२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपातारासीका ४० कोभिड प्रभावित घरपरिवारलाई राहत

पातारासीका ४० कोभिड प्रभावित घरपरिवारलाई राहत


जुम्ला – जुम्लाको पातारासी गाउँपालिका भित्रका कोभिड प्रभावित घरपरिवारलाई राहत वितरण गरिएको छ । पातारासीका ४० कोभिड प्रभावित घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।

प्रति परिवार एक बोरा चामल, साढे २ केजी दाल, दुई लिटर तेल, एक पोका नुन र एक केजी चिनी प्रदान गरिएको हो । कोभिड प्रभावित घरपरिवारलाई सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर राहत प्रदान गरिएको पेस नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले बताए ।

उनले भने,’कारीतास जर्मनी, कारीतास नेपालको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा सञ्चालित नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१, अन्र्तगत खाद्यन्न सामग्री सहयोग गरिएको हो ।’

गाउँपालिकाले कोभिड प्रभावितको सुचीमा राखेका परिवारलाई राहत प्रदान गरिएको हो । गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले राहत वितरण गर्दै थोरै भएपनि कोभिड प्रभावितको परिवारमा यो राहतले सहयोग पुगेको बताइन् ।

उनले भनिन्, ‘कोभिड सामुहिक समस्या थियो । कुनै एक व्यक्तिले गर्दैमा रोकिने अवस्था थिएन । यो बीचमा धेरै परिवार प्रभावित बने । तर अति विपन्न परिवार छानेर राहत दिएको हो ।’

सबैभन्दा विपन्न ज्यालामजदुरी गरेर खाने, अपाङ्गता भएका व्यक्ति, एकल महिला छानेर राहत दिइएको हो । उनीहरुलाई यो राहत सामग्रीले ठुलो सहयोग मिल्ने अपेक्षा रहेको उपाध्यक्ष महताराले बताइन ।

पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले प्रभावितको सुची गाउँपालिकासंग समन्वय गरेर राहत उपलब्ध गराएको बताए । उनले भने, ‘कोरोना महामारीका कारण सबै प्रभावित बने । तर सबैभन्दा बढि प्रभावित छनौट गरेर राहत दिइएको छ ।’

कोभिड संक्रमण फैलन नदिन लामो समय जिल्लामा निषेधाज्ञा चल्यो । त्यो बेला ज्यालामजदुरीका काम हुन सकेनन् । घरमै थन्किएर बस्दा आम्दानीको स्रोत गुम्यो । उनले भने, ‘अहिले हातमुख जोड्न पनि कठिन भएको छ । यो अवस्थामा दिइएको खाद्यन्न सामग्रीले निकै ठुलो महत्व राखेको छ ।’

कोरोनाबाट प्रभावित ताराबहादुर बोहोराले भने, ‘यो राहतले एक महिनासम्म गुजारा चल्ने छ ।’ उनले कोरोनाले कतै चल्न नदिएको बताए । आम्दानीको स्रोत नै बन्द भए । अन्नवालीमा रोग किराको संक्रमण पनि देखियो । ठिक यही समयमा दिइएको राहतले ठुलो काम गर्ने छ ।’

कोरोना प्रभावितलाई केन्द्रित गरेर राहत बाँडेकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् ।

राहत वितरणका क्रममा उपस्थित प्रभावितलाई घरबाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्न, सेनिटाइजर प्रयोग गर्न, सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरिएको थियो


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ