२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश : पूर्वाधार विकास कार्यालयको भवनमा कोभिड अस्पताल बन्ने

कर्णाली प्रदेश : पूर्वाधार विकास कार्यालयको भवनमा कोभिड अस्पताल बन्ने


जुम्ला – जिल्ला विपद् व्यवस्थापन समितिले सुविधा सम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । आइतबार जिल्लामा विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना संक्रमित र अन्य विरामी उपचार गर्नका लागि एउटै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला भएपछि कोभिड अस्पताल छुट्टै बनाउनु पर्ने अवस्था आएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

जिल्ला खेलकुद विकास समितिको कवड हल नजिक रहेको पूर्वाधार विकास कार्यालय रहेको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएकोले उनले बताए । उनले भने, ‘अस्थायी कोभिड अस्पतालका लागि आवश्यक भवन खोजी गर्न गठित समितिले पेश गरेको प्रतिवेदनको आधारमा पूर्वाधार विकास कार्यालय रहेको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको हो ।’

उक्त भवनमा रहेको पूर्वाधार विकास कार्यालय जिल्ला समन्वय समितिभित्र रहेको तत्कालिन जिल्ला प्राविधिक कार्यालय रहेको भवनमा स्थानान्तरण गर्ने जनाएको छ ।

त्यसैगरी, कोरोना संक्रमित विरामीलाई उपचारका लागि अस्पतालसम्म ल्याउनका लागि एम्बुलेन्सको पनि व्यवस्थापन गरिएको छ । यहाँका सात स्थानीय तहले एम्बुलेन्सको भाडा स्वरुप ८६-८६ हजार रुपैया उपलव्ध गराउने गरी व्यवस्थापन गरिएको हो ।

जुम्लाको कोरोना संक्रमितको संख्या ४ सय ४ जना पुगेको छ । ३ सय ७१ जना संक्रमित निको भएर घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ । त्यस्तै जिल्लामा ३३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये २८ जना होम आइसोलेसनमा र ५ जना मात्रै संस्थागत आइसोलेसनमा रहेको जनाएको छ ।

हिउँदको समयमा हुन सक्ने हिमपातलाई मध्यनजर गर्दै हिमपात पूर्व तयारी योजना पनि जिल्ला विपद् व्यवस्थापन समितिले बनाएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । उक्त योजनालाई कार्यन्वयनमा ल्याउनेका लागि नेपाल सरकार, गृह मन्त्रालयसँग आवश्यक बजेट माग गर्ने र स्थानीय तहले पनि सो कार्यका लागि बजेट व्यवस्थापन गर्ने निर्णय भएको जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ