाडापखाला, हेपटाइटिस र टाइफाइडजस्ता समस्याहरु आउदैंछन् ।

यी तमाम समस्याहरु हामीमा ज्यू काँ त्यु त छन् नै । कोरोना भाइरस थप समस्या भएकाले यसलाई समाधान गर्न वशेष रुपमा सेवाका प्रावधानहरुको व्यवस्थापन गर्नुपर्छ । त्यसलाई हामीले नियमित रुपमा सेवाका संरचनाहरुमा यसलाई मिलाउन हुँदैन । यस विषयमा हाम्रो विशेष रुपमा तयारी हुनुपर्छ । हाम्रो निम्ति सौभाग्यको कुरा के हो भने हाम्रोमा हालसम्म पहिचान गरेका केसहरु ५८ वटा मात्र छन् । तसर्थ, यसका लागि केन्द्रमा होस् वा प्रदेशमा अझ सकिन्छ भने तल्लोस्तरमा हामीले सानो—सानो स्केलहरुमा यसलाई केन्द्रित छुट्टाछुट्टै अस्पतालहरुको व्यवस्थापन गर्नुपर्छ । हामीले बारम्बार भनेका कुरा पनि नियमित अस्पतालहरुमा हामीले यसलाई मिसाउनु हुँदैन भन्ने यहि नै थियो ।

तर, अब अहिले समस्या कस्तो भइराखेको छ भने नियमित अस्पतालहरुमा नै कोभिड—१९ का बिरामी राख्ने भनेर आइसोलेसन बेडको व्यवस्था गरिराखेको छ । यसले गर्दा ती अस्पतालहरुले नियमित रुपमा प्रदान गर्ने सेवाहरु कुनै न कुनै ढंगले प्रभावित भएका छन् । हाम्रो व्यवस्थापनको रणनीति कहीँ कतै हामीले सोच्नुपर्ने हो कि भन्ने लाग्छ । यो कुल संख्यामा हामीले कति प्रोजेक्ट गर्नुपर्छ । त्यो अनुसारको तयारी गरेर हाम्रो नियमित सेवाहरुलाई कुनै पनि अर्थमा प्रभावित हुन दिनु हुँदैन भन्ने योजनाअनुसार लानुपर्छ । हामीले गरिरहेको र गर्नुपर्ने रणनीति केही फरक रह्यो कि भन्नेतर्फ बेलैमा सोच्नु पर्छ ।

अहिले धेरै अस्पतालहरुमा नियमित सेवाहरु प्रभावित भएका छन् । भोलि सामान्य लकडाउन खुल्दै गर्दा पनि मानिसहरु हुलका हुल अस्पताल आउने अवस्था हुन सक्छ । अहिले त रोक्न सक्ने सम्भावना भएर मात्रै रोकी राखेको हो । तर, भोलि केही इमर्जेन्सी अवस्थाहरु आइपर्दा लकडाउन भएतापनि मानिसहरुले बाहिर त निस्किन्छन् नै । घरमै मर्न त सक्दैनन् नि ! सम्भव भएसम्म है ! तर, केही पनि प्रावधान भएन भने घरमै लुकेर बस्नुपर्ने अवस्था पनि आउँला । अहिले मानिसहरुले धानिरहको जेनतेन घरमै औषधी खाएर पनि सकिन्छ भने बाहिर नजाऔं भन्ने भएर पनि रोकी राखेको अवस्था हो ! तर, सधैभरि यहि अवस्था पनि रहिरहँदैन ! भोलि त्यस्तो अवस्थामा आएपछि मानिसहरुले लकडाउन तोड्ने अवस्था पनि आउँछन् !

लकडाउन खुकुलो कसरी पार्ने ?

नियमित स्वास्थ्य समस्याहरु आम मानिसले भोगिरहेका छन् र त्यसको सेवा अस्पतालबाट लिइरहेका छन् । ती सेवाहरु चाहिँ कोरोना भाइरसको कारण प्रभावित हुनु भएन । त्यस्तो व्यवस्थापन गर्नुपर्छ । अन्यथा भोलिका दिनमा त्योभन्दा चर्काे समस्या आउन सक्छन् । यसबाहेक नियमित सभा तथा भेलाहरुलाई हामीले त्याग्नै प¥यो । संक्रमण जति नि रोक्ने प्रावधानहरु छन्, ती प्रावधानलाई चलायमानको निम्ति केही खुकुलो पार्ने मात्रै हो । तर, ती प्रावधानहरुलाई हामीले कम्प्रोमाइज गरेका भने होइनौं ।

त्यसैले भीडबाट टाढा रहनेदेखि अन्य व्यक्तिको सम्पर्क तथा स्पर्शमा रहनेजस्ता सबै कुराहरुलाई हामीले नियन्त्रण गर्नुपर्छ । यस्तै, सरसफाइमा हामीले उत्तिकै ध्यान दिनुपर्छ । यससँगै केही वस्तु छुनु हुँदैन, हात धुने र मास्क प्रयोग गर्ने कुरामा कम्प्रोमाइज पटक्कै गर्नु हुँदैन । तर, अहिलेको तुलनामा अलिकति चलायमान त बढ्छ । र, सार्वजनिक सेवाहरु पनि छोडिन्छ । अहिले ठप्प भएको तुलनामा अलिकति खुकुलो गर्ने मात्रै हो । स्वास्थ्य सेवाहरुको विषयमा नियमित स्वास्थ्य सेवाहरु प्रभावित हुनु भएन । यससँगसँगै अब थप नियमित देखापर्ने प्रकोपका समस्याहरु देखिने सम्भावनाहरु छ, त्यसको पनि असाध्यै तयारी गर्नुपर्छ ।

यातायात लामो दूरी या छोटो दूरीमा कडाइ गर्ने भन्ने व्यवहारिक कुरा मात्र हो । तर, दुवै सुरक्षित हुनुपर्छ । हामीले सुरक्षाका प्रावधान अपनाएनौ भने छोटो दूरी पनि जोखिमपूर्ण छ । जस्तो हवाई जहाजमा आउँदा हाम्रो १० देखि १२ घण्टाको लामो फ्लाइट हुन सक्छ । तर, उक्त १०÷१२ घण्टाको अवधिमा पनि त्यहाँभित्र मुविलिटी (गतिविधि) नहुने तथा स्पर्श कम हुने भएकोेले उक्त जहाजको यात्रा सुरक्षित हुन्छ । तर, बसको कुरा गर्नुपर्दा बस ठाउँ—ठाउँमा रोक्ने, खाजा खुवाउने, पिसाबको निम्ति रोक्ने गर्दा त्यहाँ भित्रको जुन गतिविधि हुन्छ, त्यो अत्यन्तै असुरक्षित हुन्छ ।

२/३ घण्टाको मात्रै यात्रा भएतापनि बीचमा चिया खानको निम्ति रोकिदिदा त्यो के हुन्छ? रोक्न आवश्यक भएतापनि हामीले त्यहाँ सुरक्षाका प्रावधानहरु अपनाउन त सक्छौं ! त्यसकारण लामो र छोटो दूरीभन्दा पनि बढी त्यहाँ भित्र कसरी सुरक्षाका प्रावधानहरु अवलम्बन गरेका छन् ? त्यसमा भर पर्छजस्तो मलाई लाग्छ । र, त्यहाँ चाहिँ हामीले कम्प्रोमाइज गर्न हुँदैन । किनभने, चलायमान त हामीले हाम्रो आवश्यकताका लागि खोलेका हुन्छौं । तर, यसको मतलब संक्रमणको सम्भावनालाई छुट दिनु भने हुँदैन् ।

(डा. वन्तसँगको कुराकानीमा अधारित)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ