२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड–१९ संक्रमितलाई चन्दननाथको कोसेली

कोभिड–१९ संक्रमितलाई चन्दननाथको कोसेली


जुम्ला–कोभिड–१९ बाट संक्रमित भएकालाई जुम्लाको चन्दननाथ नगरपालिकाले घरघरमै पुगेर पोषिला आहार, स्वास्थ्य सामग्री र भिटामिनयुक्त कोसेली वितरण गरेको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले संक्रमितका घरघरमा पोषिला आहारसँगै स्वास्थ्य सामग्री पु¥याउने निर्णय गरेसँगै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी कोसेली लिएर संक्रमितका घर–घरमा पुगेका हुन् ।

चन्दननाथ नगरपालिकामा हालसम्म ६७ जना संक्रमित छन् । जसमध्ये ४३ जना होमआइसोलेनमा छन् भने बाँकी कर्णाली प्रतिष्ठानको आइसोलेसनमा उपचाररत छन् । घरमा बसेका र अस्पतालबाट फर्किएका गरी पहिलो चरणमा चन्दननाथका ५५ जना संक्रमितलाई घरघरमै पुगेर पोषिलो आहार, स्वास्थ्य सामग्री र भिटामिन वितरण गरिएको हो ।

होमआइसोलेसनमा बस्दा अनपाउनुपर्ने उपाय सिकाउनुका साथै मनोबल उच्च पार्न परामर्श समेत दिइएको छ । जिल्लाको पहिलो स्थानीय तहका रुपमा चन्दननाथले कोभिड–१९ संक्रमितका घर–घरमा पुगेर भेटघाट तथा पोषिला आहार दिने कार्यक्रमले संक्रमित पनि खुसी भएका छन् ।

चन्दननाथ नगरपालिकाका १० वटै वडाका ५५ संक्रमितलाई निको नभएसम्मका लागि पुग्नेगरी घरमै पुगेर चना २ केजी, अण्डा १ क्यारेट, च्यावनप्रास १ बट्टा, १५ दिनका लागि भिटामिन सी र भिटामिन बीका साथै साबुन २ चक्की, सेनिटाइजर १ बट्टा र मास्क २ प्याकेट वितरण गरिएको चन्दननाथका विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए ।

कोरोनालाई जित्ने रोग प्रतिरोधात्मक क्षमता बढाउन, संक्रमितको स्वास्थ्यस्थित बुझ्न जोखिम मोलेरै भएपनि संक्रमितका घरघरमा पुगेर पोषिला आहार दिनुका साथै परामर्श दिइएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् ।

नगरपालिकाका संक्रमितको जीवन रक्षाका लागि सबै स्वास्थ्यकर्मी, जनप्रतिनिधि खटिएको र सक्रमितका जस्तासुकै समस्या नगरपालिकाले समधान गर्ने समेत नगरप्रमुख सेजुवालको भनाइ छ । साथै, उनले कोभिड एम्बुलेन्सका लागि भ्यान भाडामा लिने, आवश्यकताअनुसार संक्रमित ओसार्न एम्बुलेन्स प्रशासनलाई दिने तयारी भएको सुनाइन् ।

चन्दननाथ नगरपालिका–१ का वडाध्यक्ष जयबहादुर रावलले पोषिला आहार स्वास्थ्य सामग्रीसहित स्वास्थ्यस्थित बुझ्न घरमै गएपछि संक्रमित खुसी भएको बताए ।

जिल्लाकै सबैभन्दा बढी संक्रमित रहेको चन्दननाथ नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियानलाई जोड दिइएको छ । होमआइसोलेसनमा बसेकाबाट संक्रमण फैलिने त्रास बढेकोले उनीहरुलाई सम्झाउने र पोषिला खानेकुरा दिने तथा स्वास्थ्यकर्मीले संक्रमितको नियमित निगरानी राखेको चन्दननाथका स्वास्थ्य संयोजक पृथ्वीनाथ योगीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ