२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहाँडसिंजा स्वास्थ्य चौकीमा आधा दर्जन बढी स्वास्थ्य सेवा

हाँडसिंजा स्वास्थ्य चौकीमा आधा दर्जन बढी स्वास्थ्य सेवा


जुम्ला– जुम्लाको कनसुन्दरी गाउँपालिकामा रहेको हाँडसिंजा स्वास्थ्य चौकीले आधा दर्जन बढी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

उक्त स्वास्थ्य चौकीको एउटै थलोमा भिडियो एक्स-रे देखि प्रसूति गृह, ल्याब सेवा, आँखा उपचार केन्द्र रहेको छ ।  एउटै थलोबाट एकीकृत स्वास्थ्य सेवाले सेवाग्राहीलाई सहज भएको छ । बिजुली अभावका कारण सेवा प्रवाहमा चुनौती भोग्दै आएको स्वास्थ्य चौकीमा दाताको सहयोग मार्फत सौर्य ऊर्जा जडान गरिएपछि स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ ।

आँखा उपचार केन्द्र, बर्थिङ सेन्टर, ल्याब, भिडियो एक्स-रे, खोप केन्द्र, पोषण सुधार गृह, आइसोलेसन कक्ष, अस्थायी कोभिड अस्पताल लगायतका सेवाहरु यस स्वास्थ्य चौकीमा सञ्चालनमा छन् । यति धेरै स्वास्थ्य सेवा प्रवाह गर्ने जिल्लाका ३० वटा स्वास्थ्य चौकी मध्ये हाँडसिंजा स्वास्थ्य चौकी पहिलो हो ।  गाउँमै भिडियो एक्स-रे, दिसा पिसाब तथा रगत परीक्षण र आँखा उपचार केन्द्र सञ्चालन हुँदा बजार आउनु पर्ने महँगो उपचारबाट समेत स्थानीय राहत पाएका छन् ।

दुर्गम गाउँमै २४ घण्टा खटिएर सेवा प्रवाह गरिरहेको हाँडसिंजा स्वास्थ्य चौकीले वर्षौँदेखि बिजुली अभावको समस्या झेलिरहेको थियो । आँखा उपचार, भिडियो एक्स-रे, सुत्केरी आमा र बच्चालाई न्यानो प्रदान गर्न तथा इमेल इन्टरनेटका लागि विद्युत् अत्यावश्यक हुँदा पनि त्यहाँ निकै समस्या थियो ।

पालिकाले त्यहाँ ठुलो लगानी गर्ने सम्भावना पनि थिएन । राष्ट्रिय प्रसारण लाइन पुग्ने स्थिति पनि थिएन । वर्षौँदेखि बत्ती अभाव झेल्दै आएको हाँडसिंजा स्वास्थ्य चौकीले विगत एक वर्षयता बत्तीको सुविधा पाएको छ ।

स्वास्थ्य चौकीमा सौर्य ऊर्जा जडान

बत्ती नहुँदा समस्या भोग्दै आएको हाँडसिंजामा ४० लाख लगानीको सौर्य ऊर्जा जडान गरिएको छ । अमेरिकास्थित ग्रिड अल्टरनेटिभ संस्था र त्यहाँका विद्यार्थीको ४० लाख आर्थिक सहयोगमा स्वास्थ्य चौकीमा ५ किलोवाट क्षमताको सौर्य ऊर्जा गरिएको हाँडसिंजा स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र प्रसाद उपाध्यायले बताए ।

विगतमा बत्ती नहुँदा टर्च लाइटका भरमा उपचार गर्नु पर्ने बाध्यता थियो । मातृ शिशुको सुरक्षामा उत्तिकै चुनौती थियो । उनले भने, ‘विगत एक वर्षयता सौर्य ऊर्जा जडानसँगै स्वास्थ्य चौकी, बर्थिङ सेन्टर, ल्याब, भिडियो एक्स-रे सेवा नियमित रुपमा सञ्चालनमा छन् । वडापालिकामा समेत हामी बत्ती दिएका छौ । स्रोत साधनले भरिपूर्ण भए पनि एक जना विशेषज्ञ डाक्टर भएको भए गाउँमै विशेषज्ञ सेवा नागरिकले पाउने थिए । त्यसमा गाउँपालिकाको पहल जरुरी छ ।’

जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन जडान भए पनि सिञ्जा क्षेत्र र ग्रामीण भेगमा लाइन विस्तार भएको छैन । गाउँ गाउँमा पुग्ने, स्वास्थ्य संस्थामा बत्ती बल्न अझै वर्षौँ लाग्ने देखिन्छ । राष्ट्रिय लाइनको पनि त्यति भरपर्दो पनि छैन ।

तर हाँढसिञ्जा स्वास्थ्य चौकी आजभोली २४ घण्टा उज्यालो हुन्छ । राती सुत्केरी हुने महिला आउँदा टर्चैकै भरमा काम गर्नु पर्ने बाध्यता थियो । अहिले त्यसको अन्त्य भएको छ । भने चोटपटक लागेको टाँका लगाउन पनि सहज भएको छ ।

सौर्य ऊर्जा जडान भएपछि बेबी वार मेसिन सञ्चालन छ । जो जन्मिने बित्तिकै निसासिएका बच्चाहरू राखिन्छ । हिउँदको समय रातदिन ड्युटीमा बस्ने स्वास्थ्य कर्मीलाई पनि बत्तीले राहत पुराएको छ ।

आफू आएको चार वर्षमा हाँडसिंजा को स्वास्थ्य सेवालाई गुणस्तर एवम् छिटो छरितो गर्न नियमित खटिएको इन्चार्ज उपाध्यायले उल्लेख गरे । उनका अनुसार हाँडसिंजा पूर्वाधार तथा स्रोत साधनले भरिपूर्ण रहेकोले उपचारमा कुनै समस्या नरहेको देखिन्छ । स्वास्थ्य सेवा प्रवाहलाई चुस्त बनाउन, सौर्य बत्ती सञ्चालनका लागि निरन्तर पहल गर्दा अमेरिकी विद्यार्थी आएर आफै सोलार जडान गरिएको थियो ।

नागरिकको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको स्वास्थ्य चौकीको वृद्धि विकासमा लगानी बढाउनु त परै जाओस् रात दिन नभनी नागरिकको सेवामै खटिए पनि पालिकाबाट कुनै प्रोत्साहन हुन नसकेको प्रमुख उपाध्यायको गुनासो छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ