२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशअब सिंजाको नराकोटमै हुन्छ गर्भवती महिलाको अल्ट्रा साउण्ड

अब सिंजाको नराकोटमै हुन्छ गर्भवती महिलाको अल्ट्रा साउण्ड

स्थानीय तहमै प्रयोगशाला पनि संचालन


जुम्ला—पश्चिम नेपालकै ठूलो सुविधासम्पन्न अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सदरमुकाम खलंगामा छ । कर्णाली प्रदेशको माथिल्लो कर्णाली विशेषगरी मुगु, कालिकोट, डोल्पासहित सेवाग्राही जुम्लाको प्रतिष्ठानमा उपचार गर्न आउने गर्दछन् ।

कोभिड—१९ संक्रमणको बेला नेपालगंज सुर्खेत र सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा जिल्लाका नागरिक पनि जुम्लामै उपचार गर्न आउने गरेका थिए ।

जुम्लाका ग्रामीण भेगका गर्भवती महिला अल्ट्रा साउण्ड परीक्षण गर्नका लागि हप्ता दिनको समय लिएर प्रतिष्ठानमा जाने गरेका थिए । चौधबीस, पान सय र सिंजा भेगका ग्रामीण क्षेत्रका गर्भवती महिला अल्ट्रा साउण्ड परीक्षणका लागि प्रतिष्ठानमा आउने गरेका हुन् ।

संघीयतापछि स्थानीय सरकार आएदेखि ग्रामीण क्षेत्रमै विशेष गरी गर्भवती महिलाकै लागि अल्ट्रा साउण्ड परीक्षण स्थानीयस्तरकै स्वास्थ्य चौकीमा स्थापना भएका छन् । सिंजा गाउँपालिका जुम्लाले नराकोट स्वास्थ्य चौकीमै गर्भवती महिलाका लागि भिडियो एक्सरे अल्ट्रा साउण्ड परीक्षण स्थापना गरेको छ ।

यसले स्थानीयस्तरमै गर्भवती महिलालाई बच्चा उल्टो-सुल्टो भएको पाठेघरमा बच्चा बसे-नबसेको सवै परीक्षण गर्न सहज भएको सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक तलित रोकायाले बताए । उनले भने, ‘सिंजा क्षेत्रमा तीन वटा पालिकाको केन्द्रमा रहेको नराकोटमा भिडियो एक्सरे अल्ट्रा साउण्ड परीक्षण स्थापना गरिएको हो ।’

अघिल्लो वर्ष नै कनकासुन्दरी गाउँपालिकाको हाँडसिंजा स्वास्थ्य चौकीमा पनि अल्ट्रा साउण्ड परीक्षण राखिएको छ । गर्भवती महिलाको अवस्था परीक्षण गर्ने काम भईरहेको स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायले बताए ।

नराकोटमा प्रयोगशाला पनि स्थापना

सिंजा गाउँपालिकाले नराकोट स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याव) पनि स्थापना गरेको छ । प्रयोगशालामा आधुनिक एनालाइजर उपकरण जडान गरिएको स्वास्थ्य शाखा संयोजक रोकायाले बताए । ‘यसअघि यहाँका नागरिक प्रयोगशालाको सेवा लिनका लागि खलंगामा रहेको प्रतिष्ठानमा जाने गरेका थिए,’ उनले भने, ‘अब सेवाग्राही यो समस्याबाट मुक्त भएका छन् । प्रयोगशालामा दिसा, पिसाब, खकार, कजेलो मिर्गौलाको एएनसी प्याकेज पनि परीक्षण हुन्छ ।’

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार सिंजा क्षेत्रको नराकोटमा एकीकृत सेवा प्रणालीको व्यवस्थापन गरिएको छ । नराकोट स्वास्थ्य चौकीमा स्वास्थ्यतर्फ प्रयोगशाला र गर्भवती महिलाका लागि अल्ट्रा साउण्ड परीक्षणको स्थापना गरेका गरिएको हो ।

‘यसअघि आँखा उपचार केन्द्र स्थापना भइसकेको छ,’ धितालले भने, ‘नागरिकता पनि यही नराकोटको इलाका प्रशासन कार्यालयबाटै वितरण हुने गरेको छ ।’ गाउँपालिकाले अब निकट भविष्यमै मालपोत र नापी कार्यालय स्थापनाका लागि पहल गरिरहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ