२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा, प्रजिअ भन्छन्, ‘स्थानीयले ख्याल ठट्टा ठाने, अब कडाइ गर्छौं’

सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा, प्रजिअ भन्छन्, ‘स्थानीयले ख्याल ठट्टा ठाने, अब कडाइ गर्छौं’


सुर्खेत – सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा लागु गर्दै कडाइ गर्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातिदेखि लागुहुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको हो ।

यसअघि लागु भएको निषेधाज्ञाको अन्तिम मिति भोलि सकिदैछ । यसअघि लागु भएको निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले ख्याल ठट्टा गर्न थालेपछि अब लागुहुने निषेधाज्ञा अवधिमा प्रशासन थप कडाइ गर्ने तयारीमा छ । कोरोना संक्रमणसँगै मृतक संख्या बढ्दै गएपनि स्थानीयले निषेधाज्ञा उल्लंघन गर्न थालेपछि प्रशासन कडाई गर्ने तयारीमा लागेको हो ।

हालको स्थितीलाई हेर्दा निषेधाज्ञा थपेर कडाइ गर्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । उनका अनुसार अब थपिने निषेधाज्ञा अवधिमा कोही कसैले पनि निस्फिक्रि हिडडुल गर्न तथा व्यवसाय संचालन गर्न पाउने छैनन् ।

‘निषेधाज्ञा कडाइमा अरुभन्दा भारतबाट आउनेलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ । उता, बाँकेले भारतबाट आउनेलाई रोकेको छैन । हामीले हाम्रा सिमा नाका बबई लगायत क्षेत्रमा रोके कसले उनीहरुलाई पाल्ने र कहाँ राख्ने ? भन्ने समस्या छ, ‘उनले भने, ‘यसअघिको निषेधाज्ञामा विकास निर्माणका काम जारी राख्ने र अत्यावश्यक पसल तथा कार्यालय खोल्ने भन्ने थियो । जसका कारण कर्मचारीदेखि मजदुरहरुको नाममा आउजाउ बढ्नथाल्थ्यो । अब यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा छलफल भइरहेको छ ।’

यसपटक फैलिएको कोरोना भाइरसलाई स्थानीयले गत वर्ष जस्तो ख्याल ठट्टा ठानेर मापदण्ड उल्लंघन गर्दै गएको प्रजिअ रिजालको भनाइ छ । सबैले कोरोना भाइरसलाई सामान्य ठानेर निषेधाज्ञा उल्लंघन गर्ने र स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने मर्नेको संख्या ह्वात्तै बढ्ने उनको अनुमान छ ।

‘कोरोनाले दिर्घरोगीलाई मात्रै असर गर्छ भन्ने स्थानीयको बुझाइ छ । तर यो बर्ष दिर्घ रोगी मात्रै नभई रोग नै नभएकाहरु पनि धमाधम संक्रमणबाट मरिरहेका छन् । निषेधाज्ञा कडाई गर्न र कोरोना रोकथाम तथा नियन्त्रणका लागि के गर्न सकिन्छ भन्नेबारे स्थानीय तहका जनप्रतिनिधिहरुसँग भर्चअल बैठक जारी छ,’ उनले थपे, ‘सबैको सपोर्टले निषेधाज्ञा कडाइ गरी कोरोना रोकथाममा लाग्नेछौं । त्यसैले निषेधाज्ञा तथा स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा अनुरोध छ । ख्याल ठट्टा ठानेर आफु र आफ्ना परिवारको ज्यान खतरामा नपारौं । बचौं र बचाऔं ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ