२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लामा ३ दिनदेखि सुत्केरी ब्यथाले छटपटिएकी महिलाले पाइनन् आपतकालीन सेवा

हुम्लामा ३ दिनदेखि सुत्केरी ब्यथाले छटपटिएकी महिलाले पाइनन् आपतकालीन सेवा

सिडिओ भन्छन्, ‘हवाई सेवाका लागि महिला तथा बालबालिका मन्त्रालयबाट अनुमति पाउन ढिलो भयो’


सुर्खेत– हुम्लाको सर्केगाड गाउँपालिकाकी एक महिलाले सुत्केरी व्यथाले छटपटिएको तीन दिन बितिसक्दा समेत आपतकालिन सेवा पाएकी छैनन् । हुम्लाको सर्केगाड गाउँपालिका ७ की जमुना कार्कीलाई सुत्केरी व्यथाले च्यापेको तीन दिन बितिसक्दा पनि राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गतको हवाइ सेवा नपाएकी हुन् ।

कार्कीलाई सुत्केरी व्यथाले च्यापेको तीन दिन भयो । ब्यथा लागेको भोलिपल्टै हुम्लाको सर्केगाड गाउँपालिका–७ मा रहेको रोडिकोट स्वाथ्य चौकीमा लगिएको थियो । तर, स्वास्थ्य चौकीमा प्रदेश सरकारले खटाएका दुईजना अनमी भेटिएनन् जसले उनको उपचारमा थप ढिलाइ भैसकेको थियो । करिब एक घण्टाको दुरीमा रहेको अर्को स्वाथ्य चौकी गोठीबाट अनमी ल्याएर उनको उपचार गराउने प्रयास गरियो । ढिलै भएपनि उनको उपचारको लागि स्वास्थ्यकर्मी खटिए । तर पनि समस्या जटिल बन्दै गएकाले उनलाई स्वास्थ्य चौकीमा सुत्केरी गराउन सकिएन ।

बच्चा उल्टो भएकाले उनलाई सुत्केरी गराउन नसकिएको उनको उपचारमा संलग्न अनमीले बताए । स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकिएपछि उनलाई फेरि घरमै फर्काइएको छ ।

सुत्केरी हुन नसक्दा उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको सर्केगाड गाउँपालिका ७ का वडा अध्यक्ष कृष्ण प्रसाद जैसीले बताए ।

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि राष्ट्रपति महिला उद्धार कार्यक्रम लागु गरेको छ । आज बिहानै बाट सुत्केरी हुन नसकेकी कार्कीको उद्धार गर्नका लागि सम्बन्धित ठाउँमा अनुरोध गर्दा पनि अहिलेसम्म उद्धार हुन नसकेको जैसीले बताए ।

प्रसव समस्या न्यूनीकरण गरी मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ सुरु गरिएको यस कार्यक्रमको पखाईमा कर्णालीका सुत्केरीले यसअघि पनि ज्यान गुमाईसकेका छन् ।

अध्यक्ष जैसीले कार्कीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हवाई सेवाको लागि जिल्ला प्रशासन कार्यालय हुम्लामा दिउँसो २ बजे नै खबर गर्दा पनि अहिलेसम्म उनको उद्धार हुन नसकेको बताए । ‘समयमै उद्धार हुन नसकेपछि अब हामी बच्चा बचाउन नसकेपनि आमालाई बचाउन भगवानसँग प्राथाना गरिरहेका छौं,’ जैसीले भने ।

हवाई सेवाका लागि माग गर्दा समेत महिला तथा बालबालिका मन्त्रालयद्वारा अनुमति पाउन ढिलाई हुँदा उद्धार गर्न नसकिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले बताए । उनले आइतबार बिहानसम्म कार्कीको उद्धार गर्न सकिने जानकारी दिए ।

विविध प्रकृयागत कमजोरीका कारण सुत्केरी कार्कीको उपचारमा हवाई उद्धार गर्न नसकिएको कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले स्वीकार गरेका छन् । ‘विभिन्न निकायमार्फत कागजी प्रकृया मिलाउँदा–मिलाउँदै निकै ढिलो भयो’ खड्काले भने, ‘आज शनिबार भएको हुँदा पनि झन् जटिल भएको हो ।’

आपत्कालिन् सेवाका लागि कर्णाली प्रदेशमा नीजि हेलिकप्टर नहुँदा नेपाल आर्मीको हेलिकप्टरमार्फत उद्धार गर्ने गरिएपनि उक्त हेलिकप्टर समेत सुर्खेतमा नभएकोले आज उद्धार गर्न नसकिएको खड्काले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ