२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोभिड—१९ : पर्यावरणका लागि वरदान

कोभिड—१९ : पर्यावरणका लागि वरदान


न् २०१९ डिसेम्बरको अन्त्यमा चीनको वुहान सहरलाई ‘इपिसेन्टर’ बनाएर फैलिएको कोरोना भाइरस (कोभिड—१९)बाट अहिले विश्वभर ६० लाखभन्दा बढी संक्रमित भएका छन् । झण्डै चार लाखको हाराहारीमा मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

द्रुत फैलिने प्रकृति भएको कोभिड—१९ भाइरसका कारण विश्वका अधिकांश देशहरुले लामो समय लकडाउन गरे । केही देशमा पछिल्ला दिनहरुमा खुकुलो बनाइएको भएपनि अहिले पनि धेरै देशहरुमा लकडाउन यथावतै छ । सामाजिक दूरी मानिसहरुको जनजिब्रोमा कोभिड—१९ कै कारण झुण्डिन थालेको हो । यो भाइरस निको पार्न सकिने कुनै खोपको आविष्कार नभएका कारण अहिलेसम्म कोभिड—१९ विरुद्ध लड्ने ब्रहामास्त्र भनेकै लकडाउन र सामाजिक दूरीजस्ता बनेका छन् । तर, यी हतियार पनि पूर्णतयाः कामयावी भने देखिएका छैनन् ।

लामो समयदेखि जारी लकडाउनका कारण संसारभर यातायात, उधोग, विद्यालय सिनेमा हल, होटल, रेष्टुरेन्ट बन्द छ । सार्वजनिक र धार्मिक कार्यहरु बन्देज लगाइएको छ । मानिस घर भित्र बन्द अवस्थामा छन् । अहिले सामाजिक, आर्थिक रुपमा समाज उकुसमुकुसको अवस्थामा छ । अधिकांश राष्ट्रका आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिहरु ठप्पप्रायः छन् ।

मानिस घरभित्र खुम्चिएका बेला उसका गतिविधीहरुमा कमी आएको छ । यससँगै सहरमा धुलोधुँवाबाट उत्पन्न प्रदूषणका चक्रका कारण वर्षौसम्म नखुलेका आकाश छ्याङ देखिन्छ । टाढा—टाढा मनमोहक हिमालका दृश्यहरु अझ लोभलाग्दा छन् । चराहरुको चिरविर विहानै सबेरै कानमा गुन्जिन्छ । पछिल्ला केही वर्ष ‘मास्कमाण्डू’ बनेको काठमाडौंमा अहिले सुनमाण्डू बनेको छ । यहाँको हावामा विचरण गर्न अर्कै आनन्द आउँछ । सहर धुलोधुँवाको साम्राज्यमुक्त भएको छ । काठमाडौंमा पर्यावरण र वातावरणका लागि यसअघि नगरिएका कल्पनाहरु कोभिड—१९ सम्भावित फैलावट रोक्न गरिएको लकडाउनपछि यथार्थता बनेर सबैका आँखामा नाचिरहेका छन् ।

काठमाडौं मात्रै होइन्, संसारभरको पर्यावरण र वातावरणमा काफी सुधार देखिएका छन् । सफा, हराभर र स्वच्छता देखिन्छ । आदिमदेखि आधुनिक मानव समाजसम्म आइपुग्दा मान्छेले प्रकृति र प्राकृतिक स्रोतमाथि गरेको दोहनले वातावरणलाई कुरुप बनाएको थियो । वैज्ञानिक आविष्कारका नाममा आफ्नो विलासिताका लागि वातावरण विनास गर्दै आएको थियो । यसले मानवलाई बिलासिता त प्राप्त भयो तर प्रकृति, अन्य प्राणी र स्वयं मानिसको जीवनशैलीमा परेका गम्भीर असरलाई हेक्का गर्ने कसैसँग फूर्सद भएन ।

वर्तमान समयमा महामारीको रुपमा फैलिरहेको कोभिड—१९ मानव क्रियाकलापबाट उत्पन्न प्रदूषणको परिणामका रुपमा पनि लिन सकिन्छ । स—साना रसायनिक पदार्थहरुले वायुमण्डल निकै प्रदूषित भएको थियो । जसमा मुख्य रसायनिक पदार्थहरु कार्बनमोनोअक्साइड, सल्फरडाइअक्साइड र नाइट्रोजन अक्साइड रहेका हुन्छन्, जुन विभिन्न औधोगिक कलकारखाना तथा सवारी साधनबाट उत्पादन हुन्छन् । वायुमा पीएम २.५ माइक्रोग्रामभन्दा साना कणहरु कम भएमात्र हावा स्वच्छ मानिन्छ ।

विश्व इतिहासमा प्रदूषण इ.स. १००० मा इन्धनका रुपमा कोइला प्रयोग आएसँगै सुरु भएको देखिन्छ । प्रदूषण प्राकृतिक तथा मानव स्वयंमका व्यवहार तथा आवश्यकताका कारण उत्पन्न हुने गर्छ । प्रदूषणका ज्वालामुखी, डढेलो, भुकम्प आदि प्राकृतिक कारण हुन भने उधोग, कलकरखाना, फोहोरमैला आदि मानवीय कारकहरु हुन् । विश्व स्वास्थ्य संगठनकाअनुसार संसारभर प्रत्येक वर्ष ७ मिलियन मानिस घरायसी तथा बाहिरी प्रदूषणका कारण ज्यान गुमाउने गर्छन् । यसरी ज्यान गुमाउनेहरुमा मुटु, फोक्सो तथा श्वासप्रवास सम्बधी रोगबाट ९० प्रतिशत कम तथा मध्यम आय भएका (एसिया तथा अफ्रिका) ५ वर्षमू्नीका बालबालिका र महिलाहरुको ज्यान जाने गरेको छ ।

प्रकृतिमा बढ्दो मानवीय हस्तक्षेप र प्रदृ्षणलाई नियन्त्रण गरी आफ्नो साथसाथै पृथ्वीका अन्य प्राणीको समेत जीवन रक्षा गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती बन्न पुगेको छ । वातावरणमा भएको स्रोत साधनको उचित प्रयोगले प्रदूषणलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । वायुबाट उर्जा शक्तिको निर्माण, फोहोरमैलाको उचित व्वस्थापन, व्यवस्थित सहर, सौर्य शक्तिको प्रयोग, घरायसी इन्धनका रुपमा सौर्य सोलार तथा गोबर ग्याँस एवं ग्याँसको प्रयोग, विद्युतीय सवारीमा जोड, साइकलको प्रयोग, विषादीमुक्त खेतीपाती, वृक्षारोपण आदिका माध्यमबाट प्रदूषणको समस्या निराकरण गर्न सकिन्छ ।

कोभिड—१९ महामारीले मानवीय सभ्यतालाई संकटमा पारेतापनि प्रकृतिलाई सन्तुलनमा राख्न सहयोगी भूमिका खेलेको छ । विश्वमा सडक, हवाई यातायात शुन्य नै छ, उधोग कलकारखाना बन्द हुनाले प्रकृतिलाई ह्रास ल्याउने कार्वन उत्पादनमा कमी आएको छ । बीसीकाअनुसार सहरीकरण र औधोगिकीकरण कारण प्रकृतिमा ह्रास ल्याउने कार्वनमा उत्पादनमा प्रत्येक दिन १७ प्रतिशतले कमी आएको छ । विश्वको प्रदूषित सहरहरुमध्ये भारतमा ६ वटा पर्दछन् । दिल्लीको आकाश १० वर्षपछि निलो देखिएको छ भने यमुना नदी सफा पानी बगेको छ । वातावरणमा देखिएको यो नाटकीय सुधारलाई अस्थायी रुपमा लिइएको छ । सीएनएनको एक अध्ययनले उत्तरी भारतमा लकडाउनका कारण वायु प्रदूषणमा २० प्रतिशतले कमी आएको देखाएको छ । नासाकाअनुसार संयुक्त राज्य अमेरिकाका उत्तरी सहरहरुमा नाइट्रोजनडाइअक्साइड उत्पादनमा ३० प्रतिशतले कमी आएको छ ।

अस्ट्रेलियन एकेडेमी अफ साइन्सकाअनुसार बेलायतको लन्डन तथा एडिनवर्गमा गत वर्षको तुलनामा नाइट्रोजनडाइअक्साइड उत्पानमा ६० प्रतिशतले कमी आएको छ । एयर क्वालिटी इन्फर्मेसन र टेक कम्पनी आइक्युएरद्वारा जारी गरिएको एक रिपोर्टमा १० वटा विश्वका ठूला सहरहरुमध्ये ९ वटा सहरहरुमा हावामा रहने २.५ पीएम कणहरुमा २५ देखि ६० प्रतिशतले कमी आएको छ । कोरोना भाइरसको उदगमस्थल वुहान सहरमा लकडाउनको अवधिमा ४० प्रतिशतले वायु प्रदूषणमा कमी देखिनुले प्रकृतिलाई केही राहत महसुस गराएतापनि लकडाउनको अन्त्यसँगै विश्वमा फेरि प्रदूषण अझ ठृलो रुप लिन सक्ने चिन्ताहरु सुरु भएका छन् । उधोग, कलकारखाना सवारी साधनबाट निस्कने कार्वन, नाइट्रोजनडाइअक्साइड आदिले प्रकृतिमा मानव मात्र नभै अन्य प्राणीको स्वास्थ्यमा पनि गम्भीर असर पु¥याउँदैं आएको छ ।

तसर्थ, लकडाउनबाट शिक्षा लिदैं मानवीय क्रियाकलापनलाई वातावरणमैत्री बनाउनेतिर ध्यान केन्द्रित गर्नुपर्छ । वातावरणमा देखिएको यो नाटकीय परिर्वतनले वातावरणलाई सन्तुलन राख्न सकेको खण्डमा मात्र मानव समुदायमाथिका संकटहरु कम हुने सम्भावनाबोध गराएको छ । बढदो सहरीकरण, औधोगिकीकरण आदिले नाइट्रोजन, कार्बनडाइअक्साइड उत्पादन गरी स्वच्छ हावा प्रदूषित बनाउँछ । त्यो दूषित हावा मानव शरीरमा प्रवेश गरेर फोक्सोमा असर गरी श्वासप्रश्वासमा समस्या उत्पन्न गर्दछ । अहिलेको कोभिड—१९ पनि विशेषतः मानव शरीरको फोक्सोमा बाधा पु¥याएर श्वासप्रश्वास असर गरी मानिसको मृत्यु गराउन थालेको घटनाक्रमहरुले देखाउँछ । त्यसकारण कोभिड—१९ र प्रदूषण एकअर्का परिपुरकजस्ता पनि देखिन्छन् । तसर्थ, वातावरण सन्तुलन कायम गर्ने कर्तव्यबोध संसारका सबै देश र त्यहाँका नीति—निर्माताहरुले गर्न जरुरी भैसकेको छ । मानव सभ्यता बचाइराख्नका लागि पनि प्रकृतिलाई स्वच्छ, हराभरा र जीवन्त राख्नुपर्ने टड्कारो आवश्यकता छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ