२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा १९९ जनामा कोरोना संक्रमण, आइसोलेसन रित्तै घरमा बिरामी

जुम्लामा १९९ जनामा कोरोना संक्रमण, आइसोलेसन रित्तै घरमा बिरामी


जुम्ला-जुम्लामा कोभिड-१९ को दोस्रो लहर फैलिएसँगै १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ बैशाखदेखि तथ्यांकअनुसार जुम्लामा १ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३ सय ९ जनामा पिसिआर परीक्षण गर्दा १ सय ११ जना र यहाँका ८ वटै स्थानीय तहमा ८ सय ११ जनाको एन्टीजेन परीक्षण गर्दा ८८ जनामा गरी १ सय ९९ जना व्यक्ति संक्रमित भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

संक्रमितमध्ये २६ जना कोभिड बिरामीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा. राजीव शाहले बताए । उनका अनुसार १७ जना निको भइसकेका छन् । बाँकी १ सय ५६ जना संक्रमित होम आइसोलेसनमा छन् ।

चन्दननाथमा नगरपालिकामा ५२ जना, पातारासीमा ३१ जना, गुठीचौरमा २४ जना, तातोपानीमा ४ जना, तिलामा १० जना, हिमा २ जना सिँजामा ७ र कनकासुन्दरी गाउँपालिकामा ३२ जना र अन्य ३० जना गरी जम्मा १ सय ९९ जना संक्रमित भएका हुन् ।

प्रत्येक स्थानीय तहमा ५/५ बेडका कोभिड अस्पताल र आठ स्थानीय तहमध्ये ६ पालिकामा गरी १ सय ५५ बेडको आइसोलेसन भएपनि व्यवस्थापन नहुँदा संक्रमित घरमा बस्न बाध्य भएका छन् ।

जुम्लाका चन्दनाथ नगरपालिका र तिला गाउँपालिकाबाहेक ६ स्थानीय तहमा ५/५ बेडको कोभिड अस्पताल निर्माण भएका छन् । हिमामा २० बेड, पातारासीमा ३० बेड, गुठीचौरमा ५ बेड, कनकासुन्दरीमा ५० बेड, तातोपानीमा २० र सिंजामा ३० बेड गरी १ सय ५५ बेडको आइसोलेसन तयार छन् । तर दैनिक संक्रमित बढेर १ सय ९९ पुगेका छन् । तीमध्ये १ सय ५६ जना घरमै बसेका छन् । तर, स्थानीय तहका आइसोलेसन र कोभिड अस्पताल भने रित्तै छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ