२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोटको नरहरिनाथमा स्वास्थ्यका कर्मचारी करार भर्नामा अनियमितता भएको आरोप

कालिकोटको नरहरिनाथमा स्वास्थ्यका कर्मचारी करार भर्नामा अनियमितता भएको आरोप


वीरेन्द्रनगर—कालिकोटको नरहरिनाथ गाउँपालिकामा स्वास्थ्य कर्मचारी करारमा भर्ना लिंदा अनियमितता भएको आवाज उठेपछि गाउँपालिकाको आकस्मिक बैठक बस्न लागेको छ । केही दिनअघि स्वास्थ्यका करार कर्मचारी भर्ना गर्दा प्रश्नपत्र बाहिरिएको र रकम असुलेको विषय उठेपछि गाउँ कार्यपालिका आकस्मिक बैठक बस्न लागेको हो ।

गाउँपालिकाले केही दिनअघि स्वास्थ्य करार कर्मचारी भर्ना गर्दा अनियमितता भएको आरोप स्थानीयले लगाउँदै आएका छन् । केही भर्ना भएका कर्मचारीबाट रकम असुलेको आवाजसहित भिडियो पनि बाहिरिएको छ । त्यसमा गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टका सहयोगीहरुको नाम पनि जोडिएको छ ।

गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले केही दिनअघि गाउँपालिकाले स्वास्थ्यतर्फको सेवा करारको पदपूर्तिका लागि लिइएको लिखित परीक्षाको विषयमा बाहिरिएको भिडियो र उठेका आम प्रश्नको विषयमा नरहरिनाथ गाउँपालिका गाउँ कार्यपालिकाको ध्यानाकर्षण भएको बताए ।

‘बाहिरिएको भिडियो र उठेका प्रश्नको विषयमा अहिले आकस्मिक कार्यपालिकाको बैठक बस्दै छ,’ उनले भने, ‘भिडियो माथि छानविन गर्न एउटा समिति गठन गरी सत्य तथ्य पत्ता लगाई प्रश्न बाहिरिएको प्रमाणित भएमा यसमा संलग्न जनप्रतिनिधि, कर्मचारी जोसुकै भएपनि कानुनी कारवाही हुनेछ ।’

प्रवक्ता बोहोराले गलत नियतले भिडियो निर्माण गरिएको प्रमाणित भएमा भिडियो निर्माणमा संलग्न जोसुकैलाई पनि कानुनी कारवाही गरिने बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ