२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालले भन्यो,’अक्सिजन छैन, बिरामी भर्ना गर्न सक्दैनौं’

कर्णाली प्रदेश अस्पतालले भन्यो,’अक्सिजन छैन, बिरामी भर्ना गर्न सक्दैनौं’

बिरामी भन्छन्, 'उपचार नगर्ने भए अस्पताल बन्द गर'


सुर्खेत-कर्णाली प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको अभाव भएको भन्दै नयाँ कोभिड-१९ संक्रमित बिरामी भर्ना लिन नसकिने सूचना सार्वजनिक गरेपछि बिरामी आक्रोशित भएका छन् । शुक्रबार अस्पतालले नै नयाँ बिरामी भर्ना लिन नसकिने जनाएपछि हाल कोरोना संक्रमण तथा अन्य रोगले थला परेका बिरामीहरु आक्रोशित बनेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि कर्णाली प्रदेशकै भरपर्दो मानिने प्रदेश अस्पतालले नै कोरोना महामारीका बेला अक्सिजनलाई कारण देखाउँदैं हात उठाएर नयाँ बिरामी भर्ना लिन नसकिने भनेपछि आफ्नो आत्मबल घटेको संक्रमित बिरामीको भनाइ छ । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको प्रदेश अस्पतालले थप कोरोना संक्रमित बिरामीलाई भर्ना नलिने सार्वजनिक सूचना जारी गरेर हात खडा गरेको हो ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काद्वारा जारी सूचनामा नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण कोभिडका विरामीलाई भर्ना गर्न नसकिने उल्लेख छ । यस्तो महामारीको समयमा बिरामीको आत्मबल बढाउने गरी सेवामा खटिने बेला उल्टै भर्ना नलिने सूचनाले नागरिकहरू त्रसित बनेका हुन् ।

प्रदेश सरकारबाट हरेक वर्ष पर्याप्त बजेट पाउँदा पाउँदै पनि बिरामी भर्ना नलिने सूचना जारी गर्नु उचित नभएको वीरेन्द्रनगर नगरपालिका–४ कालागाउँका कोभिड बिरामी राजेश आचार्यको भनाइ छ । ‘प्रदेश सरकारले करोडौं बजेट दिइरहेको छ । कर्मचारी पनि भर्ना गरेकै छ । अहिले अक्सिजन नपाएको भन्ने बहानामा बिरामी नराख्ने भनेपछि हामीमा थप त्रास बढेको छ,’ उनले भने, ‘सरकारी अस्पतालले नै कोभिड विरामीलाई नराख्ने भन्न पाउँछ कि पाउँदैन ? बिरामीको उपचार नगर्ने भए अस्पताल नै बन्द गरे भैगो नि ?’

कर्णालीमा अन्यत्र यतिको सूविधासम्पन्न अस्पताल छैन । यस्तो अवस्थामा प्रदेश अस्पतालले नै यस्तो भन्दा यहाँका नागरिक कहाँ गएर उपचार गर्ने ? भन्दै स्थानीयले सूचनाप्रति असन्तुष्टि जनाएका हुन् ।’ यता कर्णाली सरकारको ध्यान सरकार जोगाउने र मन्त्री बनाउनेमै भएको भन्दै नागरिकले आलोचना गरेका छन् । कोरोना महामारीको बेला बिरामी अक्सिजन नपाएर छटपटाइरहँदा प्रदेश सरकार रमिते बनेको कर्णालीवासीको आरोप छ ।

कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमित बिरामी बढ्दै गएका छन् । शुक्रबारसम्म कर्णालीमा सक्रिय संक्रमितको संख्या ५ हजार २५६ जना छन् । शुक्रबार मात्रै प्रदेशका ४०१ जनामा कोरोना पुष्टि भएको थियो । यीमध्ये हाल सबैभन्दा कोरोना संक्रमित हुनेमा सुर्खेतका धेरै छन् । शुक्रबार मात्रै ५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । कर्णालीमा हालसम्म १ सय ३४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ