२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लाबाट हेलिकोप्टरमार्फत ल्याइयो जुम्लामा कोभिड बिरामी

हुम्लाबाट हेलिकोप्टरमार्फत ल्याइयो जुम्लामा कोभिड बिरामी


जुम्ला – कोरोना संक्रमित सर्केगाड गाउँपालिका हुल्लाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई श्वास–प्रश्वासमा समस्या भएपछि सुविधायूक्त अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा हेलिकोप्टरमार्फत ल्याएको छ ।

बिहिबार बेलुका देखि जिल्ला अस्पतालमा राखिएको संयोजक धामीको श्वास–प्रश्वास ५० मा झरेपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिठान जुम्लामा हेलिकोप्टरमार्फत पठाएको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

‘धामीको श्वास –प्रश्वासको अवस्था निकै संकट ग्रस्थ छ, ‘धामीले भने, ‘जिल्ला अस्पतालको व्यवस्थाले सम्भव नहुने भएपछि हेलिकोप्टरमार्फत जुम्ला पठाएको हो ।’  हेलिकोप्टर बोलाउन सबै पत्राचार गरेको उल्लेख गरेका सिंहका अनुसार धामीलाई रानीवन आइसोलेसनबाट बिहिबार जिल्ला अस्पतालमा ल्याइएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपछि डा. मंगल रावलका अनुसार हुम्लाबाट थप उपचारका लागि यहाँ ल्याएको हो । उनले भने देशभर अस्पतालमा बेड र अक्सिजन अभाव हुन थालेपछि जुम्ला ल्याएको हो । काठमाडौँदेखि सुदूरपश्चिम प्रदेश समेतका बिरामीहरुले उपचारका लागि जुम्ला आउन खोजिरहेका छन् ।

कर्णाली प्रदेशका अन्य अस्पताल भन्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिठानमा चिकित्सक र अक्सिजनको हिसाबले पनि सम्पन्न भएकाले धामीलाई जुम्ला पठाउने तयारी भैरहेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । सर्केगाड गाउँपालिकाका लागि एन्टिजेन किट र अन्य स्वास्थ्य सामग्री लिन सिमकोट आएका धामीलाई मंगलबार गरिएको कोरोना परीक्षणमा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी, कोभिड अस्पताल कालिकोटमा अक्सिजन अभाव भएपछि दुई जना बिरामीलाई जुम्ला रेफर गरिएको कालिकोट जिल्ला अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार तिलागुफा नगरपालिकाका ६१ वर्षीय एक महिला र खाँडाचक्र नगरपालिका निवासी ४१ वर्षका एक पुरुषलाई एम्बुलेन्समार्फत जुम्ला अस्पतालमा ल्याइएको हो ।

अक्सिजन अभाव भएपछि संक्रमित बचाउन गाह्रो हुने भन्दै जुम्ला अस्पतालमा रेफर गरिएको कोभिड अस्पताल कालिकोटका डा. रामकमल कार्कीले जानकारी दिए । उनले भने,‘कालिकोटमा अक्सिजन अभाव छ । अक्सिजन अभाव भएर बिरामीको मृत्युको अवस्था आउन नदिन जुम्लामा रेफर गरेका हौँ । एक दुई सिलिन्डर मात्र अक्सिजन छ । यसले नपुग्ने आएको समस्या भयो ।’

अहिले कालिकोट कोभिड अस्पतालमा २५ जना संक्रमितको उपचार भइराखेको छ । यसअघि सुर्खेतबाट पनि पाँच जना विरामी उपचारका लागि जुम्ला ल्याएको थियो । पाँच जना विरामी मध्ये दुई जना विरामीलाई प्रतिष्ठानमा भर्ना गरि उपचार गरिएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ