२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा गर्भपतनको ग्राफ उकालो लाग्दै, तीन वर्षयता १८ हजारभन्दा बढीले गरे गर्भपतन

कर्णालीमा गर्भपतनको ग्राफ उकालो लाग्दै, तीन वर्षयता १८ हजारभन्दा बढीले गरे गर्भपतन


सुर्खेत– हुम्लाको सिमकोट गाउँपालिका–१ की ३५ वर्षीया लक्ष्मी क्षेत्री (नाम परिवर्तन) चार सन्तानकी आमा हुन् । उनलाई सन्तानको रहर पुगिसकेको छ । तर, असुरक्षित यौन सम्पर्कका कारण उनकाे गर्भ रह्याे ।  १ मंसिरमा नजिकैको मेडिकलमा गएर गर्भ खेर जाने औषधि खाइन् । औषधि खाएको केही दिनमै उनलाई रक्तस्राव हुन थाल्यो ।

अत्याधिक रक्तस्राव भएपछि उनलाई परिवारको सदस्यले ५ मंसिरमा जिल्ला अस्पताल सिमकोट पु¥याए । अत्याधिक रक्तस्रावका कारण मरणासन्न अवस्थामा पुगेकी उनको शरीरमा रगतको मात्रा निकै कम भैसकेको थियो । उनलाई रगत दिनुपर्ने अवस्था आयो । त्यसपछि नेपाल प्रहरीका एक जवानले रगत दिएर बचाए । साथै, अस्पतालमा स्वास्थ्यकर्मीले असुरक्षित गर्भपतनलाई उपकरणको सहायताले सुरक्षित बनाए । जिल्ला स्वास्थ्य सेवा कार्यालयकी सिनियर अनमी सरिता बोहराका अनुसार असुरक्षित गर्भपतनले ज्यानै जोखिममा पारेकी क्षेत्रीको स्वास्थ्य अवस्था अहिले ठीक छ ।

जुम्लाकी अञ्जली केसी (नाम परिवर्तन) पाँच सन्तानकी आमा हुन् । उमेरले ४० वर्ष पुगिन् । छोरा जन्माउने आशमा उनका पाँच वटी छोरी जन्मिए । छैटौ सन्तानका रुपमा उनले छोरा जन्माइन् । त्यसपछि पनि उनले परिवार नियोजनका साधन प्रयाेग नगरी यौन सम्पर्क राखिन् । जसले उनको गर्भमा आठौं बच्चा बस्यो । सन्तानको रहर पुगिसकेकी अञ्जली निकै आत्तिइन् ।

छोराको आशमा यसअघि उनले तीनपटक गर्भपतन गरिसकेकी थिइन् । फेरि अस्पताल गएर गर्भपतन गराउन लाज मानेपछि उनले घरमै स्थानीय जडिबुटी खाएर असुरक्षित गर्भपतन गराउन तिर लागिन् । त्यो जडिबुटीले रक्तस्राव सुरु गरायो । जसले उनी थला परिन् । स्वास्थ्यकर्मी र समाजको लाजले उनले केही दिन व्यथा सहेर घरमै बसिन् । तर मरणासन्न अवस्थामा पुगेपछि अञ्जलीलाई गाउँलेले अस्पताल पु¥र्याएर ज्यान बचाए ।

जाजरकोटको छेडाघाट नगरपालिकाकी २७ वर्षीया सपना विक (नाम परिवर्तन) ले छोरा पाउने आशमा तीन पटक गर्भपतन गराई सकेकी छन् । दुई छोरी जन्माएकी उनले दुई पटक गर्भपतनपछि तेस्रो पटक फेरी भ्रुण पहिचान गरिन् । भ्रुण पहिचानपछि फेरी गर्भमा छोरी नै रहेको खुलेपछि उनले निजी मेडिकलबाट औषधि किनेर गर्भ खेर जाने अाैषधि खाइन् ।

उक्त औषधि सेवनपछि गर्भको बच्चा त खस्यो, तर उनलाई पनि रक्तस्राव सुरु भयो । रगतको कमीले स्वास फेर्न समेत गाह्रो हुनुका साथै ज्वरो समेत आयो । अन्ततः गत मंसिर ६ गते प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि भर्ना भएकी सपनालाई चिकित्सकले नै तीन पीन्ट रगत दिएर ज्यान बचाए ।

माथिका तीन घटना प्रतिनिधी मात्र हुन् । कर्णालीका लक्ष्मी, अञ्जली र सपनाजस्ता कैयौं महिला असुरक्षित गर्भपतनको सिकार भैरहेका छन् । परिवार नियोजनका साधनको पहुँच नहुनु र यससम्बन्धि जनचेतनाको अभाव, सुरक्षित गर्भपतको पहुँच नहुनु, सन्तानको रहर पुरा भैसकेपछि गर्भ रहनु, घरेलु औषधि वा विधिको प्रयोग गरी कर्णालीका महिलाहरु असुरक्षित गर्भपतनको कारण ज्यान जाेखिममा पार्न विवश छन्। घरमै गर्ने असुरक्षित गर्भपतनका कारण धेरैले ज्यान समेत गुमाइसकेका छन् । तर, यस्ता घटना सरकारी तथ्यांकमा उल्लेख छैनन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म कर्णालीका १ सय २९ जना महिला गर्भपतनपछि गम्भीर अवस्थामा पुगे । ती महिलाहरुको जटिल शल्यक्रिया मार्फत उपचार गरिएको छ । जसमा सबैभन्दा बढी रुकुमपश्चिमका ४६ जना, दैलेखका २५ जना, सल्यानका २४ जना, सुर्खेतका १६ जना, कालिकोटका १५ जना र जाजरकोटका ३ जना रहेका छन् ।

मन्त्रालयका तथ्यांक अधिकृत विनोद आचार्यका अनुसार कर्णाली प्रदेशमा तीन वर्षयता १८ हजार आठ सय ४४ जना महिला तथा किशोरीले गर्भपतन गराएका छन् । जसमा दुई हजार ४२ जनाको जटिल अवस्थाको गर्भपतन गरिएको छ । यस्तै ११ हजार ३ सय ४ जनाले औषधि र ५ हजार ४ सय ९८ जनाले शल्यक्रियाबाट गर्भपतन गराएका छन् ।

गर्भपतन गराउने किशोरीहरु बढे

कर्णाली प्रदेशमा २० वर्षभन्दा कम उमेरमै गर्भपतन गराउनेको संख्या उच्च रहेको पाइएको छ । प्रजनन स्वास्थ्यको दृष्टिले सानै उमेरमा गर्भपतन गराउनु जोखिम मानिन्छ । तर कर्णालीमा सुरक्षित गर्भपतन गराउने किशोरीको संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ ।
चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म मात्रै कर्णालीका ७३ जना किशोरीले गर्भपतन गराएका छन् । जसमा औषधिको सेवनबाट ५६ जना र शल्यक्रियाबाट १७ जना किशोरीले गर्भपतन गराएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अधिकृत आचार्यका अनुसार गर्भपतन गर्नेमा सबैभन्दा बढी सुर्खेतका २४ जना किशोरी रहेका छन् । यस्तै, कर्णाली प्रदेशमा तीन वर्षयता २ हजार २ सय ४८ जना किशोरीले गर्भपतन गराएका छन् । जसमध्ये १ हजार ५ सय ४ जनाले औषधि र ७ सय २४ जनाको शल्यक्रियाबाट गर्भपतन गरिएको तथ्यांक छ । सानै उमेरमा बिहे गर्ने र असुरक्षित यौन सम्पर्कका कारण कलिलै उमेरमा गर्भपतन गराउनेको संख्या उच्च रहेको मन्त्रालयले संकलन गरेको सर्वेक्षणमा उल्लेख छ ।

२०७४ भदौदेखि लागू भएको मुलुकी देवानी संहिताको दफा ७० को (घ) मा विवाहका लागि केटा र केटीको उमेर २० वर्ष पूरा हुनुपर्ने कानूनी व्यवस्था छ । तर जवर्जस्ती र हाडनाता करणी, असुरक्षित यौन सम्पर्कबाट अनिच्छित गर्भ रहँदा तथा अविवाहित युवती तथा किशोरीले कम उमेरमै गर्भपतन गराउनेको संख्या बढ्दै गएको जनस्वाथ्य सेवा कार्यालयकी पब्लिक हेल्थ नर्स संगिता केसी बताउँछिन् ।

‘असुरक्षित यौन सम्पर्क, परिवार नियोजनका अस्थायी साधनको सही प्रयोग नगर्नु, अपरिपक्व उमेरमा गर्भवती हुनु र यौन शिक्षाबारे पर्याप्त ज्ञान नहुनु पनि गर्भपतनको प्रमुख कारण बनिरहेको छ,’ उनले भनिन् ।

यस्तै, कर्णालीमा सरकारी स्वास्थ्य संस्थाभन्दा निजीमा गर्भपतन गराउनेहरुको संख्या बढिरहेको छ । निजीमा सजिलै औषधि किन्न पाइने र गर्भपतनको कुरा गोप्य रहने भएकाले पनि महिलाहरुको रोजाइमा निजी अस्पताल पर्न थालेका हुन् । सुर्खेतमा रहेका हरेक निजी स्वास्थ्य संस्थाले वर्षमा लाखौं मुल्य बराबरको गर्भपतन गराउने औषधि बिक्री गर्दै आएका छन् ।

गर्भपतनको समस्या विकराल बन्योः डा. पन्त

कर्णाली प्रदेश अस्पतालमा कार्यरत स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सजिप्ता पन्तले सुरक्षित गर्भपतनबारे धेरैमा ज्ञान नहुँदा समस्याले विकराल रुप लिएको बताइन् । ‘१२ हप्ता सम्मको गर्भ सरकारले सुचिकृत गरेका स्वास्थ्यचौकी वा अस्पतालहरुबाट निःशुल्क गर्भपतन गर्ने व्यवस्था छ । तर, यसको ज्ञान नहुँदा अधिकांश महिला तथा किशोरी गर्भपतनका लागि निजी क्लिनिकमा जाने गरेको पाइन्छ,’ उनले भनिन्, ‘यसरी असुरक्षित रुपमा निजी अस्पतालको औषधि तथा घरकै जडिबुटिको सेवन गर्दा बच्चा तथा आमाको स्वास्थ्य अवस्थाबारे चेक जाँच हुँदैन । एकातिर ज्यानै जोखिममा हुन्छ भने अर्कोतिर मंहगोमा औषधि किनेर आर्थिक हानी हुन्छ ।’

उनका अनुसार बच्चा पाठेघर वा नलिमा कहाँ छ ? भन्ने समेत जानकारी नहुँदा मेडिकलबाट किनेर खाएको औषधिले गर्भको बच्चा त खस्छ तर, केही टुक्राहरु पाठेघर भित्रै रहन्छ । जसले गर्दा महिनौंसम्म रगत बग्छ । यसरी शरीरमा रगतको मात्रा कमी हुन गई श्वास फेर्न गाह्रो हुने, पाठेघरमा संक्रमण हुने, ज्वरो आउने शरीर गल्ने जस्ता गम्भीर समस्या देखिन्छन् ।

कलिलै उमेरमा गर्भपतन गर्दा वा धेरैपटक गर्भपतन गरेमा पाठेघर पातलो हुने, फुट्ने, बाँझोपन हुने, हुन्छ । साथै धेरैपटकको गर्भपतनले महिलामा मानसिक समस्या समेत देखापर्छ । ‘गर्भपतन आफैँमा जटिल प्रक्रिया भएकाले सकेसम्म यस्तो अवस्था आउन दिन हुँदैन,’ उनले भनिन्, ‘सुरक्षित गर्भपतन महिलाहरूको प्रजनन अधिकार भएपनि सकेसम्म कम उमेरमा र पटक–पटक गर्भपतन गर्नबाट सचेत हुनुपर्छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ