२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना संक्रमण बढेपछि जुम्ला अस्पतालको ओपिडी बन्द, टेलिफोनबाट स्वास्थ्य परामर्श सेवा

कोरोना संक्रमण बढेपछि जुम्ला अस्पतालको ओपिडी बन्द, टेलिफोनबाट स्वास्थ्य परामर्श सेवा


जुम्ला-जुम्लामा कोरोना संक्रमण बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ओपिडी सेवा बन्द गरेको छ । प्रतिष्ठानले जोखिम कम गर्न भन्दै ओपिडी सेवा वन्द गरेर इमर्जेन्सी उपचार मात्रै थालेको हो ।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. राजीव शाहकाअनुसार सबै स्वास्थ्यकर्मी कोरोनाको उपचरमा खटिनुपर्ने भएको हुँदा अहिले आकस्मिक वाहेकका सेवा बन्द भएका छन् । ओपिडीको जनशक्ति कोरोनाको उपचारका लागि खटिएको प्रतिष्ठानले जनाएको छ । वैशाख १७ गते देखि ओपिडी बन्द गरिएको उनले बताए ।

प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार कोरोना भाइरसको विषम परिस्थितिमा प्रतिष्ठानमा कार्यरत कर्मचारी, सर्वसाधारण बिरामी तथा समुदायको सरक्षाको लागि ओपिडी सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो ।

यद्यपी इमर्जेन्सी बिरामीका लागि हटलाइन सेवा नम्बर व्यवस्थापन गरिएको सूचना जारी गरेको छ । प्रतिष्ठानले १६६०८७५२५५५ नम्बरको हटलाइन सञ्चालनमा ल्याएको छ ।

टेलिफोनबाट स्वास्थ्य परामर्श सेवा

साधारण समस्या भएका बिरामीले टेलिफोनमार्फत चिकित्सकलाई परामर्श सेवा लिन समेत टेलिफोन नम्बर सार्वजनिक गरिएको छ । प्रतिष्ठानमा विशेषज्ञ डाक्टर पुजन रोकाया हाडजोर्नी, डाक्टर सूर्यमान लिम्बु सर्जरी, डाक्टर राजेन्द्रमणि गिरी मेडिसिन, प्रा.डा. सुनिल बुढाथोकी बालरोग, डाक्टर राजीव शाही स्त्री तथा प्रसुति रोग विशेषज्ञको फोन सार्वजनिक गरिएको छ ।

यसैगरी, कोरोना संक्रमण बढेपछि जनशक्ति खटन पटन व्यवस्थापन गरेको छ । २४ सै घण्टा ५ जना डाक्टर राखेर इमर्जेन्सी र कोरोनाको उपचारमा लागिरहेको प्रतिष्ठानले जनाएको छ । यसअघि ६ जना डाक्टर नेपालगज्जको भेरी अस्पतालमा डाक्टर प्रतिष्ठानले पठाएको छ ।

४८ संक्रमित, एक जना सिकिस्त

कोरोना संक्रमणको उपचारमा खटिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले जिल्ला बाहिरबाट बिरामी आउन थालेका छन् । सुर्खेतबाट आएका मध्यम स्वास्थ्य समस्या भएका वेड र अक्सिजन आवश्यक बिरामीको समेत उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले एकजना बिरामी गम्भीर भएको जानकारी दिएको छ । यसैगरी कोरोना पोजेटिभको संख्या ४८ पुगेको छ । प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाका अनुसार ४ वटा बाहिरबाट आएको सेम्पल र जुम्लाका ४४ जना गरी ४८ जना संक्रमित रहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ