२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला कारागारमा छैनन् १४ महिनादेखि स्वास्थ्यकर्मी

जुम्ला कारागारमा छैनन् १४ महिनादेखि स्वास्थ्यकर्मी


जुम्ला– जुम्ला कारागार १४ महिनादेखि स्वास्थ्यकर्मी विहिन भएको छ । कारागारमा स्वास्थ्यकर्मी अहेबको दरबन्दी भएपनि ०७६ असोजदेखि जुम्ला कारागार स्वास्थ्यकर्मी विहिन भएको हो ।

कारागार कैदीवन्दी बिरामी पर्दा स्वास्थ्यकर्मीको अभावमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर उपचार गर्दै आएका छन् । प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी चिकित्सकको स्वास्थ्य परीक्षण तथा सल्लाह सुझाब अनुसार औषधिको प्रयोग गर्ने गरिएको जेलर गयाप्रसाद पाण्डेले बताए । कारागारभित्रै स्वास्थ्यकर्मीको दरवन्दी हँुदा पनि समयमा पदपूर्ति नभएपछि कैदीवन्दीले यस्तो समस्या भोग्नु परेको हो ।

‘कारागारमा ६० वर्षमाथिका दुई जना जेष्ठ नागरिक कैदी छन् । त्यस्तै एकजना गर्भवती महिला पनि छन्,’ जेलर गयाप्रसाद पाण्डेले भने, ‘बिरामी भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला लाने गरिएको छ, कारागारमै स्वास्थ्यकर्मी भए सहज हुन्थ्यो ।’
यस विषयमा जिल्ला प्रशासन कार्यालयदेखि कारागार विभागमा जानकारी गराएपनि १४ महिना बितिसक्दा समेत स्वास्थ्यकर्मीको पदपूर्ति नभएको जेलर पाण्डेले बताए ।

द्धन्द्धकालमा २८ कार्तिक २०५९ मा जुम्लाको कारागार ध्वस्त पारिएपछि शान्ति तथा पुननिर्माण मन्त्रालय मार्फत पुननिर्माण गरेको थियोे । दुई सय क्षमताको कारागारमा अहिले १ सय १२ जना कैदी छन् । जसमा तीन जना महिला र एक सय नौ जना पुरुष रहेका छन् ।

कारागारको प्रमुख समस्या पानी र विजुली

कारागारमा कैदीबन्दीलाई खानेपानी र बिजुलीको पनि समस्या रहेको छ । कारागारका नाइके खाम्बा रोकायाका अनुसार पानी र विजुलीको यहाँ लामो समयदेखि समस्या झेल्दै आएका छौँ । उनले भने, ‘यहाँका कैदीवन्दी अहिलेको समयमा पनि नदीको दुषित पानी पिउने गरेका छन् । भरपर्दाे विजुली नभएका कारण सौर्य उर्जाको सहायताबाट उज्यालो गर्ने काम भइरहेको छ ।’

कारागार विशेष क्षेत्र भएकाले पानी र बिजुली नियमित प्रदान गर्न सम्बन्धित निकायसँग पहल गरेपनि समस्या समाधान हुन नसकेको जेलर पाण्डेले बताए । उनका अनुसार कारागारमा प्रयोग गरिने पानी जेनेरेटरबाट तीला नदीबाट ल्याउने गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ