२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला एक साताका लागि ‘लक डाउन’, शिक्षण अस्पताल जुम्लामा १५ बेडको आइसोलेसन

जुम्ला एक साताका लागि ‘लक डाउन’, शिक्षण अस्पताल जुम्लामा १५ बेडको आइसोलेसन


जुम्ला—विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नोवल कोरोना भाइरस रोगथामको पूर्वतयारीका लागि जुम्लामा एक हप्तासम्म ‘लक डाउन’ गरिने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा आइतबार बसेको विपद् व्यवस्थापन समितिले सोमबारदेखि एक साता जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड—१९) को उच्च जोखिममा भएको भन्दै जुम्लालाई चैत १० देखि १६ गतेसम्म लकडाउन गरिने भएको हो ।

रोजगारी र हिउँदे व्यापारमा भारत गएका जुम्लाका वासिन्दाहरु धमाधम घर फर्किन थालेपछि जुम्लामा कोरोना भइरसको उच्च जोखिम पनि बढेको हो । जुम्लामा मानिसहरुको चाप बढ्न थालेपछि कोरोनाको जोखिमबाट बचाउन लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । ‘अत्यावश्यक सामग्री व्यवस्थापन गर्न तथा क्वारेन्टाइन र आइसोलेसन सेन्टर सञ्चालन गर्न पनि समितिहरु गठन गरेका छौं’, उनले भनिन्, ‘जिल्लामा भिडभाड नगरिदिन नागरिकलाई समेत अपिल गरेका छौं ।’

उनकाअनुसार मानिसको भिडभाड कम गर्न तथा कोरोनाको प्रतिकार्य गर्नका लागि पनि ‘लकडाउन’ नीति आवश्यक भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक मंगल रावलले कोरोना संक्रमणको जोखिम र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै ‘लक डाउन’ निर्णय स्वागतयोग्य भएको बताए ।

हेल्थ डेक्स स्थापना, शिक्षण अस्पताल जुम्लामा १५ बेडको आइसोलेसन

आइतबार नै जुम्ला विमानस्थल तथा नाग्म जुम्लाको सिमाना नाग्ममा हेल्थ डेक्स स्थापना गरिएको छ । त्यसका साथै जुम्ला बहुमुखी क्याम्पसमा क्वारेन्टाइन राख्ने निर्णय पनि गरिएको छ ।

गाउँमा कुनै भोज भतेड, सभा सम्मेलन गर्न पाइने छैन । अत्याआवश्यक कामबाहेक सडकमा डुल्ने, बजारमा आउन समेत पाइने छैन् । खाद्य संस्थानसँग समन्वय गरी सबै स्थानीय तहमा खाद्यन्न पठाउने योजना रहेको प्रशासनले बताएको छ ।

स्थानीयलाई महामारीबाट सुरक्षित गर्न कर्णालीमै पहिलो ‘लक डाउन’ को निर्णय जुम्लामा गरिएको हो । त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १५ बेडको आइसोलेसन स्थापना गरिएको छ । यसैगरी सो सेन्टर स्थापना गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धिरज गुरुङको संयोजकत्वमा ८ जनाको स्वास्थ्यकर्मी टोली खटाइएको छ । हिमा गाउँपालिकाले यसअघि हेल्थ डेक्स स्थापना गरिसकेको छ ।

स्थानीय तहमा पनि क्वारेनटाइन राखिने

कोरोनाको रोगथामका लागि जिल्लाका स्थानीय तहहरुले उच्च सर्तकता अपनाएको छ । स्थानीय तहमा क्वारेनटाइनसहितको हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीको उपस्थितिमा बसेको स्थानीय तहको वैठकले स्थानीय तहमा आवश्यकताका आधारमा एक भन्दा माथि क्वारेनटाइन वा आइसोलेसन क्षेत्र छनोट गरी कोरोना रोगथामका लागि क्षेत्र चयन गरी व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

जुम्लाको तातोपानी, पातारासी, हिमा, गुठीचौर र चन्दननाथ नगरपालिकामा भइरहेको क्वारेनटाइन व्यवस्थापन गरिने भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ