२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगम्भीर कोभिड संक्रमतिलाई हेलिकप्टरमार्फत उद्धार गर्न १ करोड

गम्भीर कोभिड संक्रमतिलाई हेलिकप्टरमार्फत उद्धार गर्न १ करोड


जुम्ला-कर्णाली प्रदेश सरकारले दुर्गमका गम्भीर कोभिड–१९ संक्रमित बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने भएको छ । २ जेठमा बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले दुर्गमका गम्भीर कोभिड–१९ संक्रमितहरूलाई हेलिकोप्टरबाट उद्धार गर्ने निर्णय गरेको हो ।

डोल्पा, हुम्ला र मुगुका जटिल प्रकृतिका संक्रमितहरूलाई सदरमुकाम तथा त्यहाँ उपचार हुन नसकेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल सुर्खेतसम्म ल्याइने प्रदेश सरकारका प्रवक्ता कुर्मराज शाहीले बताए ।

उद्धारका लागि प्रदेश सरकारले निजी सेवा प्रदायक कम्पनीका हेलिकप्टर चार्टर गर्नेछ । उनले भने, ‘यसका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।’ यसअघि हेलिकप्टर चार्टर गर्दा दुर्गमका संक्रमितहरूले १० लाख रूपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता हटेको छ ।

बैठकले कोभिड–१९ नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि १३ करोड ८० लाख रूपैयाँ सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश स्वास्थ्य निर्देशनालयलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रवक्ता शाहीका अनुसार यसरी उपलब्ध गराइने रकमबाट अक्सिजन सिलिण्डर खरिद तथा व्यवस्थापन गर्न ६ करोड ३५ लाख, अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि ५ करोड ४५ लाख, रेम्डेसिभिरलगायतका औषधी खरिदका लागि १ करोड र कोभिड संक्रमितहरूको उद्धारका लागि १ करोड खर्च गरिनेछ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड–१९ बाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्न आवश्यक पर्ने सामग्रीहरू निःशुल्क उपलब्ध गराइने भएको छ । निषेधाज्ञाको समयमा कोभिड–१९ संक्रमणबाट मृत्यु भएका आफन्तहरूले शव व्यवस्थापनका सामग्री सहज रूपमा पाउने कुरा चनौतिपूर्ण रहेकोले अस्पतालले नै प्रदान गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. डम्मर खड्काले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ